दमौली – प्रतिनिधिसभा सदस्यको उपचुनाव अन्तर्गत तनहुँ – १ को मतगणना अहिले जारी छ ।
मतगणनामा प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता छ ।
हालसम्मको मतपरिणाम हेर्दा वाग्लेले एमाले र माओवादी केन्द्र र काँग्रेसकोे समेत अधिकांश मत पाएका छन् । उता गठबन्धनको मत नपाएका भट्टराईले कांग्रेसको मत समेत जोगाउन नसकेको देखिन्छ । माओवादी केन्द्रको प्रभाव क्षेत्र भनिने आबुखैरेनीमा वाग्लेले ४ हजार ४४८ मत पाएका छन् । कांग्रेस उम्मेदवार भट्टराईले १ हजार ६५८ मत मात्र पाए । यस्तै एमाले उम्मेदवार खनालले जम्मा ५९६ मत ल्याएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा आबुखैरेनी गाँउपालिकामा माओवादी केन्द्रका शुक्र चुमानले ३ हजार ९४० मतसहीत् विजयी भएका थिए । त्यस्तै कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत ल्याएर दोस्रो हुँदा एमालेका ऋषि केसीले १ हजार ८०४ मत पाएका थिए । त्यतिबेलाको नतिजा अनुसार अहिले आबुखैरेनीमा कांग्रेसले ५ सय ४५ मत गुमाएको छ भने एमालेको १ हजार २ सय मत पनि वाग्लेतिर खनिएको देखिन्छ । माओवादीको ३ हजार ९४० मतको हिसाब पनि गोलमाल देखिन्छ ।
तनहुँ – १ माओवादी केन्द्रको उम्मेदवार नभएकाले अधिकांश मत वाग्लेलाई गएको स्थानियको गाँईगुई छ । माओवादीले समर्थन भट्टराई गरेपनी मत भने नदिएको स्पष्ट देखिएको काँग्रेस कार्यकर्ताहरुको गुनाशो छ ।
माओवादी केन्द्रले ८ सय ६९ मत ल्याएर जितेको आबुखैरेनी – १ मा १४५८ मत मध्ये वाग्लेले १ हजार ६५ मत पाएका छन् । वडाध्यक्षमा कांग्रेसले ४१५ मत पाए पनि अहिले भट्टराईले २७६ मत मात्र पाए भने ३३१ मत ल्याएको एमालेले अहिले ५४ मत मात्र पायो । वडा नम्बर १ मा कांग्रेसले ३४ प्रतिशत मत लुज गर्दा एमालेले १६ प्रतिशत मात्र मत जोगाउन सकेको देखिन्छ । यद्यपि स्थानीय तह निर्वाचनमा एमाले र गोविन्दराज जोशी समूहको तालमेल थियो । अहिले जोशी समूहले वाग्लेलाई समर्थन गरेकाले एमालेका खनालले न्यून मत पाएको पनि हुन सक्छ ।माओवादीको सबै जसो मत वाग्लेलाई ओइरिएको बुझ्न गाह्रो छैन ।
माओवादी केन्द्रले जितेको आबुखैरेनी – २ मा १३९२ मतमा वाग्लेले ८८१ मत पाउँदा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानको वडामा गठबन्धनका उम्मेदवार भट्टराईले ३३६ मत मात्र पाए । तर २ नम्बरमा माओवादीको ६६७ र कांग्रेसका ४९५ मत थियो । एमालेको समर्थनमा जोशी समूहले ३०५ मत पाएको थियो । अहिले एमालेले १०८ मत पाएको छ ।
कांग्रेसले वडाध्यक्ष जितेको आबुखैरेनी – ३ मा २१७३ मत मध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् । कांग्रेसका वडाध्यक्षले १ हजार ८ मत पाएकोमा अहिले भट्टराईले जम्मा ४०१ मत मात्र पाए भने एमालेका खनालले १९१ मत ल्याएका छन्। कांग्रेसले आफ्नो प्रभाव वडामा समेत मत जोगाउन सकेको देखिँदैन । माओवादी केन्द्रका विमल बाबु रानाले ६ सय ५ मत र एमालेका पूर्णबहादुर आलेले ४ सय ४९ मत प्राप्त गरेका थिए।
आबुखैरेनी – ४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्। आबुखैरेनीको – ४ मा कांग्रेसले ४ सय ३३ मत ल्याएर जितेको थियो भने माओवादी केन्द्रको २ सय १९ मत थियो । जोशी समूहको समर्थनमा एमालेले १ सय ७६ मत पाएका थिए।
आबुखैरेनी – ५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्। स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले २ सय ८८ मत जित्दा २८० मत ल्याएर एमाले दोस्रो स्थानमा थियो । वडाध्यक्षमा २ सय ६९ पाएको कांग्रेसले अहिले माओवादीको साथ पाउँदा पनि भट्टराईले जम्मा १४९ मात्र पाए ।
एमाले २९० मत ल्याएर जितेको आबुखैरेनी – ६ मा अहिले एमाले उम्मेदवार खनाल तेस्रो स्थानको मत पाए । ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्। माओवादी केन्द्र ३ सय ८७ र कांग्रेसको २ सय ८७ मत थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar