काठमाडौं – बिदेशी लगानी प्रतिवद्धता घटेको छ । अघिल्लो आबमा त्यस्तो प्रतिवद्धतामा ३६ प्रतिशतले कमी आएको हो ।
उद्योग विभागमा दर्ता हुने स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता एक खर्ब रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षमा स्वदेशी र विदेशी लगानीकर्ताले विभागमा ३ खर्ब ५४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसमध्ये ३ खर्ब रुपैयाँ स्वदेशी लगानी थियो भने ५४ अर्ब विदेशी लगानीको प्रतिबद्धता थियो ।
लगानी बोर्डमार्फत भित्रिने ठूला वैदेशिक लगानी ४४ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ प्रतिशतले बढी हो । आव ०७९÷८० मा विभागमा स्वदेशी लगानीका १९५ उद्योग दर्ता भएका छन् । जसमा एक खर्ब ८१ अर्ब रुपैयाँको लगानी प्रस्ताव आएको थियो । जुन गत आवको तुलनामा एक खर्ब १९ अर्ब रुपैयाँ कम हो । आर्थिक वर्ष २०७८÷७९ मा २४० उद्योग दर्ता भएका थिए । जसमा ३ खर्ब रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।
विदेशी लगानी प्रतिबद्धतामध्ये ५ उद्योग ठूला छन् भने २५ मझौला र २९७ साना उद्योग रहेको विभागले जनाएको छ । अघिल्लो आवमा २९५ वटा उद्योगमा ५४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । जसमा ५ वटा ठूला, ७३ वटा मझौला र २१७ वटा साना उद्योगहरु थिए । विभागका महानिर्देशक बाबुराम गौतमका अनुसार स्वदेशी लगानीका उद्योगहरुको विवरण अहिले नै भन्न सक्ने अवस्था छैन् ।
राष्ट्र बैंकका अनुसार विदेशी लगानीकर्ताले गरेको लगानीको यो प्रतिवद्धतामध्ये खुद लगानी ४ अर्ब ६५ करोड रुपैयाँ मात्र आएको छ । यो लगानी प्रतिवद्धताको १३.४४ प्रतिशत हो । अघिल्लो वर्ष ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिवद्धता आएकामा खुद लगानी १७ अर्ब ३५ करोड भित्रिएको थियो । यो प्रतिवद्धताको ३२.०४ प्रतिशत थियो ।
अघिल्लो आवमा लगानी प्रतिवद्धताको तुलनामा खुदा वैदेशिक लगानी ३२.०४ प्रतिशत रहेकोमा चालू आवमा १३.४४ प्रतिशतमा सीमित हुनुले नेपालमा लगानीको वातावरणमा सुधार हुन नसकेको देखाएको छ । राष्ट्र बैंकले गत वर्षसम्मको तथ्यांकका आधारमा गरेको अध्ययन अनुसार नेपालमा खुदा वैदेशिक लगानी सवा २ अर्ब रहेको भए पनि लगानी प्रतिवद्धता भने यसको दोब्बर रहेको अवस्था थियो । उद्योग विभागका अनुसार सोही अवधिसम्म नेपालमा ४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको थियो । जबकि खुद वैदेशिक लगानी भने २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ रहेको तथ्यांक छ ।
वैदेशिक लगानीका क्षेत्रमा प्रतिवद्धता जनाएको एक वर्षभित्र लगानी ल्याउन सकिने प्रावधान छ । सोही अनुसार प्रतिवद्धता कार्यान्वयनमा आएको भए चालू आवमा अघिल्लो आवको तुलनामा अझ बढी लगानी भित्रनुपर्नेमा यस वर्ष झनै कमी देखिएको छ । गत वर्षसम्मको तथ्यांकभन्दा चाल् आवमा वैदेशिक लगानीको अवस्था झनै निराशाजनक रहेको तथ्यांकले देखाएको छ । सशस्त्र द्वन्द्व, राजनीतिक संक्रमणकाल, भूकम्प, नाकाबन्दीजस्ता ठूला समस्याको समयभन्दा वैदेशिक लगानीमा झनै निराशा देखिनु चिन्ताको विषय भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
नेपाल राष्ट्र बैंकका पुर्वकार्यकारी निर्देशक नरबहादुर थापाले प्रतिवद्धता जे जति नै गरेपनि देशभित्र आएको रकम राष्ट्र बैंकमार्फत आउने रकम भएको बताए । उनका अनुसार प्रतिवद्धता गर्ने तर लगानी नआउने परम्परा पुरानै भएकोले यसलाई नीतिगत रुपमै सुधार गरेर जानुपर्ने जिकिर गरेका छन् । उद्योग विभागले गरेको एक अध्ययन अनुसार प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिन नसक्नुमा नीतिगत कमजोरी मुख्य कारण रहेको देखाएको छ । विदेशी लगानी भित्र्याउने मूल ढोका मानिएको विभागले गरेको उक्त अध्ययनले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ कार्यान्वयनका क्रममा नीतिगत र व्यावहारिक समस्या रहेका कारण लगानीकर्ता आकर्षित हुन नसकेको देखाएको हो ।
हाल ६ अर्बसम्मको लागि विदेशी लगानी स्वीकृत गर्ने निकाय उद्योग विभाग र त्योभन्दा बढीको स्वीकृति लगानी बोर्डमार्फत हुँदै आएको छ । विभागको अध्ययनले उद्योग विभागमा दर्ता नहुने उद्योगको हकमा तथा छुटै नियमनकारी निकायहरुको कार्यक्षेत्रभित्र पर्ने कम्पनी जस्तो कि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, धितोपत्रसँग सम्बन्धित व्यवसाय गर्ने आदिमा हुने विदेशी लगानीको सम्बन्धमा विदेशी लगानीको स्वीकृति प्रदान गर्ने उद्योग विभाग तथा लगानी बोर्डको कार्यालयको स्वीकृति आवश्यक पर्ने वा नपर्ने सम्बन्धमा स्पष्ट व्यवस्था नभएको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar