सुनसरी – धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कार्यपालिका बैठक बहिष्कार गर्ने जति सबै जनप्रतिनिधिले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन् ।
साम्पाङले कार्यपालिका बैठक बहिष्कार गर्ने जति सबै जनप्रतिनिधिले तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले पटक – पटक बोलाएको बैठकमा वडाध्यक्षहरू नआएपछि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा मागे ।
गत चैत १ मा कार्यपालिका बैठकमा प्रमुख साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले पठाएको पत्रको विषयमा वडाअध्यक्षहरूले कुरा उठाएपछि बैठक अघि बढ्न सकेको थिएन । उक्त बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो । सोही दिन वडाअध्यक्षहरूले पत्रकार सम्मेलनमार्फत विभिन्न ५ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका थिए ।
फेरि प्रमुख साम्पाङले बुधबार बोलाएको बैठकमा वडाअध्यक्षहरू उपस्थित नभएपछि राजीनामा माग गरेको विज्ञप्तिमा उल्लेख छ । वडाध्यक्षहरूले साम्पाङसँग यसअघि भएको छलफलमा बैठक बोलाउनुअघि पुनः समन्वय र छलफल गर्ने आश्वासन दिए पनि बिना समन्वय बैठक बोलाएको र आफूहरूको मागको सम्बोधन नभएकाले बैठकमा सहभागी नभएको प्रवक्तासमेत रहेका धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले बताए ।
बोलाएको बैठक नै नबसेपछि साम्पाङले विज्ञप्तिमा भनेका छन्, ‘केही महिनादेखि बिनाखास कारण पटक – पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि खेलवाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु ।’ उनले संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकाले वडाहरूमा के कस्ता काम भएका छन्, तुरुन्तै सार्वजनिक गर्न पनि उक्त विज्ञप्तिमार्फत निर्देशन दिएका छन् ।
उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ को उपधारा ४ क को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषाशैली प्रयोग गरेर भाँडभैलो मच्चाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नुपर्ने कुनै कारणसमेत नरहेको जनाए ।
उनले भनेका छन्, ‘धरान उपमहनगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ अनुसार बैठकलाई सुव्यस्थित गर्ने अधिकार प्रयोग गरेको हुँ । सोही धाराको उपधारा २ मा दिएको बैठक अध्यक्षता गरिरहेको नगरप्रमुखको सामुन्ने अवज्ञा गर्दै भाँडभैलो गर्नु विधिको उल्लंघन हो ।’ उनले सोही दफाको उपदफा ३ र ४ मा दिएको अधिकार प्रयोग गर्दै धेरै नबोल्नु समय सकियो भन्दा ‘बोल्छु के गर्छस्’ भन्दै उफ्रनुले त्यस्ता सदस्यको स्पष्टीकरण माग गर्नै पर्ने दाबी गरेका छन् । उनले पालिकामा खाएको शपथको विपरीत पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मान्ने र जनताका विकासका कामहरू गर्न गराउन निर्णय गर्नुपर्ने महत्त्वपूर्ण बैठक बहिष्कार गर्नेहरूप्रति खेद प्रकटसमेत गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘स्थानीय तह सञ्चालन ऐन २०७४ को धारा १६ को उपधारा ४ को ‘घ’ को १ अनुसारको कर्तव्य पूरा नगरेकाले तुरुन्तै सच्चिएर बैठकमा उपस्थित हुन आह्वान गर्दछु । कसैले म बैठक बस्दिनँ भन्न पाइन्न । त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न अक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’ वडाध्यक्षहरूले भने नगरप्रमुख साम्पाङले उपमहानगरलाई जनप्रतिनिधिमूलक संस्था नबनाएर जंगबहादुरको अड्डा बनाएको आरोप लगाएका छन् । उनीहरूले पाँचबुँदे मागमा भनेका छन्, ‘मुनासिव कारणबिना झूटो आरोप लगाई तथा ऐनविपरीत वडाध्यक्षलाई मागिएको स्पष्टीकरणउपर नगरप्रमुख हर्कराज साम्पाङ राईले आत्मआलोचना गरी सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’
अयोग्य स्वकीय सचिवमार्फत वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्राचार गर्न लगाई आफ्नो पदको दुरुपयोग गरेकोमा आत्मआलोचनासहित भूल सुधार गर्नुपर्ने र लेटरप्याड, पद र अधिकार दुरुपयोग गर्ने स्वकीय सचिव लिम्बूलाई कारबाही गर्नुपर्ने वडाध्यक्षहरूको माग रहेको छ । संघ तथा प्रदेशबाट आउने योजनाको सिफारिस रोक्का गरी धरानको विकासमा अवरोध सिर्जना गरेकाले तुरुन्त संघ तथा प्रदेशको योजनाको मागको सिफारिस गर्नुपर्ने पनि वडाध्यक्षहरूले माग गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar