काठमाडौं – नेकपा एमालेका नेता नरेश खरेलले एमाले परित्याग गरेका छन् ।
उनले पार्टीभित्र स्वेच्छाचारिता बढेको भन्दै सोमबार एमाले परित्याग गरेकाे घोषणा गरेका हुन् । नेता खरेल झापा आन्दोलनको पृष्ठभूमि भएका र १७ वर्ष जेल बसेका थिए । उनीसँगै त्यस क्षेत्रका अन्य केही नेता तथा कार्यकर्ताले पनि एमाले त्यागेका छन् । नेता खरेलसहित एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीमप्रसाद लुईटेल, साजत आलम र आवलोदिन मियाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
एमाले र माओवादी केन्द्रबीचको एकतापछि जनता र कार्यकर्तामा खुसीयाली छाएको र मुलुकले स्थिरता प्राप्त गर्ला, देशमा भएको राजनीतिक परिवर्तन अनुरुप आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण होला भन्ने आफूहरुले आशा लिएको उनीहरुद्वारा जारी वक्तव्यमा भनिएको छ ।‘तर आम नेपाली जनता र इमानदार कार्यकर्ताको आशा विपरीत पार्टी नेतृत्वमा देखापरेको गुटबन्दी, दम्भ र अहंकार तथा अन्तरद्वन्द्वले, संसद् विघटन हुँदै पार्टी तीन टुक्रामा विभाजित हुन पुग्यो’, वक्तव्यमा भनिएको छ ।
पार्टी नेतृत्व आफ्ना गल्ती कमजोरी सुधार गर्दै पार्टीलाई एकताबद्ध पार्नुको सट्टा अझ निरंकुश बन्ने र फरकमत राख्ने नेता कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लिन रहेको उनीहरुको आरोप छ । ‘पार्टीमा इमानदार नेता कार्यकर्तालाई पाखा लगाउने र दक्षिणपन्थी र यथास्थितिवादी शक्ति र व्यक्तिसँगको साठगाठ अझ दरिलो बन्दैछ । यस्ता गतिविधिहरु टुलुटुलु रमिता हेर्न हामीले उचित ठानेनौँ । त्यसैले नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहने घोषणा गर्दछौँ’, वक्तव्यमा भनिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar