काठमाडौं– दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो ।
यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।
पछिल्ला वर्षमा वायु प्रदूषण र जथाभावी बोटबिरुवा मासिँदै जाँदा त्यसको असर मह उत्पादनमा समेत देखिएको घोराही उपमहानगरपालिका–१६ सर्रामा २०६१ सालदेखि नियमित रुपमा मौरीपालन गर्दै आउनुभएका दाङ हनी प्रोडक्सनका रामहरि शर्माले बताए ।
“पछिल्ला वर्षहरुमा प्लटिङ बढेको, फूल फुल्ने रूख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौती थपिएको छ”, उनले भने, “पर्याप्त स्रोत पु¥याउन मौरीमय बिरुवा रोपणमा ध्यान दिनुपर्ने बेला भएको छ । मौरीपालनका लागि सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुको स्रोतको विकास हुनुपर्छ ।” दाङको घोराही क्षेत्रमा चिउरीको पुष्परस र तुलसीपुर क्षेत्रबाट तोरीको पुष्परसबाट मह उत्पादन धेरै हुने गरेको उनको भनाइ छ ।
नेपाल मौरीपालक महासङ्घ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको सङ्ख्यामा कमी नआएको महासङ्घले जनाएको छ । पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरीपालक किसान मारमा परेको २० वर्षदेखि मौरीपालन गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका चेतमान भण्डारीको भनाइ छ ।
मौरीले महको स्रोतबाट २० प्रतिशत महका लागि र ८० प्रकृति संरक्षणका लागि योगदान हुने गरेको दाबी गर्छन् घोराही–१७ गुलरियामा १७ वर्षदेखि मौरीपालन गर्दै आएका मदन न्यौपाने ।
यो पटक असोजको पानीले चिउरी फुलेन । चैतको पानीले सिसौको फूल बिगा¥यो । हिउँदमा पानी परेन । गोभी तोरी भएन । ६ महिना जिल्लाबाहिर चरनका लागि लैजानुपर्ने बाध्यता भोग्दै आएका किसानमध्ये एक सय ५० माहुरीपालक महासङ्घ दाङमा आबद्ध छन् भने १५ हजार बढी घार मौरी छन् ।
गत वर्षकै १० टन बिक्री गर्न नसकेका किसानको यो वर्ष पनि सय टन बढी मह मौज्दात छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar