काठमाडौं – नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
घटनामा संलग्न आरोपमा पूर्व गृहसचिवसमेत रहेका उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना प्रहरीको हिरासतमा छन् । उनिहरुको प्रारम्भिक बयानको आधारमा पछिल्लो समय केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसरले बताएको छ । पक्राउ पुर्जी जारी भएलगत्तै अहिले तिनै जना आरोपी फरार छन् ।
पक्राउ पुर्जी जारी भएका हरिभक्त न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको पनि प्रहरीले बताएको छ । त्यस्तै केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले जानकारी दिए ।
त्यस्तै सन्देश शर्माले भनेअनुसार नै पीडितहरूले प्रहरीलाई उनीहरुको खातामा नगद डिपोजिट गरेको बयान दिएका छन् । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । २०७९ चैत १५ मा पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् भने सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar