काठमाडौं – एसीसी प्रिमियर क्रिकेट कपअन्तर्गत आज भएको खेलमा सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको प्रदर्शनमा कतारलाई ६८ रनले हराउँदै नेपाल सानदारले विजयी भएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको समूह ‘ए’ अन्तिम चरणको खेलमा आज सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट भएको हो । आजको जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि १५८ रनको लक्ष्य दिएको थियो । तर, कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए । एकदिवसीय क्रिकेटमा सन्दीपले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो । नेपालले खेलमा खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।
१३औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भए । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भए । खेलको १६औँ ओभरमा कप्तान रोहित पौडेल २७ रन बनाएर आउट हुन पुगे । पाँचौ विकेटका रुपमा नेपालले कुशल मल्ललाई ३ रनमा गुमायो । त्यसपछि ११ रन बनाएर सोमपाल कामी पभिलियन फर्किए भने आरिफ शेख पनि समान रन बनाउँदै आउट भए । दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले पनि खासै कमाल देखाउन सकेनन् ।
आजै मूलपानी मैदानमा जारी हङकङ र कुवेतबीचको खेलको नतिजापछि मात्र नेपालले अन्तिम चारमा खेल्ने टोलीको टुंगो लाग्नेछ । नेपालसँगै ओमान पनि अन्तिम चारमा पुगेको छ । अर्को समूहबाट यूएई पनि सेमिफाइनलमा पुगिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar