काठमाडौं – सेयर बजारमा आवद्ध लगानीकर्ताहरूले पुँजी बजारकाको विकासको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी समस्या समाधान गर्न माग गरेका छन् ।
लगानीकर्ताका विभिन्न संघ संगठनका प्रतिनिधिको टोलीले बुधबार प्रधानमन्त्री दाहाललाई भेटी सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३ प्रतिशतमा झार्नेसम्मका मागहरु सम्बोधन गर्न आग्रह गरेका हुन् ।
भेटमा लगानीकर्ताले प्रधानमन्त्री दाहाललाई बजारको हालको समस्याको सम्बोधनको लागि ६ बुँदै ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर कर्जाको सीमा हटाउनेदेखि पुँजीगत लाभकर ३ प्रतिशतमा झार्नेसम्मका मागहरु रहेका छन् ।
लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने र १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनु पर्ने माग लगानीकर्ताको छ ।
त्यस्तै, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने, अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने, बढ्दो व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्ने र तरलताको समस्यालाई तत्काल समाधान गर्नुपर्ने लगानीकर्ताका माग छन् ।पछिल्लो समय विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएको लगानीकर्ताको बुझाई छ । साथै, तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्नुपर्ने लगानीकर्ताले बताएका छन् ।
नेप्सेमा दोहोरो अंकको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अंकमा पुगेको हो ।
बुधबार दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बिमा समूह ९३ दशमलव ३७ अङ्कले बढेको छ । बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अङ्कले बढेको छ ।
लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अंकले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ४६ लाख ५८ हजार छ सय ८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar