विराटनगर – विद्युत् आतंकवीरुद्ध मोरङ व्यापार संघलेआज विद्युत् प्राधिकरण घेराउ गरेका छन् ।
संघले आज (आइतबार) तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म हुँदै आएको अनियमित विद्युत् कटौतीले उद्योग चौपट भएको भन्दै प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गर्दै ग्रिडमा धर्ना दिएका हुन् । धर्नाका क्रममा उद्योगीले विद्युत् कटौती तालिका सार्वजनिक गर्, जथाभावी विद्युत् काट्न पाइँदैन, उद्योग मार्न पाइँदैन, कुलमान घिसिङ राजीनामा दे जस्ता नारा लगाएका थिए । उनीहरुले विद्युत् कटौतीको तालिका सार्वजनिक नगरेसम्म घेराउ कार्यक्रम जारी रहने बताए।
दैनिक ८ देखि १२ घण्टासम्म सूचनाबिना हुँदै आएको अनियमित विद्युत् आपूर्तिका कारण उद्योगको उत्पादन प्रक्रिया प्राय ठप्प रहेको र औद्योगिक कच्चा पदार्थ खेर जाने तथा मेसिनरी सामान बिग्रिने गरेको संघका अध्यक्ष नविन रिजालले बताए । उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य समेत रहेको रिजालका अनुसार लामो समयदेखि बजारमा रहेको मन्दी, बैंकको चर्को ब्याजदरको पीडा झेल्दै आएको औद्योगिक क्षेत्रले पछिल्लो पटक अनियमित विद्युत् आपूर्तिकै कारण उत्पादन लागत समेत बढेको छ । उत्पादित वस्तुको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामै ह्रास आएको, श्रमिक व्यवस्थापनमा समस्या भएपछि कार्यालय घेराउ गर्न बाध्य भएको उनले बताए ।
विद्युत् प्राधिकरणले सूचना नदिई दैनिक लामो समय आपूर्ति बन्द गर्दा सुनसरी मोरङ औद्योगिक क्षेत्र प्राभावित भई ६० प्रतिशतसम्म उत्पादन कटौती भएको संघका पूर्वअध्यक्ष पवन सारडाले बताए । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा पुसदेखि नै अनियमित विद्युत् आपूर्ति, ट्रिपिलिङ र लोभोल्टेजको समस्या छ । पछिल्लो समय बढेको अनियमित विद्युत् आपूर्तिका कारण अधिकांश उद्योग दैनिक ८ देखि १२ घण्टा बन्द हुने गरेको उद्योगी बताउाछन् । मजदुरको व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै सारडाले भने ‘सञ्चालनमा रहेका उद्योगले पनि ६० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् ।’
उद्योगीले प्राधिकरणसँग नयाँ र फरक माग नगरेको भन्दै संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले विद्युत् कटौतीको तालिका दिँदा व्यवस्थापन सहज हुने बताए । तालिका भएमा मजदुरलाई उद्योगमा कामका लागि बोलाउन, घर पठाउन, उपकरण सञ्चालनको समय निश्चित गर्न, कच्चा पदार्थको व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । करिडोरमा साना ठूला ५ सय उद्योग छन् । प्राधिकरणलाई नै अनियमित रुपमा विद्युत् आपूर्ति हुने गरेकाले कटौतीको तालिका सार्वजनीक गर्न सक्ने अवस्था नरहेको दुहवी ग्रिडका प्रमुख रोशन खड्काको भनाइ छ । ‘ग्रिडलाई नै नियमित रुपमा विद्युत् आपूर्ति हुने गरेको छैन,’ उनले भने ‘दिउँसो उपलब्ध हुने विद्युत् साँझमा उपलब्ध हुँदैन । साँझमा उपलब्ध हुने दिउँसो उपलब्ध हुँदैन ।’ यस्तो अवस्थामा विद्युत् कटौतीको तालिका प्राधिकरणले सार्वजनिक गर्न सक्दैन ।
खड्काका अनुसार पूर्वमा हाल सरदर दुई सय मेगावाट विद्युत् मात्र आपूर्ति छ । तर माग २ सय ७० मेगावाट छ । त्यसैले विद्युत् आपूर्तिमा समस्या भएको उनको भनाइ छ । रुपनीका दुई सर्किटबाट तीन सय मेगावाट विद्युत् आयत हुँदै आएकोमा १३२ केभी प्रसारण लाइनको एक सर्किटको ब्रेकर पड्केर विद्युत् आपूर्ति अवरुद्ध हुँदा आधाभन्दा कम आयात भएको खड्काले बताए । उनका अनुसार कटैयावाट ८० मेगावाट आयात भइरहेको छ । पानीको लेवल घटदा कावेली करिडोरबाट उपलब्ध हुने २ सय मेगावाट मध्ये ३० मेगावट मात्र उपलब्ध हुँदै आएको छ । कोशी करिडोरबाट ५० मेगावाट विद्युत् उपलब्ध हुनुपर्नेमा ७ मेगावाट मात्र उपलब्ध छ । कटैयाबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यो विद्युत् नआएसम्म र वर्षा नभएसम्म विद्युत् कटौतीको समस्या कायमै रहने खड्काले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar