बिजनेश पार्टनरसंगको मिलेमतोमा सुहृदको यस्तो अवैध धन्दा
काठमाडौं – बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा काण्डमा मुछिएका खर्बपति व्यापारी सुहृदराज घिमिरेले आफ्नो स्वामित्वमा रहेको सरकारी जग्गा लुकाउन आफ्नै कम्पनिका साझेदारलाई प्रयोग गरेको पाइएको छ ।
घिमिरेले ललिता निवासको १३ रोपनी सरकारी जग्गा आफ्नी सासुआमाको नाममा कसरी हत्याए भनी खोजी गर्दा उक्त जग्गा सुहृदराजले आफ्नै कम्पनिका साझेदार पुरुषोत्तम पौड्यालको नाउमा समेत लुकाएको भेटिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको तत्कालिन ललिता निवास क्षेत्र भित्रको १३ रोपनी जग्गा घिमिरेले आफ्ना सासुआमा इन्दु शर्मा र व्यापारिक साझेदार पौडेलको नाममा राखेको बारे यसअघी शुभयुग डटकमले खुलाशा गरिसकेको छ ।
डिल्लीबजार मालपोत कार्यालयको लिखतमा पनि उक्त प्रकरणका मुख्य अभियुक्त भनिएका विवादित व्यापारी मिन बहादुर गुरुङ, जग्गाकाण्डमा फरार अभियुक्तहरु रामकुमार सुवेदी र शोभाकान्त ढकालको मिलेमतोमा घिमिरले सासुआमा, आमा, श्रीमती र व्यापारिक साझेदार पौडेलको नाममा जग्गा हत्याएको देखिएको छ । लिखत अनुसार भाटभटेनीका मालिक समेत रहेका मिनबहादुर र कामना गुरुङको संयुक्त नाममा रहेको उक्त जग्गा वि.सं.२०६३ मंसिर १३ गते घिमिरेकी सासु इन्दुको नाममा पास भएको छ । उक्त जग्गा राजिनामा पास गरिएको कागजातमा बालुवाटार जग्गा बेचविखनका प्रमुख अभियुक्त मध्येकै रामकुमार सुवेदी र शोभाकान्त ढकाल साक्षी बसेका छन् ।
उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले छानबीन गरिरहेको छ । सिआईवीले खोजी गरेपनि हालसम्म यी मध्ये केहि पक्राउ परिसकेपनि घिमिरेसहितका अन्य अभियुक्तहरु भ्ने अझै फरार छन् ।
घिमिरेले सासुआमा ईन्दु शर्माको नाउँबाट पटक पटक जग्गा किनबेच गरिरहेको समेत देखिएको छ । सासुआमाको नाउँमा ०६३ मंसिर १३ गते किनेको जग्गाको कित्ता नं.८ को २ रोपनी १४ आना २ पैषा ३ दाम मध्ये १ रोपनी ८ आना क्षेत्रफलको जग्गा घिमिरेले आफ्नो व्यापारिक साझेदार पुरुषोतम पौड्याललाई बिक्री गरेको देखाएका छन् । घिमिरेले आफुले प्रतिआना जम्मा रु.५१ हजारमा खरिद गरिएको जग्गा सोहि दिन नै पौड्याललाई भने प्रतिआना रु.१ लाख २५ हजारमा बिक्री गरेका छन् । उक्त जग्गा खरिद गर्दा पौड्याले रु.३० लाख दिएकोसमेत देखिन्छ । यद्धपी पौड्यालको नाउँमा पास गरेपनि उक्त जग्गा भने घिमिरेकै हो ।
घिमिरेले सवै आफ्नो देखाउन नमिल्ने भन्दै कन्टिनेन्टल ट्रेडिङका सञ्चालक पौड्यालको नाउँमा बिक्रि गरेको देखाएको घिमिरे निकट श्रोतले बतायो । यस विषयमा अख्तियारले यसअघि सुचना प्रकाशित गरेरै घमिरेकी सासु इन्दु शर्मालाई बयानका लागि बोलाएको थियो । अख्तियारले केही महिना अघि बयानका लागि घिमिरेका साझेदार पौडेललाई समेत बोलाएको थियो ।
अहिले पनि ललितानिवास परिसरमा घिमिरेको ईन्दु शर्माकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ । हाल इन्दुको नाममा ललितानिवासभित्र कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा रहेको छ । यी सबै जग्गाको क्षेत्रफल जोड्दा करिब ४२ आना जग्गा इन्दु शर्माकै नाममा रहेको देखिन्छ । घिमिरेले बाँकी जग्गा भनेससुरा तिर्थराज शर्माको नाममा पनि राखेको पाईएको छ । त्यसो त बालुवाटार क्षेत्रको १३ रोपनी जग्गालाई हालको बजार भाउ अनुसार डेढ अर्ब भन्दा बढी पर्ने अनुमान छ ।
पुरुषोत्तम पौड्याल सुहृदको व्यापारीक साझेदार
यता ललिता निवासभित्र २४ आना अर्थात् १ रोपनी ८ आना जग्गाका मालिक पुरुषोत्तम पौड्याल व्यापारी सुहृदराज घिमिरेका बिजनेस पार्टनर हुन् । व्यापारी सुहृदराज घिमिरेको कम्पनी कन्टिनेन्टल ट्रेडिङमा पौड्यालको २० प्रतिशत शेयर लगानी रहेको छ भने पौड्यालको कन्स्ट्रक्सन कम्पनीमा पनि सुहृदको लगानी रहेको छ । कन्टिनेन्टल ट्रेडिङ निर्माण सामग्री तथा मोटर आयात गरी बेच्ने आधिकारिक विक्रेता अर्थात् डिलर हो । कन्टिनेन्टल ट्रेडिङ कोमात्सु कम्पनीको निर्माण सामग्री सप्लाई गर्ने नेपालको आधिकारिक विक्रेता हो । त्यसैगरी कन्टिनेन्टल ट्रेडिङले किया मोटर तथा इसुजु मोटरको आधिकारिक विक्रेताको काम गर्छ भने ओटिस कम्पनीको इलेभेटर र स्कालेटरको पनि आधिकारिक विक्रेता हो ।
त्यस्तै घिमिरेका व्यापार साझेदार पौड्याल, अकुत सम्पत्ति लुकाउन ब्रिटिस भर्जिन आइल्याण्डमा रहेको इको बे लिमिटेड नामको अफसोर कम्पनीका पनि शेयरहोल्डर र निर्देशक पनि हुन् । नेपालमा कमाएको अकुत सम्पत्ति र कर छलीको पैसा थुपार्न सुहृदले ब्रिटिस भर्जिन आइल्याण्डमा इको बे लिमिटेड नामको अफसोर कम्पनी खोलेका छन् ।
त्यससँगै सिंगापुरमा पहिले कन्टिनेन्टल ओभरसिज नामको हेभी इक्वीपमेन्ट सप्लाई गर्ने कम्पनीमा पनि सुहृद र पौडेलको लगानी रहेको थियो । अहिले भने त्यो कम्पनीको नाम परिवर्तन गरी फार इष्ट एसोसिएट्स बनाइएको छ । यही कम्पनीको नामबाट कन्टिनेन्टल ट्रेडिङले कोमात्सु लगायत कम्पनीका कन्स्ट्रक्सन कम्पनीका लागि चाहिने डोजर, लोडर लगायतका सामग्री आयत गर्ने गरेको छ ।
उक्त कम्पनीको कागजी मालिक सुहृदकी भाञ्जी दिप्ती दाहाल भएपनि हस्ताक्षर गर्ने अधिकार भने व्यापारी सुहृदराज घिमिरे र बिजनेश पार्टनर पुरुषोत्तम पौड्यालमै रहेको छ ।
सुहृदमाथि कर छली र अकुत सम्पत्ति आर्जनको मुद्दा
व्यापारी सुहृदराज घिमिरेमाथि अहिलेपनि कर छली गरी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा छानबिन भइरहेको छ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले सुहृदको सम्पत्तिबारे छानबिन गरिरहेको छ । नेपाल, सिंगापुर, ब्रिटिस भर्जिन आइल्याण्ड र अमेरिकाका रहेको सुहदको सम्पत्ति तथा त्यसको श्रोतबारे छानबनि भइरहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बताएको छ । लामो समयदेखि सुहृदको उजुरीमाथि अनुसन्धान र छानबिन भइरहेपनि विभागले सुहृदमाथि अहिलेसम्म मुद्दा दायर भने गरेको छैन ।
त्यसो त घिमिरेको राजनितिक पहुँच र आर्थिक प्रलोभनमा परि सम्पत्ति सुद्धिकरण विभागले घिमिरेमाथिको अकुत सम्पत्ति मुद्दाको छानबीनमा आलटाल गरेको भन्दै विभाग विरुद्ध नै उजुरी परिसकेको छ ।
ललिता निवासमा सुहृद घिमिरेको १३ रोपनी जग्गा : पक्राउ पर्ने डरले दुवई फरार
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar