प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिले नेपालको राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह कहिले दिल्ली, कहिले नेपालमै विभिन्न नेताहरुसँग धाएको भनेर प्रचण्डले दिएको अभिव्यक्तिकै विषयमा एमालेले संसद अवरुद्ध गरेको छ भने प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिएको छ ।
सत्ता पक्षका दलले प्रधामन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा दिन नपर्ने बरु संसदमा स्पष्ट पार्नु पर्ने ठहर गरेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति, संसद अवरुद्ध र पार्टी गतिविधिमा केन्द्रित रहेर माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद लेखनाथ दाहालसंग गरिएको कुराकानीको सम्पादित अंश :
सरदार प्रितम सिंहको पिरतीले त प्रधानमन्त्रीको पद नै धरापमा पार्यो नी ?
प्रमुख प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरेर अराजनीतिक गतिविधि गर्यो । प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक विषयसँग जोडिएको छैन । प्रितम सिंह राजनीतिक व्यक्ति हैनन् । उनको राजनीतिक इतिहास छैन । उनी ठुला व्यावसायिक घराना पनि हैनन्, जसले राजनीतिक पहुँच राख्छन् । उनी सामान्य मजदुर हुन् । नेपालमा पहिलो पटक ट्रक लिएर आएका थिए । सामान्य नागरिक सरह जीवन बिताइरहेका छन् । उनी लामो समयदेखि नेपालमै बसे । विशेष गरी पम्फा भुसालको निर्वाचन क्षेत्रमा उनको घर पर्ने रहेछ । पम्फा भुसाल मार्फत कमरेड प्रचण्डसँग पुग्दा गुरुद्वार र स्कुलमा आउने जाने क्रममा माओवादी आन्दोलनप्रति उनको सदासयता रहेछ । कमरेड प्रचण्ड प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने शुभेच्छा र भावना रहेछ । त्यो कुनै बेलाको भेटघाटमा व्यक्त गर्नु भएको रहेछ । ‘तपाईं प्रधानमन्त्री भइदिए हुन्थ्यो भनेर भेटे जतिलाई भनेको छु, दिल्ली, अमृतसर गुरुद्वार पुगेर भगवानलाई भाकल गरेँ । तपाईं प्रधानमन्त्री हुनु पर्छ’ भन्ने सन्दर्भमा बोल्नुभयो । त्यो सन्दर्भलाई कमरेड प्रचण्डले भावनात्मक रुपमा व्यक्त गर्नुभयो ।
प्रितम सिंहले बोलेको कुरा कमरेड प्रचण्डले व्यक्त गर्नुभयो । फेरि उहाँले कसैलाई भेट्न दिल्ली र यहाँका नेतासमक्ष प्रितम सिंहलाई पठाएको पनि होइन । भेटेर लविङ गर्न पाएको समेत होइन । उहाँ लविङ गर्न सक्ने राजनीतिक हैसियतको पनि हैन । कमरेड केपी ओलीले सामन्थ गोयललाई रातारात बालुवाटार भेटेर पूजा आराधना गरेजस्तै गरेको भए त्यो राजनीतिक विषय हुन्थ्यो । यो अभिव्यक्तिलाई राजनीतिक विषय बनाउनुपर्ने कुनै आवश्यकता छैन । यो विषयमा सबै नेपाली जनतालाई प्रस्ट छ । भारतबाट आएको एउटा सामान्य नागरिकले शुभेच्छा राख्नु अन्यथा होइन ।
तपाईं स्वयं प्रचण्डकै पार्टीमा रहेकोले यसरी खण्डन गर्नु स्वभाविक हो । तर स्वतन्त्र नागरिक वा अन्य पार्टीको नेता भएर सोच्दा प्रधानमन्त्रीले त्यस्तो नबोलेको भए हुन्थ्यो भन्ने लाग्दैन र ?
उहाँ त्यो कार्यक्रममा नगएको भए हुन्थ्यो भन्नु स्वाभाविक हो । तर, एउटा इतिहास हो । उहाँले नेपालमा पहिलो पटक ट्रक प्रवेश गराउनु भएको रहेछ । पहिलो पटक प्रितम सिंहले चलाएको बसमा चढ्नु भएको रहेछ । कसले ल्याएको रहेछ भन्दा प्रितम सिंहले ल्याएको भन्दा भावनात्मक रुपमा जोडिनुभयो । व्यावसायिक रुपमा एउटा विरासत रहेछ । जसले इतिहासको सम्मान गर्न सक्दैन, त्यसले वर्तमानमा प्रगति गर्न सक्दैन । इतिहासका पात्रहरुको सम्मान गरौं भन्ने सन्दर्भमा कमरेड पम्फा भुसाल मार्फत जोड गरेर जानु भएको रहेछ । कार्यक्रममा गएपछि मान्छेका स्वाभाविक रुपमा भावना हुन्छन् । प्रितम सिंहले बोलेको कुरा उहाँको दिमागमा ‘क्लिक’ गर्यो । उहाँको दिल्लीमा राजनीतिक पहुँच होइन । यता काठमाडौंमा पनि राजनीतिक पहुँच होइन । यो भन्दा अघि उहाँको नाम सुन्नु भएको थिएन । सामान्य नागरिकको भावनालाई व्यक्त गर्नुभयो । उहाँलाई राजनीतिसँग जोड्नु उपयुक्त छैन ।
कुनै ठुलो राजनीतिक र व्यावसायिक घरानासँग जोडिएर वा विचौलियासँग जोडिएर आएका पात्र प्रितम सिंह हुन्थे भने गम्भीर ‘मिस्टेक’ हो । ‘फलानोले जिते हुन्थ्यो’ भन्नु विचार र राजनीति होइन भावना हो । एमालेले अनावश्यक राजनीतिक रङ दिनु राम्रो भएन । ओली प्रधानमन्त्री हुँदा सिधै बालुवाटारमा ‘रअ’ प्रमुखलाई कुटनीतिक मर्यादा विपरीत भेटेको होइन ? सुधिर चौधरीलाई बालुवाटारबाट सिधै कालापत्थर पठाएको होइन ? ओलीको राष्ट्रियता दुनियाँलाई थाहा छ । उनी कति असंवैधानिक छन् भने २/२ पटक संसद विघटन गरेको होइन ? राष्ट्रपतिलाई दुरुपयोग गरेर नेपाली नगारिकलाई गैरनागरिक बनाएर नागरिकता विधेयकलाई निष्क्रिय बनाएको होइन ? संस्थागत भ्रष्टाचार गरेर तीन वर्षका फाइल खोल्दा सबैतिर एमाले बाहेक अरु नभेटिने भ्रष्टाचार गरेको होइन ? यो मुलुकमा अनैतिकता, बेथिति, अराजकता, उच्छृङ्खलता र भ्रष्टाचारको चुलीमा बसेर राष्ट्रघातको साक्षी बसेका पात्रहरुले त्यो पनि कमरेड प्रचण्डलाई नैतिकताको पाठ सिकाउने कुरा हुन्छ !
प्रधानमन्त्रीको अभिव्यक्ति प्रायः विवादास्पद बनेका छन् । भारतमै बसेर भारतविरुद्ध सुरुङ युद्ध लड्ने, १२ बुँदे सहमति भारतमै भयो, कांग्रेससँग सरकार बन्यो भने कम्फर्टेबल हुन्छ भन्नेजस्ता अभिव्यक्तिको क्लाइमेक्समा नै प्रचण्डले पछिल्लो अभिव्यक्ति दिनुभयो र सत्य बोल्नुभयो, दिल्ली बिना प्रधानमन्त्री बन्न सकिँदैन पनि भनिँदैछ नि ?
कमरेड प्रचण्ड सरल हुनुहुन्छ । अरुजस्तो भित्र एउटा, बाहिर अर्को हुनुहुन्न । अरु बाहिर बुद्ध देखिने, भित्र हिंस्रक बाघजस्तो देखिन्छन् । भित्रभित्र अपराध गर्छन्, बाहिर शिष्ट देखिन्छन् । प्रचण्ड बाहिर जे देखिनुहुन्छ, भित्र त्यही हुनुहुन्छ । भारतमा बस्दा भारतीय जनताको सामान्य साथ सहयोग रह्यो । पछि भारत र नेपाल आउजाउ भइरह्यो । हामी सामान्यतया अन्तर्राष्ट्रिय सर्वहारावादलाई मान्ने पर्यौं । सर्वहाराको आन्दोलन भएकाले भारतीय जनताको सद्भाव थियो । भारतका शासक वर्गको कुदृष्टि छँदै थियो । तर भारतीय श्रमजीवी वर्गका जनताको साथ सहयोग थियो । जसले गर्दा नेतृत्वलाई भेट्ने बित्तिकै गिरफ्तार गर्ने कुरा सजिलो भएन ।
कतिपय भारतमै पक्राउ पर्नुभयो, कतिपय नेतालाई सुपुर्दगी गरेर स्वदेश पठाइयो । यदि १२ बुँदे सहमति भारतीय शासक वर्गले थाहा पाएको हुन्थ्यो भने गिरफ्तार गरिहाल्थ्यो नि । हामीले रोल्पामै १२ बुँदे सहमति गर्ने कुरा थियो । गिरिजाबाबु रोल्पा जाने स्थिति नबन्ने भएपछि रोल्पाबाट दिल्ली सर्यो । गिरिजाबाबु सुरुमा १२ बुँदे सहमति गर्न दिल्ली जाँदा नोएडामा भेट्ने कुरा थियो तर भारतीय सीआइडी पछि लागेको थाहा भएपछि ‘यो पटक मैले प्रचण्डलाई भेट्न नसक्ने भएँ । भारतीय सीआइडी मेरो पछि लाग्यो । यदि प्रचण्डलाई गिरफ्तार गर्यो भने कलंक हुन्छु । यो पटक फर्किन्छु’ भनेर नेपाल आउनुभयो । त्यसपछि केही महिनामा भूमिगतशैलीमा १२ बुँदे सहमति गर्न दिल्ली जानुभयो । त्यसमा भारतीय पक्षको कुनै संलग्नता छैन ।
संघीयताका पक्षधर, लोकतन्त्रका पक्षधर, परिवर्तनका पक्षधरहरुको सरकार बन्दा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ हुन्छ भन्ने सन्दर्भमा बोलेको कुरालाई ठ्याक्कै टिपेर कम्फर्टेबल सरकार हो भनेर विरोधीले हल्ला चलाइरहेका छन् । तर वास्तवमा केपी ओली नक्कली, खोत्रा राष्ट्रवादी हुन् । एन्टी इन्डियन आन्दोलन बनाइराख्ने अनि भित्रभित्रै दलाली र चाकडी गर्न माहिर छन् उनी ।
प्रधानमन्त्रीको अभिव्यक्ति स्वभाविक हो, त्यसलाई धेरै उचालिरहनु हुँदैन भन्ने हो ?
हामीलाई मात्रै होइन, जनतालाई पनि त्यस्तै लागेको छ । तपाईंले देख्नु भएको छ कतै समाचार बनेको ? प्रचण्ड कमरेडको भिडियो क्लिप हेर्नुहोस्, सबै प्रस्ट छ । त्यो पनि ठट्यौली पाराले बोल्नु भएको छ । सामाजिक, व्यावसायिकसँगै राजनीतिक रुचि राख्ने प्रितम सिंहले त्यो सन्दर्भमा मलाई दिल्ली काठमाडौ धाएर शुभेच्छा व्यक्त गर्नुभयो भनेर बोल्दा त्यो शब्द राजनीतिक हुन्छ ?
एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिइसक्यो । के प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ ?
राजीनामा दिन कमरेड प्रचण्डले के गर्नु भएको छ ? केपी ओलीजस्तो ‘देशद्रोही’, राष्ट्रघाती महाकाली सन्धि गर्ने, संस्थागत भ्रष्टाचार गर्ने, गैरसंवैधानिक काम गर्ने, अलोकतान्त्रिक काम गर्नेले प्रचण्डलाई आरोप लगाउन मिल्छ ?
भारतीय नाकाबन्दी विरुद्ध लडेको, नेपालको चुच्चे नक्सा जारी गरेको व्यक्तिलाई ‘देशद्रोही’ भन्न मिल्छ ?
सबैखाले भ्रम पार्न माहिर छन् । नक्कली राष्ट्रवादी बनेर दलाली बन्ने माध्यम बनाउन खोज्दै थिए । त्यो नकाव छिटै उत्रियो । सत्य यो हो । प्रधानमन्त्रीले राजीनामा किन दिने ? केपी ओली जस्तो संस्थागत भ्रष्टाचार गर्नु भएको छ र ? उहाँ जस्तो संविधानको उल्लंघन गर्नु भएको छ र ? उहाँ जस्तो संसद विघटन गर्नु भएको छ र ? प्रचण्ड कमरेडले विकास र समृद्धिको नेतृत्व गर्नु भएको छ ।
यस्तै विवादित अभिव्यक्ति दिँदा तीन जना मन्त्रीले राजीनामा दिनुभएको छ नि ?
यसरी राजीनामा दिन नैतिक आचारणसँग सम्बन्धित हुनुपर्यो । नभए राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएको हुनुपर्यो । यस्ता खालका अपराध गर्दा राजीनामा दिनुपर्ने हुन सक्छ । सामान्य नागरिकसँग बोलेको कुराले कहाँ राजीनामा दिने भन्ने हुन्छ ? त्यसमा भारतीय राजदूतलाई भनेको भए अर्कै कुरा हुन्थ्यो । त्यो बेला गम्भीर हुन्थ्यो । सामान्य नागरिक, जसको अलिकता पनि राजनीतिक सम्बन्ध छैन । सामान्य नागरिकसँग सामान्य भावना साटासाट गर्दा यस्तो भन्न मिल्दैन ।
प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा कुशलतापूर्वक नेतृत्व गरेपछि आफ्ना भनिएका नेताहरु जेल जानु पर्ने भयो । भ्रष्टाचारमा नमुछिएका एमालेका शीर्ष नेता नै छैनन् । ललिता निवास प्रकरणको फाइल तान्दा विष्णु पौडेल आउँछन् । नक्कली भुटानी शरणार्थीको फाइल तान्दा स्वयं केपी ओली तानिँदै छन् । उनको स्वकीय सचिवले करोडौं लिएको पुष्टी हुँदैछ । टोपबहादुर जेल गइसके । चाहे सुनको जलहरी तान्छौं, एमाले नै जोडिएका छन् । गोकर्ण रिसोर्ट तान्यो, एमाले नै तानिन्छन् । स्वास्थ्य सामग्री खरिद तान्यो, त्यहीँ तानिन्छन्, वाइडबडी तान्यो, त्यहीँ जोडिन्छन् ।
पशुपतिको सुनको जलहरी काण्डमा तपाईं पछि हट्ने स्थिति आयो । तपाईंले पित्तल भन्नु भएको थियो, तर सुनैसुन रहेछ नि ?
आफैँ धामी आफैँ बोक्सी भएर हुँदैन । अख्तियारले तामेलीमा राखेको मुद्दा मैले उठाएपछि किन सक्रिय भएको हो ? मुद्दा किन तामेलीमा राखेको हो ? महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले प्रस्टसँग लेखेको छ । जलहरीमा अनियमितता भयो, लेखाङ्कन छैन । ९६ किलो सुनको मुचुल्का छ । १०७ किलो सुन किनेको देखिन्छ । यो बीचको ११ किलो सुन हराएको छ । यो मैले बोल्या हो र ? उसले लेखेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको मातहतमा रहेको सार्वजनिक खरिद ऐन अनुगमन कार्यालय रहेछ । यसले प्रस्टसँग लेखेको छ । सार्वजनिक खरिद ऐन अन्तर्गत काम भएको छैन । त्यसमा ५५ लाखको ज्याला भुक्तानी गरिएको छ । त्यहाँ २ करोड देखाएको छ । दाताहरुको अर्बौं रकमको हिसाबकिताब छैन । यो सबै गडबडी अख्तियारले कसरी छोप्छ, यो सोध्दिनुस् त ? अहिले १०७ किलो सुन पुग्यो भनेर बाहिर हल्ला गरिएको छ । अहिलेसम्म आधिकारिक प्रतिवेदन बाहिर ल्याउन सकेको छैन । अख्तियारले आधिकारिक प्रतिवेदन नल्याउँदै मैले बोल्न मिलेन । काम गर्दा ९६ किलो सुनको मुचुल्का गर्ने, अनि १०७ किलोको जलहरी हालेको रहे भनेर जनतालाई ढाट्न मिल्छ ? नाम मेटाउँदा ३ दिन लाग्यो भनिँदैछ । त्यो बेला थोरै सुन थपे रे । उनीहरुले जे गरे पनि भयो ! त्यो गर्दा सरकारसँग समन्वय गरिएको होइन । सरकार र पशुपति विकास कोषसँग समन्वय नगरेर जो जलहरी राख्न सहभागी भएका थिए, उनै पात्र सुन जोख्न गए । सुन जोख्दा सुनको गुणस्तर के हो ? सुन कति ? चाँदी कति थियो ? कति तामा थियो ? तपाईंलाई भन्या छ ? यो केही आएको छैन । क्लिन चिट दिन खोजिएको छ । तर, फेरि फस्छ । जनता उनले भन्या जस्तो बेवकुफ छन् र ?
त्यसो भए मओवादी दूधले नुहाएको पार्टी हो ? कहीँ कतै मुछिएको छैन ?
माओवादीका नेताहरुले अनियमितता गरेको भए जेल जान्छन् । माओवादी भन्नासाथ जोगाउनुपर्छ र ? माओवादी मुछिए अझ बढी दण्डित र कानुनी दायमा ल्याउनुपर्छ ।
माओवादी शिविरको भ्रष्टाचारको फाइल नै खोलिएको छैन त ?
कहाँ छ फाइल ? कसले मुद्दा हालेको छ ? कहीँ कतै भ्रष्टाचार भएको छ ? मुखले भनेर हुन्छ ? तत्कालीन सरकारको मातहतमा रहेको हामी जनमुक्ति सेनाहरु शिविरमा बस्यौं । हामीलाई भरणपोषण भत्ता भनेर दिएको हो । त्यो दिँदा नेपाल सरकार, युएनको निगरानी र कर्मचारीको रोहवरमा टाउको गनेर, परिचयपत्र दिएर, लाइन लगाएर, राष्ट्रिय बाणिज्य बैंकमा चेक भजाएर सुरुमा ३ हजार, पछि ५ हजारको दरले लिएको हो । भरणपोषण भन्दा केको घोटला ? केको भ्रष्टाचार हुन्छ ?
त्यसो भए शिविरमा भ्रष्टाचार भएको छैन ?
ल्याउनुस् प्रमाण । कहाँ भ्रष्टाचार भएको छ ? शिविर व्यवस्थापनको फाइल शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा आयो । मन्त्रालय विघटन गरेपछि गृह मन्त्रालयमा लगियो । यो सबै महालेखा परीक्षकको कार्यालयले अडिट गरेको छ ।
शान्ति प्रक्रियासँग जोडिएको सेना व्यवस्थापनको कुरा ल्याएर घोटाला गरेको छ भन्न मिल्छ ? कसले गर्यो घोटाला ? हामीलाई एकमुस्ट पैसा दिएको हो र ? प्रत्येक व्यक्तिको टाउको गनेर दिएको हो । यदि घोटाला भएको भए महालेखाले किन अडिट गर्यो ? कमरेड प्रचण्डले संसदको रोस्टममै उभिएर ‘फाइल बनाउनुस्, मुद्दा हाल्नुस्, फाइल खोलौं, गृह मन्त्रालयमा छ । कहीँ कतै कमजोरी देखिए म जेल जान तयार छु’ भनिसक्नु भयो । यति भनिसकेपछि यो विषयलाई फेरि उठाउन जरुरी छ र ?
तपाईंले केपी ओलीको नेतृत्वमा जलहरी राख्ने काम हुँदा अनियमितता भएको छ भन्दा तपाईंकै पार्टी अध्यक्ष प्रचण्डले ‘भन्न हुन्न थियो’ भनेर रोस्टममै भन्नुभयो । तपाईंहरु केपी ओलीसँग डराउन त डराउनु हुँदो रहेछ नि ?
म डराइनँ । कमरेड प्रचण्ड पनि डराउनु भएन । यो प्रधानमन्त्रीसँग जोडिएको प्रसङ्गै होइन । कमरेड प्रचण्डले के बोल्नु भयो म जान्दिनँ । मेरो संसदको कमाण्डर सभामुख हुन् । संसदको रेकर्डबाट हटाउने काम गलत गर्नुभयो । मैले संस्थागत भ्रष्टाचारको कुरा गरेको हुँ । केपी ओलीले खाए भनेको हैन । अनुसन्धानको दायरामा ल्याउनु पर्यो । निष्पक्ष छानबिन गर्नुपर्यो । यो भन्ने बित्तिकै मलाई नै हो भनेर ‘चोरको खुट्टा काटौं’ भन्दा फुत्त केपी ओलीले झिकेर संसद अवरोध गर्नुभयो । सायद इतिहासमै एउटा सांसदले बोले बापत, त्यो पनि नीतिगत कुरामा, अरु कुनै आक्षेप, अशिष्ट र अमर्यादित शब्द बोलेको छैन । नीतिगत रुपमा संस्थागत भ्रष्टाचार भएको छ भन्ने उठाए बापत संसद अवरुद्ध हुनु सायद इतिहासकै पहिलो पटक हुनुपर्छ । यो विषयलाई सभामुखले हटाउनुभयो । तर, जनताको दिल दिमागबाट हटेको छैन ।
के अब केपी ओली विरुद्ध संसदमा बोल्न कठिन भयो ?
संसदको रेकर्डबाट हट्नु नहट्नुसँग कुनै मतलव छैन । मैले बोलिराखेको छु ।
सभामुखको भूमिका कस्तो पाउनु भएको छ ?
सभामुखलाई हामीले नै भोट हालेर जिताएका हौं । मेरा यी हात हुन् सभामुखलाई भोट हालेका । सभामुख निर्वाचित भएपछि प्रतिनिधिसभा सञ्चालनमा परिपक्व र कुशल नेतृत्व प्रदान गर्न सक्नु भएको छैन । उहाँ पटक पटक चुक्नु भएको छ । निष्पक्षतामा चुक्नु भएको छ । उहाँ एमालेको कारिन्दाजस्तो हुनु भयो । अस्ति सदन अवरुद्ध हुँदाहुँदै सभामुखले सांसदलाई बोल्न दिन हुँदैन थियो । सांसद बोल्दा बोल्दै जुरुक्क उठेर हिँड्नुभयो । प्रधानमन्त्रीले बोल्दा बोल्दै अरु सांसदलाई बोल्न समय दिनुभयो । सभामुखले संसदलाई अनुशासित र मर्यादित बनाउन सक्नु भएन । उहाँमा सदन सञ्चालनमा गम्भीर समस्या देखिएका छन् ।
अब यो संसद प्रधानमन्त्रीको राजीनामा नआए पनि खुल्छ ?
संसद खोल्ने जिम्मा सभामुखको हो ।
प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न ?
राजीनामाको कल्पना नगर्नुस् । यसरी सोच्दै सोचिएको छैन ।
पार्टीको गतिविधितिर लागौं, माओवादी कहाँ छ ? पार्टी कमिटीहरु सक्रिय छैनन् । यस्तो अवस्थामा कहाँ के गर्दै छ ?
माओवादी बलशाली पार्टी हो । इतिहासको योगदान र मुद्दाका हिसावले शक्तिशाली पार्टी हो । त्यो दुनियाँलाई थाहा भएको कुरा हो ।
माओवादी एकपछि अर्को निर्वाचनपछि खिइँदै गएको छ नि ?
पार्टी कहाँ खिइयो ? मुद्दा सिद्धिएपछि माओवादी कमजोर हुने हो । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र सामाजिक न्याय सहितका सबै मुद्दा माओवादीका हुन् । अंक गणितका आधारमा कमजोर भए पनि नेतृत्व माओवादीकै छ । विचार र देशको नेतृत्व माओवादीले गरिराखेको छ । हाम्रो स्कुलिङ ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने संघर्षबाट आयौं । पछिल्लो समय कार्यनीतिमा थोरै फेरबदल हुँदा वर्तमान राजनीतिमा थोरै फिट नभएर कमजोरी भएका छन् । पार्टीका गतिविधि कमजोर भए पनि पार्टी कमजोर भएको छैन ।
आगामी ०८४ को चुनावमा कांग्रेस र एमालेलाई नै बत्ती बालेर खोज्नुपर्ला जस्तो छ । माओवादीको त के हालत होला ? तपाईंलाई चिन्ता लागेको छैन ?
यसलाई छोडिदिनुस् । सजिलै आएकाहरु सजिलै जान्छन् । रगतको जगमा बनेको पार्टी तपाईं कमजोर भयो भन्नुहुन्छ ? फेसबुक र टिकटकमा बनेको पार्टी आवेगमात्र हुन्छन् । जनतालाई हामीप्रति रिस उठेर उनीहरुलाई भोट हालेका हुन् । हामीले राम्रो काम गर्ने बित्तिकै जनता फर्किन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै चुनौतीकै रुपमा लिनु भएको छैन तपाईंले ?
मैले चुनौतीका रुपमा लिएको छैन । हामीलाई छाडेर जनता खुलेर गएका छैनन् । उनीहरुले गर्ने आमसभामा मान्छे गएका छैनन् ।
विप्लवजी माओवादी केन्द्रको महासचिव बन्ने कहिले हो ?
त्यो मलाई थाहा छैन । विप्लवजी आउन स्वतन्त्र हुनुहुन्छ । धेरै हन्डर ठक्कर खानु भयो । गत स्थानीय तह निर्वाचनमा चुनाव लड्नु भएको थियो । वडा सदस्य पनि जितेको मलाई थाहा छैन । विप्लव, मोहन वैद्य ‘किरण’जी, बाबुरामजीहरुले हामीलाई कमजोर बनाउन त सक्नु भयो तर आफू बलियो बन्न सक्नु भएन । यद्यपि राजनीतिक रुपमा हामी कमजोर भएनौं । कमरेड प्रचण्डको क्रेज घटेन । राष्ट्रिय राजनीतिको केन्द्रमा प्रचण्ड रहिरहनु भयो ।
विप्लवलाई महासचिव बनाउने कुरा के हो ? यो सम्भावना कति छ ?
माओवादीमा विप्लवजीलाई महासचिव बनाउने बाहिर हल्ला छ । तर, अध्यक्ष कमरेडले केही बोल्नु भएको छैन ।
एमालेले यो सरकार चाहेको बेलामा ढाल्न सक्छौं भनिरहेको छ । सत्ता गठबन्धन एक ढिक्का भएर जाने कति छ ? दसैंसम्म मात्र हम्मेहम्मे जान्छ भन्छन् नि ?
केपी ओलीले यो सरकार वैशाखसम्म टिक्दैन भन्नुहुन्थ्यो । अब दसैँसम्म टिक्दैन भन्नुहुन्छ । अब दसैँसम्म पनि टिक्छ । यो सरकार न्युनतम साझा कार्यक्रमको जगमा बनेको छ । यसको निश्चित मुद्दा, उद्देश्य, लक्ष्य छन् । प्रचण्ड कमरेड प्रधानमन्त्री भएपछि अर्थतन्त्रले लय समातेको छ । बिचौलिया मुक्त प्रशासन भएको छ । सुशासनमा सरकार दृढ भएर अगाडि बढेको छ । लगानीकर्ता आएका छन् । जनतामा उत्साह पैदा भएको छ । जनताको उत्साह र ऊर्जालाई विकास र समृद्धिसँग जोड्ने कुरा हो । स्वभावैले भ्रष्ट र बिचौलियाहरु यो सरकार ढाल्नुपर्यो भन्दैछन् । यो सरकार ढाल्यौं भने जेल जानु पर्दैन थियो, हाम्रा कुकर्म बाहिर आउँदैन थिए भन्ने उनीहरुको सोच छ । त्यसभित्र एमालेपनि पर्छ ।
एमालेले समग्रमा बेथिति, अराजकता र संस्थागत भ्रष्टचारको नेतृत्व गर्छ । हामी जे गर्छौँ, त्यो एमालेलाई पर्छ । भ्रष्टचारविरुद्ध उभिए एमालेविरुद्ध उभिएजस्तो हुन्छ । बेथिति अराजकताविरुद्ध अभियान सुरु गर्दा एमाले नै ठोकिन्छ । हामीले हिर्काएको भ्रष्टहरुलाई हो । तर, एमालेलाई हिर्काएको जस्तो भइरहेको छ । यो गठबन्धनमा कुनै खटपट छैन । हामी मिलेर अगाडि बढ्छौं । एमालेले किस्तीमा प्रधानमन्त्री पद दिइरहेको छ । रवि लामिछानेलाई पनि किस्तीमै दिए उपप्रधानमन्त्री बन्नुहोस् भनेर । अहिले शेरबहादुर देउवाजीलाई तपाईं नै पाँचै वर्ष सरकार चलाउनुस् भनेको भन्यै छन् । मलाई लाग्छ शेरबहादुरजी लोभिनु हुन्न ।
ओलीले ललिपप देखाइरहन्छन् । यही गठबन्धन दलकै सरकार पाँच वर्षसम्म टिक्छ । भद्र सहमति र न्यूनतम साझा कार्यक्रमको जगमा कमरेड प्रचण्डले कमिसन र करप्सनको हेडक्वाटरमा बम पड्काउने उद्देश्य लिनु भएको छ । हिजो संघर्षको आन्दोलनलाई नेतृत्व गर्नुभयो । विकास र समृद्धिको पनि सफल नेतृत्व गर्ने कुरामा हामी सफल हुन्छौं ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar