वीरगञ्ज – मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।
महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिए । “जथाभावी फोहर फाल्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन”, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भने, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृतरुपमा घटेको छैन ।” त्यसैले अब फोहर फाल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरिएको उनले बताए ।
गत पुस १७ गतेदेखि हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी तीन सय ६२ जनाबाट महानगरले रु आठ लाख ७१ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । विगतमा डम्पिङसाइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङसाइड बनाएपछि फोहरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उनले बताए ।
विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । केही वर्षअघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता, माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् । आर्थिक राजधानीको रुपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवद्र्धनका लागि नगरक्षेत्रको सरसफाइलाइ उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar