कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ मा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालयमा पढाउँछिन् ।
विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन् प्रेमा । साइकलमा ओहोरदोहोर गर्न उनले दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने बाध्यता छ । ’वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ’, उनले भनिन्, ’प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।’
लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्न उनी शुल्क तिर्ने गर्छन् । दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेका उनले बताए । ’पक्की पुल निर्माण सुरु भएको वर्षौँ भइसक्यो, काम सकिएको छैन’, उनले भने, ’पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।’
स्थानीय काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । लालझाडी गाउँपालिका–४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो ।
दिनभर काठे पुल कुर्ने उनी नदी ओहोरदोहोर गर्नेबाट शुल्क सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएका छन् । ’दिनमा दुई सय जनाभन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन’, उनले भने, ’यहीँबाट आएको पैसाले घरखर्च चलेको छ ।’
सालको काठबाट फलेक जोडेर अस्थायी पुल बनाइएको छ । पुलको टेको समेत मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय । ’वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ’, स्थानीय सेमलाल रानाले भन्नुभयो, ’काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला ?’
मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । ’बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन’, उनले भने, ’सात महिनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar