काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न सुरु गरिएको भन्दै यसलाई रोक्न माग गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै पाण्डेले बञ्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्ने भनिएपनि अव्यवस्थित रुपमा फोहोर फाल्न सुरु गरिएको भन्दै त्यसलाई रोक्न संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै उनले एक पटक संसदीय टोली अनुगमनका लागि पठाउनुपर्ने माग गरे ।
बैठकमा उनले भने, ‘एउटा संसदीय टोली बनाएर फोहोरमैला कसरी व्यवस्थापन भइरहेको रहेछ, कति अव्यवस्था रहेछ हेर्नुपर्यो ।’ पहिले सिसडोलमा जसरी फोहोर फालिएको थियो अहिले बञ्चरेडाँडामा पनि त्यस्तै अव्यवस्थित ढंगले फोहोर फ्याँकिएको सांसद पाण्डेले बताए । ‘वैज्ञानिक व्यवस्थापन गर्ने भनिए पनि फोहोरबाट निस्कने झोल पदार्थ जताततै फ्याँकिएका छन् । घरमा बस्न नसकिने अवस्था छ’, उनले भने ।
स्थानीय युवाले फोहोरमा बस्न सक्दैनौं भन्दा उल्टो प्रहरीले वारेन्ट जारी गरेको भन्दै सांसद पाण्डेले ती वारेन्टहरु खारेज गर्नुपर्ने बताए । बञ्चरेडाँडा क्षेत्रमा चिल र गिद्धले फोहोरमा आउने मासुका टुक्रा नजिकका घरको छानामा लैजाने गरेको भन्दै पाण्डेले त्यस क्षेत्र हवाइ रुट पनि पर्ने हुनाले चराका कारण दुर्घटना हुन सक्ने खतरा औंल्याए ।
स्थानीय कोल्पुखोलामा फोहोरको लिचेड बगाउन बन्द गर्नुपर्ने, बञ्चरेडाँडा क्षेत्रमा जाने सडक कालोपत्रे हुनुपर्ने, त्यहाँका विद्यालयमा शिक्षक दरबन्दी दिनुपर्ने र स्वास्थ्य उपचारको प्रबन्ध हुनुपर्ने सांसद पाण्डेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar