काठमाडौं – काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ ।
कामपाले गत आवको लागि १० अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्य अनुसार नै उठे पनि कामपाले संघ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।
आव २०७८/०७९ मा कामपाले १० अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी १ अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।
जसमा सबैभन्दा बढी बहाल करमा २ अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ती करमा १ अर्ब ८ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए । त्यस्तै नक्सापास दस्तुरबाट १० करोड ११ लाखभन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।आव २०७८/०७९ मा जम्मा ४ अर्ब ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव २०७९/०८० मा ५ अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।
कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तःशुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।
‘गत आवमा बाँडफाँटबाट कामपाले १ अर्ब ८५ करोड पाएको छ’ राजस्व विभाग प्रमुख काफ्लेले भने, ‘अघिल्लो वर्षको तुलनामा १ अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब ३ अर्ब ५५ करोड रुपैयाँ प्राप्त गरेको थियो ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar