काठमाडौं – चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वैदेशिक व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
यो रकम गत वर्षको सोही अवधिको तुलनामा २ खर्ब २६ अर्ब रुपैयाँ कम हो । गत वर्ष १४ खर्ब ३१ अर्ब व्यापार घाटा भएको थियो । त्यसो त वैशाख महिनामा मात्र घाटा १ खर्ब २१ अर्ब १९ करोड रुपैयाँ भएको पनि भन्सार विभागले जनाएको छ । विभागका अनुसार वैशाखमा १ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँको आयात हुँदा १२ अर्ब ६२ करोडको निर्यात भएको थियो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै आयातमा गिरावट आएको थियो । जस्को कारण निर्यात व्याापार झन् धेरै प्रतिशतले घट्न पुगेको कारण व्यापार घाटाको दायारा पनि विस्तार भएको हो ।
अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गर्न सरकारले चालु आवको सुरुवाती महिनाबाटै आयातमा कडाइ गरेको थियो । जसको परिणामस्वरुप १० औं महिनासम्म समेत आयातमा संकुचन जारी छ । चैत महिनामा केही बढेको आयात वैशाखमा पुनः कम भएको छ । सरकारले मंसिर मसान्तसम्म कायम आयात प्रतिवन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो । एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिवन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिवन्ध हटाएको थियो ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा १७ प्रतिशत रहेको व्यापार घाटा वैशाखसम्ममा आइपुग्दा १५.८५ प्रतिशतमा सीमित भएको छ । चालु आर्थिक वर्षको साउनमा उच्च मूल्यका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध तथा मन्दीका कारण बजारमा माग खुम्चिँदा आयात घटेको थियो । वैशाखसम्म कुल आयात १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँको भएको छ । विभागका अनुसार यो वर्षको १० महिनामा गत वर्षको तुलनामा १६.७८ प्रतिशतले आयात घटेको हो ।
आयातसँगै निर्यात पनि घटेको छ । वैशाखसम्ममा २४ प्रतिशतले निर्यात घटेको छ । साउनदेखि वैशाखसम्मको अवधिमा १ खर्ब ३० अर्ब रुपैयाँको निर्यात भएको थियो । गत वर्षको यही अवधिमा १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको थियो । आयात र निर्यात घटेसँगै अन्तर्राष्ट्रिय व्यापार १० महिनामा गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले घटेको छ । गत वर्षको साउनदेखि वैशाखसम्ममा १६ खर्ब ४ अर्ब रूपैयाँ बराबरको आयात हुँदा यस वर्ष १३ अर्ब ३५ करोड रूपैयाँ बराबरको आयात भएको हो ।
विभागका अनुसार चैत महिनामा मात्रै एक खर्ब ४३ अर्ब रूपैयाँको आयात भएकोमा वैशाखमा यसमा ६.५० प्रतिशतले कमी आएको हो । वैशाख एक महिनामा मात्रै एक खर्ब ३३ अर्ब रुपैयाँको आयात भएको छ । नेपालमा निकासीका सम्भावना भएका वस्तुको पहिचान गर्न नसकिएको र पहिचान भइसकेका वस्तु निकासीले पनि चुस्त गति लिन नसक्दा निर्याता व्यापार खस्कदो अवस्थामा रहेको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द ढकाल व्यापार घाटामा झन्झटिलो प्रक्रियाको कारण निर्यात व्यापार पछि परेको बताउँछन् ।
भारतसँग साढे ७ खर्ब व्यापारघाटा
वैशाखसम्म नेपालले छिमेकी मुलुक भारतसँग सबैभन्दा बढी करिब साढे ७ खर्ब व्यापारघाटा व्यहोरेको छ । भारतसँग ७ खर्ब ५३ अर्ब ३८ करोड रुपैयाँ बराबरको व्याापार घाटा व्यहोरेको नेपालले निकासीतर्फ पनि भारतमै सबैभन्दा बढी अर्थात् ९१ अर्ब १४ करोड ७९ लाखको निर्यात गरेको विभागले सार्वजनिक गरेको १० महिने तथ्यांकले देखाएको छ ।
भारतबाट ८ खर्ब ४४ अर्ब ५३ करोडको आयात भएको छ । उत्तरी छिमेकी चीनसँगको व्यापार घाटा १ खर्ब ७७ अर्ब ८६ करोड रहेको छ । चीनतर्फ नेपालले १ अर्ब ३५ करोठ २८ लाख रुपैयाँ बराबरको निकासी गरेकोमा चीनबाट १ खर्ब ७९ अर्ब २१ करोड रुपैयाँको आयात गरेको छ । नेपालको वैदेशिक व्यापार भएका १६७ मुलुकमध्ये अमेरिकासँग भने व्यापार सकारात्मक रहेको तथ्याकंले देखाएको छ । नेपालले अमेरिकाबाट १६ अर्ब ३० करोड ८ लाख रुपैयाँबराबरको वस्तु आयात गरी १५ अर्ब ५८ करोड ६६ लाख रुपैयाँबराबरको वस्तु निकासी गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar