काठमाडौं – वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् ।
आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका छन् । उनीहरु सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन् । अहिले विभागबाट आरोहण अनुमति धमाधम लिइरहेका छन् । केही आरोही बीचबाटोमै छन् ।
विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सर्वोच्च शिखर सगमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिए । उनले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताए । यो याममा सगरमाथा आरोहणका लागि उत्साहवद्र्धकरुपमा धमाधम आरोही आइरहेको उनको भनाइ छ ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविरभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घ (एक्सपीडिसन अपरेटर्स एशोसिएसन)ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो याममा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो ।
एसपिसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आधार शिविरमा ३० आरोही समूहका आरोही पुगिसकेका बताए । केही आरोही बीचबाटौमै छन् । सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका पर्यटकले यतिखेर खुम्बुक्षेत्र भरिभराउ भएको अध्यक्ष शेर्पाले बताए ।
सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवद्र्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्केत देखिएको बताए ।
पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रुसका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar