काठमाडाैं – महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन् ।
शुक्रबार, महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको मूल्यांकन गरी प्रक्रियागत रूपमा नै टुंग्याएको दाबी गरेका हुन् । उनले राहदानीका विषयमा अदालतले प्रक्रियागत त्रुटि छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रूपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने निर्णय लिएको बताए ।
पोखरेलले राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभई विवेकपूर्ण रूपमा गरिएको बताए । उनले अदालतको फैसलाले नै कतैपनि प्रक्रियागत त्रुटि रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताए । उनले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गरे ।
महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरूले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाका लागि आवश्यक काम गरिरहेको स्पष्ट पारे । उनले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुने पनि बताए ।
महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने भन्नेकुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar