विश्वकला जगतमा समयक्रमानुसार नयाँ–नयाँ प्रयोग हँदै अगाडि बढेको देखिन्छ । एउटाकाल खण्डमा एउटा प्रयोग भएको देखिन्छ भने अर्को काल खण्डमा अर्को प्रयोग भएको छ । सामान्यतया विश्वमा फोटोग्राफ्रीको विकास पछाडि नयाँ – नयाँ प्रयोग हुन थालेको हो । विज्ञानको विकाससँगै नयाँ आविष्कारले मानव जातिलाई निकै समृद्ध पार्दै लग्यो । यसको असर कलामा क्षेत्रमा पनि गर्न थाल्यो । यसले नवीन सोच र चिन्तनसहित सिर्जनात्मकक्षेत्रमा सशक्त प्रभाव जमाउँदै लग्यो । विश्वका विभिन्न ठाउँमा कलाका नयाँ – नयाँ शैली र प्रवृत्ति देखा पर्दै गए । यसरी युरोपमा पुनर्जागरणपछि देखापरेको कला अभियानले विश्वकलामा नै प्रभाव पार्न सफल भयो । बारोक, रोकोको, नवशास्त्रीयवाद, रोमान्सवाद, यथार्थवाद हुँदै प्रभाववादको विकास भयो । प्रभाववादको विकासमा यस आन्दोलनमा लागेका कलाकारको भूमिका महत्वपूर्ण रहेको छ । यस वादको विकासको प्रारम्भ सन् १८७२ बाट भएको हो । मोने, माने, लयागतका कलाकारले यस आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाए । प्रभाववादी कला आन्दोलनका अर्का सशक्त प्रतिभाको रुपमा तुलुज लुत्रेक देखापरे । सन् १८६४ मा फ्रान्सको अल्बीमा जन्मिएका लुत्रेकको पूरा नाम हेनरी म्यारी रेमण्ड डे तुलुज लुत्रेक हो । तीन वर्षको उमेरबाट चित्र बनाउन सुरु गरेका उनले प्रारम्भतिर त्यसबेलाका प्रसिद्ध जनावरका चित्र बनाउने कलाकार रँ प्रस्ट्यु र जोन लेविस ब्राउनसँग कला सिकेका थिए । यी चित्रसँगै उनले बनाएका घोडा तथा अन्य जनावरका रेखाचित्र अहिले लुत्रेक संग्रहालयमा छन् ।
लुत्रेकको जीवन फ्रान्समा नै बितेको हो । विदेश यात्राका क्रममा उनले स्पेनी कलाकार एल ग्रिको र भेलास्कीका कलाबाट प्रभावित भएका थिए । सन् १८७८ ताका उनी दूर्घटनामा परे । काठ बिच्छाइएको भूँइमा उनी लडेका थिए । यस दूर्घटनाबाट उनको तिघ्राको हाड भाँचिन पुग्यो । यस्तै, एक वर्षको अन्तरालमा उनी आमासँग हिडिरहेका बेलामा सडकको खुला नालामा लडे । त्यसबेला उनको अर्को खुट्टा भाँचियो । यसरी दूर्घटनामा परी भाँचिएका खुट्टा कहिलै राम्ररी सोझिएनन् । कम्मरभन्दा माथिको भाग भने पूर्ण विकसित भएको थियो । त्यसपछि उनी अपांग बन्न पुगे ।
सन् १८८२ मा आमासँग उनी पेरिस आए । यसैबेला उनले प्रसिद्ध जनावरका चित्र बनाउने कलाकारसँग कला बनाउन सिकेका थिए । सन् १८८४ मा मोमात्र्र आएका थिए । त्यसबेला अन्यत्रबाट पनि कलाकार त्यस ठाउँमा आएका थिए । सन् १८८५ मा उनले एकजना मन मिल्ने कलाकार भेटे । उनैसँग यिनी बस्न थाले । ग्रेनिका भन्ने कलाकारसँग बस्ने बेला उनले देगाँलाई भेट्ने अवसर पाए । संंयोग नै भन्नपर्छ उनी बस्ने ठाउँको नजिकै देगाँको स्टुडियो थियो । उनले देगाँका कलाकृतिको अवलोकन गर्ने तथा कला बनाउन सिके । उनका कलामा देगाँ र फोरान भन्ने कलाकारको प्रभाव देखिन्छ । योबेला उनी बीस वर्षका थिए । उनले मोमात्र्रमा बस्दा कला बनाउने वातावरण पाए । मोमात्र्रका कफिघर, नाचघर, संगीतगृह, मदिरालय, वेश्यालय, सर्कस आदिले लुत्रेकको कलाकारी भावनालाई बाहिर ल्याउन र निखार्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १८८७ देखि १९९७ सम्मको समयमा उनले निकै सिर्जनशील काम गरे । उनले बनाएका कलाकृतिको महत्व र मूल्य पनि निकै राम्रो रहेको छ । यसबेला उनी सुरा र सुन्दरीमा मग्न बन्दै पेरिसका गल्ली रातारात चाहार्थे । आवश्यकभन्दा बढी माद्यकपदार्थको सेवन गरी उनी सडकमा लर्बराउँदै हिड्थे । उनलाई जीवनको कुनै प्रवाह थिएन । खायो रमायो, बस यत्तिमै उनले आफूलाई समर्पित गर्दै गए । तर जेजति यस्ता कार्य गरे पनि उनले कला रचना भने गर्न छोडेन्न । उनले पोस्टर, लिथोग्राफ, मेनु, पुस्तकका लागि चित्र, लेखकका चित्र, वेश्याका चित्र आदि बनाए ।
उनले औद्योगिक क्षेत्र तथा ग्रामीण इलाकामा गएर कलाकृति रचना पनि गरे । उनलाई क्रोमोन स्टुडियोमा इमाइल बबेर्नाड, भिन्सेन्ट भ्यानगग, लुविस एनक्युन आदि कलाकारले सहयोग गरेका थिए । यो कलाकारको समूहले निकै एक्सपेरिमेन्टल कामसमेत गथ्र्यो । यो समूह डिजाइन र जापानिज प्रिन्टबाट प्रभावित थियो । सन् १८८८ मा लुत्रेकले लेस भिन्ट अर्थात् द ट्वान्टी शीर्षकमा एकल कला प्रदर्शनी गरे । यसको अघिल्लो वर्ष उनले एउटा स्टूडियो लिए डा. ब्रोजसँग मिलेर । सन् १८९१, ताका उनले नियमित दृष्टान्त चित्र बनाए । उनले बनाएका यस्ता चित्र विभिन्न पत्रपत्रिका तथा कितावमा छापिन्थे । त्यस्तै, पोस्टर बनाउने कमिसन वर्क पनि गरे । विभिन्न क्यारिकेचरसम्बन्धी चित्र पनि उनले बनाए । उनी पर्सियन प्रिन्टबाट पनि प्रभावित थिए ।शारीरिक अपांगता बोकेर उनले कला रचना गरेका छन् । दुब्ला खिरिला लुत्रेक सानैदेखि अपांगताको शिकार भए । ठूलो टाउको पातलो शरीरका उनी हिड्दा अफ्ठ्यारो पर्ने हुँदा लठ्ठीका भरमा हिड्थे । उनको सन् १९०१ सेप्टेम्बर ९ मा निधन भएको हो ।
प्रभाववादी कला शैलीमा रहेर कलारचना गरेका कलाकार लुत्रेक विशेषतः ग्राफिक (प्रिन्ट) कलाकारका रुपमा विश्वप्रसिद्ध छन् । उनले व्यवसायिक तथा सामाजिक जीवनका विषयमा रही बनाइने पोस्टरकलाको विकासमा महत्वपूर्ण योगदान गरेका छन् । वास्तवमा उनले पोस्टरकलामा क्रान्ति नै ल्याएका थिए । पोस्टर भनेको समाजमा सन्देश दिने कलात्मक माध्यम हो । पोस्टर बनाई त्यसमा व्यवसायिक विषयलाई आममानिसमा पु¥याउने विधाको विकासमा लुत्रेकको योगदानको जति चर्चा गरे पनि पुग्दैन ।
उनले लिथोग्राफबाट थुप्रै प्रिन्ट निकालेका छन् । उनले चित्रलाई प्रकाशको प्रभावसँगै कलात्मक रुपमा चमकदमक रङ्गबाट प्रस्तुत गरी प्रभाववादी चिन्तनलाई अंगिकार गरेका छन् । सबैभन्दा बढी दैनिक जीवनसम्बन्धी चित्र बनाए । उनले भनेका छन्, ‘मैले आदर्शको होइन यथार्थको चित्रण गर्दछु ।’ उनले जे भने पनि उनका चित्रमा यथार्थ र आदर्शको संयोजन रहेको पाइन्छ ।सम्पन्न परिवारमा सबलांग जन्मिएर पनि अपाङ्ग हुन् पुगेका उनले शारीरिक अशक्तका बीच पनि अनेकन चित्र बनाए । चित्र बनाउने कार्यमै आफ्नो जीवन अर्पण गरे । हुनतः उनी प्रभाववादी कलाकारको सम्पर्कपछि मात्रै यस शैलीमा काम गर्न थालेका थिए । उनले प्रभाववादी कला चिन्तनको विकास र शैलीमा काम गरेर यस कला आन्दोलनलाई अझ उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
लुत्रेकले प्रभाववादी कलाशैलीमा ल्याएको नवीन चिन्तन र विषयले त्यसबेला निकै प्रशंसा पाएको थियो । यसले केही भए पनि कला क्षेत्रमा नयाँ जागरण र चेतना पैदा ग¥यो । उनले बनाएको एट द सर्कस फर्नान्डो (१८८८) शीर्षकको यस चित्रमा फ्रान्सको त्यसबेलाको चर्चित सर्कसलाई देखाइएको छ । एकजना महिला घोडामा चढेर दौडिरहेको र एकजना पुरुषले घोडालाई कोर्रा हान्दै गरेको दृश्य छ । सर्कस हेर्न जम्मा भएको जमात दर्शक दीर्घामा बसेका छन् । चित्रको छेउमा एकजना जोक्करले ठट्टा गरिरहेको छ ।यस्तै, जाने एभरील एट द जार्डिन डे पेरिस (१८९३) लुत्रेकको प्रसिद्ध पोस्टरको चित्र हो । त्यसबेलाको चर्चित डान्सर जाने एभरीलको नाचिरहेको अवस्थालाई यस चित्रमा उतारिएको छ । मोलिन रग नामक क्लबमा नाच्ने नर्तक जाने एभरीलको यस चित्रमा नाचिरहेको विषयलाई कलाकारले बढी फोकस गरेका छन् भने संगीत बजाइरहेको मानिसको हात र संगीत बजाउने सामग्रीको एक भागलाई मात्रा देखाएका छन् । यसैगरी, आरिस्टिड ब्रन्ट एट द एम्बेसडियरर्स (१८९२) प्रसिद्ध गायक आरिस्टिड ब्रन्टको पोस्टर कला हो । यसमा कलाकारले गायकको ह्याट, गलबन्दी, कोट र हातमा लिइरहेको काठको एउटा लठ्ठीलाई कलात्मक रुपमा देखाएका छन् । यसमा प्रस्तुत गरिएका गायकको भाव र उनको अवस्थाको विषयलाई केन्द्रित गर्दै कलाकारले चित्र रचना गरेका छन् ।
चित्रमा अक्षर लेखिएको छ । जसको चित्र हो त्यही व्यक्तिको नाम लेखी एम्बेसडरर्सका रुपमा उनलाई देखाइएको छ । यस चित्रलाई कलाकार र क्लबको विज्ञापन गर्ने उद्देश्यले बनाइएको हो । चित्रमा रेखा र रंगको प्रयोगलाई कलाकारले सचेतताका साथ प्रस्तुत गरेका छन् । कलाकार लुत्रेकले बनाएको द डान्स एट द मोलिन रग (१८९०), ला गौलिइ एट द मोलिन रग (१८९१–२), एट द मोलिन रग (१८९२), द सलोन एट द रिउ डेस मोलिन (१८९४), द फिमेल क्लोन चु काओ (१८९५) लगायतका सयौं चित्र बनाएर लुत्रेकले आफ्नो कला प्रतिभा देखाएका छन् ।
यसरी सन् १८७२–३ बाट प्रारम्भ भएको प्रभाववादी कला आन्दोलनमा देखापरेका फ्रान्सेली कलाकार लुत्रेकले विश्वकलामा निकै चर्चा कमाउन सके । चित्रमा मौलिक विषय र रङको प्रयोग गरी आफूलाई भिन्न रुपमा प्रस्तुत गरेका उनले समाजका भिन्न विषयलाई कलामा उतारे । सहरी रात्रीजीवन, क्याफेघर, संगीतगृह, वेश्यालय आदिलाई कलाका माध्यममा चित्रण गरेका उनले नृत्यांगनालाई समेत कलात्मक रुपमा क्यानभासमा उतारेका छन् । प्रभाववादी कलाकारले मिश्रित रङको त्यत्ति प्रयोग गरेको पाइँदैन । उनीहरूले कलामा चमक देखाउनु र त्यसमा भद्दा तर प्रभावयुक्त रङ्गको प्रयोग तुलिकाबाट गर्नु नै प्रमुख कार्य थियो । लिथोग्राफ, पोस्टर, रेखाचित्र आदि बनाएका लुत्रेकका चित्रमा रङ–रोमान्सको भाव प्रकट भएको पाइन्छ । रङको प्रयोग र प्रभाव पनि रोमान्सताकै जगमा टेकेर गरिएको अनुभूति उनका चित्रको अवलोकन पश्चात गर्न सकिन्छ ।
विषयलाई नवीनतम ढंगले चित्रण गर्ने कलाकार लुत्रेकले रङको प्रयोगमा पनि निकै कुशलता प्रकट गरेका छन् । विषयलाई निकै नाटकीय रुपमा प्रस्तुत गरेता पनि ती चित्रमा फ्रान्सको त्यसबेलाको जीवनलाई देख्न सकिन्छ । सर्कस, संगीत र नृत्यको क्षणभरमा परिवर्तन हुने मुभमन्टलाई उनले वस्तुपरक ढंगले चित्रण गरेका छन् । यो उनको कलाको निकै सबल पक्ष हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar