सुनसरी – दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिए । उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उनले जानकारी दिए ।
त्यसैगरी इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । रासस
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar