काठमाडौं – नयाँ स्टक एक्स्चेन्जको लागि तीन कम्पनीले आवेदन दिएको छ ।
आवेदन दिने अन्तिम दिन आइतबारसम्म तीन कम्पनीले आवेदन दिएका हुन । आवेदन दिने कम्पनीमा हिमालयन स्टक एक्स्चेन्ज, नेशनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्ज रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले गत चैत ३० मा १० दिनको म्याद राखेर एउटा नयाँ स्कट एक्स्चेन्जका लागि आवेदन आह्वान गरेको थियो । अब आवेदन दिएका ३ मध्ये एउटा कम्पनीले लाइसेन्स पाउने छन् ।आवेदन दिएका हिमालयन स्टकमा हिमालयन रि इन्स्योरेन्सका संचालक मुख्य लगानीकर्ताको रूपमा रहेका छन । जसमा दीपक भट्ट, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतको लगानी छ ।
यस्तै, नेशनलमा सिदार्थ ग्रुप, अग्नी ग्रुप, दीपम तिमलसिना, एनआरएनको पूर्व अध्यक्ष जीवा लामिछाने लगायतको लगानी रहेको छ । बोर्डका अनुसार नयाँ स्टकको चुक्ता पूँजी ३ अर्ब हुनुपर्नेछ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधरणको ३० प्रतिशत लगानी रहने छ । त्यस्तै, कमोडिटी एक्स्चेन्जका लागि पनि चार कम्पनीले आवेदन दिएका छन् । बोर्डका अनुसार हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज, नेपाल मल्टी कमोडीटी एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले आवेदन दिएका छन् । बोर्डले दुई वटा कमोडिटी एक्स्चेन्जका लागि आवेदन आब्हान गरेकामा चार कम्पनीले आवेदन दिएका हुन ।
सर्वोच्च अदालतको गत चैत २६ मा नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो । धितोपत्र बोर्डले गत असोज २ मा नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ मा फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० मा सूचना जारी गर्दै वैशाख १० सम्म आवेदन दिन भनेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar