काठमाडौं – दुर्गा प्रसाईको अगुवाईमा गरिएको लघुवित्त विरुद्धको आन्दोलनमा खर्च जुटाउनुपर्ने भन्दै पीडितहरुबाटै पैसा असुली हुँदै आएको भेटिएको छ ।
लघुवित्त वित्तीय संस्थाबाट लिएको ब्याज र साँवा मिनाहा गराइदिने प्रलोभन देखाउँदै संघर्ष समितिका नाममा सदस्यताका लागि भनेर पीडितबाटै चन्दा असुली गरेको प्रमाण भेटिएको हो । लघुवित्त संस्था विरुद्धको संघर्ष केन्द्रिय समितिको रसिदमा हरेक सदस्यबाट ५ सय रुपैयाँका दरले चन्दा असुली गरेको देखिएको छ ।
प्राप्त रसिदमा केही महिनायता धेरै स्थानमा यसरी चन्दा उठाउने प्रवृत्ति देखिएको पाइएको छ । कपिलवस्तु चन्द्रौटा ६ का मणिराम कोरीले आन्दोलनका लागि भन्दै आफ्नो गाउँबाट ५ /५ सय रुपैयाँ असुल गरिएको बताए । ‘आन्दोलन गर्न भन्दै गाउँका सबै घरबाट ५ सय रुपैयाँ असुल गरिएको थियो, ऋण नलिएकाबाट पनि जबरजस्ती पैसा लिएका हुन् ।’ उनले भने ।
उक्त समूहले रसिद नै काटेर चन्दा असुली गरिरहेको र संघर्ष समितिको सदस्य प्रमाणपत्र तथा परिचय पत्र पनि वितरण गरिरहेको छ । वित्तीय संस्था विरुद्ध अराजक गतिविधिमा नलाग्न र संस्थाहरुले निर्देशित सीमा भन्दा बढी ब्याज असुली गरे उजुरी गर्न राष्ट्र बैंकले चेतनामुलक सन्देश जारी गरेको छ । तर, गाउँगाउँमा भने आन्दोलनका लागि भन्दै पीडितबाट चन्दा उठाउने समूह सक्रिय रुपमा लागेको छ ।
लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा बढी ब्याजदर असुली गरे उजुरी गर्न राष्ट्र बैंकले आम सर्वसाधारणलाई आग्रह गरिरहेको छ । राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै उजुरी गर्न र लिएको पाइए कारबाही गर्ने बताउँदै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar