रौतहट – आफ्नो सट्टामा ज्वाइँलाई एसईई परीक्षा दिन लगाएपछि विवादमा तानिएका देबाही गोनाही नगरपालिका प्रमुख प्रेमलाल साह कानुले कानुनी कारबाहीबाट जोगिन नगरपालिकाको लेटरप्याड दुरुपयोग गर्दै विज्ञप्ति निकालेका छन् ।
मेयर प्रेमलाल साह कानुको एसईई परीक्षा फर्जी रुपमा दिँदै गरेका उनका ज्वाईँँ कमल साह सोमबार पक्राउ परेका थिए । ‘खेताला’को रुपमा परीक्षा दिएका उनका ज्वाईँँले भने प्रहरी र सरकारी वकिलको कार्यालयमा ससुराको साट्टामा आफूले परीक्षा दिएको बयान दिएका छन् । घटनापछि परीक्षा केन्द्रका केद्राध्यक्षसमेत हटाइएका छन् ।
मौलापुर नगरपालिकास्थित श्री लक्ष्मिनिया मावि परीक्षा केन्द्रबाट आफ्नै ससुरा देवाही गोनाही नगरपालिकाका प्रमुख कानुको सट्टामा परीक्षा दिइरहेका गरुडा नगरपालिका – ६ पोठियाहीका कमल साह (सिम्बोल नम्बर ३५०३७२८) लाई जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वको परीक्षा अनुगमन टोलिले पक्राउ गरेको थियो । नक्कली परीक्षार्थीबारे सूचना पाएपछि प्रशासनको टोली मौलापुर पुगेको हो । ज्वाईँ पक्राउ परेलगत्तै नगरप्रमुख कानु सम्पर्कमा आउन चाहेनन् । उनले नगरपालिकाको लेटरप्याडको दुरुपयोग गर्दै सोमबार साझ चलानी नम्बर ९३२ राखेर विज्ञप्ति निकाली आफूले एसईई परीक्षाको फारम नै नभरेको दाबी गर्दै चरित्रहत्या गर्न र षड्यन्त्रपूर्वक फसाउन चाल चलेको बताए ।
उनले नगरप्रमुखको रुपमा निर्वाचित भई जनताको काममा लागेको र अहिले जनप्रतिनिधिहरुलाई शैक्षिक प्रमाणपत्रको आवस्यक नै नभएको भन्दै आफूले एसईई परीक्षा फारम नै नभरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । मौलापुरस्थित पथराबुधराम माविका लेखापाल भगत साहले भने नगरप्रमुख कानुले गत वर्ष नै कक्षा ९ मा भर्ना गरेको पुष्टि गरेका छन् । ‘नगरप्रमुख कानु भर्ना भएर पनि कक्षामा सामेल भएनन्,’ उनले भने, ‘उनी भर्ना भएको साँचो हो ।’ ज्वाईँ पक्राउ परेपछि आफूलाई चोख्याउन उनले सोमबार दिनभर विज्ञप्ति र समाजिक सन्जालमा भिडियो पोष्ट गर्न लगाएका छन् ।
रेडियो नेपालको बर्दिवास उपशाखा कार्यालयमा पाँचौं तहमा कार्यरत ज्वाईँ कमल साहलाई नगरप्रमुख कानुले परीक्षा दिनकै लागि शनिबार बोलाएका थिए । पक्राउ परेका साहले जिल्ला प्रहरी र सरकारी वकिलको कार्यालयमा ससुराले एसईई परीक्षा दिनकै लागि बोलाएर आफू आएको बताए । नगर प्रमुख जस्तो व्यक्तिले एसईईमा आफ्नै ज्वाईँलाई नक्कली परीक्षार्थी बनाएको खुलासा भए पनि प्रहरीले पक्राउ नगरेको भन्दै उनकै गाउँका स्थानीय युवाहरुको एक समूहले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनय सिंहलाई ज्ञापनपत्र बुझाउँदै नगरप्रमुख कानुलाई कानुनी दायरमा ल्याउन माग गरेका छन् ।
नगर प्रमुखका ज्वाईँलाई मिलोमतोमा परीक्षा दिन लगाएको आशंकामा परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहलाई हटाइएको प्रजिअ मिश्रले बताए । ‘हामीले केन्द्राध्यक्ष साहको मिलोमतो हुनसक्ने आंशमा अनुसन्धानका दायरामा राखेर उनलाई हटाएका छौं,’ उनले भने, ‘मिलोमतो नभई त्यसरी अर्काको परीक्षा दिन बस्ने हिम्मत नै हुँदैन ।’ जिल्ला प्रशासनले परीक्षा केन्द्रका गार्ड लगायतका व्यक्तिहरुको अनुसन्धान गर्न जिल्ला प्रहरीलाई पत्राचार गरेको जनायो । परीक्षा हलका परीक्षार्थीको उत्तर पुस्तिकामा केन्द्राध्यक्षले हेरेर हस्ताक्षर गर्नुपर्छ । तर उनकै मिलेमतोमा नगरप्रमुख कानुले आफ्नै ज्वाईँलाई परीक्षा दिन लगाएको हुनसक्ने प्रशासनको आशंका छ । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले परीक्षासँग सम्बन्धीत सबै कागजातहरु झिकाइएको बताए ।
‘हामीले अनुसन्धान सुरु गरिसकेका छौ,’ उनले भने,‘नक्कली परिक्षार्थी बन्ने र बनाउन सहयोग गर्ने सबैलाई कानुनको दायरामा ल्याउँछौं ।’ सिम्बोल नम्बर ३५०३७२८ का विद्यार्थी नगरप्रमुख कानु नै भएको प्रवेश पत्र र अन्य कागजातहरुले समेत पुष्टि गरेको प्रहरीको भनाइ छ । प्रवेश पत्रमा लेखिएको जन्ममिति, बुवाको नाम बनवारी साह आमा दया देवी र ठेगाना देवाही गोनाही नगरपालिका– ९ ले पनि नगरप्रमुख कानु आफैंले एसईईको परीक्षामा ज्वाईँ राखेको प्रष्ट भएको छ । परीक्षा दिने र दिलाउने दुबैलाई ६ महिना कैद, एक लाख सम्म जरिवाना वा दुबै हुनसक्ने कानुनी प्रावधान रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar