काठमाडौं – आज बिहान बसेको गठबन्धनको बैठक फेरि निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक भागबण्डा नमिलेपछि निष्कर्षविहीन भएर फेरि दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
मंगलबार पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३ – ३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,लोसपा अध्यक्ष महन्थ ठाकुर,जनमत अध्यक्ष सिके राउतलगायत नेता सहभागी थिए ।
यसअघि दाहाल नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो। तर,गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका जनमोर्चाबाहेक दललाई सरकारमा सहभागी गराउन खोजेका छन् ।
प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्रीसहित ८, माओवादीलाई ४ मन्त्रालय, जसपा र नेकपा एसलाई २ – २ मन्त्रालय र १ राज्यमन्त्री दिने गरी खाका तयार गरेका छन् ।
यीबाहेक लोसपा,जनमत, नागरिक उन्मुक्तिलाई १–१ मन्त्रालय दिएर सरकारमा सहभागिता गराउने प्रयत्न प्रचण्डले गरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar