गोरखा – बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनासकारी महाभूकम्पको आज आठ वर्ष पूरा भएको छ ।
वि.सं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ः५६ मा गएको ७.८ रेक्टरस्केलको भूकम्पले देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र ४७१ जनाको निधन भएको थियो । भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिका भित्र बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो । गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।
बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar