काठमाडौं – गएको डेढ वर्षमा सेयरधनीको सम्पत्तिको मूल्य करिब साढे १५ खर्ब रुपैयाँले घटेको छ ।
०७८ भदौदेखि गत सोमबार (फागुन १५) सम्ममा दोस्रो बजारमा सूचीकृत सेयरको मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो । करिब अठार महिनाको अवधिमा सेयर बजारको आकार अथवा कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) करिब १५ खर्ब ४६ अर्ब रुपैयाँले घटेको छ ।
यसको अर्थ सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको भन्ने हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम थियो । सोमबारसम्म आइपुग्दा यो २९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । सोमबारसम्मको कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै अवस्थाको तुलनामा करिब साढे १५ खर्ब रुपैयाँले कम हो । ०७८ भदौ २ मा कुल बजार पुँजीकरण हालसम्मको सबैभन्दा धेरै ४४ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो ।
गत वर्षको भदौ २ मै नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९ बिन्दु) मा थियो । नेप्सेको अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यतिबेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि बजार ओरालो लाग्न थाल्यो । यही कारण उच्च बिन्दुको तुलनामा अहिले नेप्से करिब ६३ प्रतिशत र कुल बजार पुँजीकरण करिब ६५ प्रतिशतले घटिसकेको छ ।
सरकार र नियामक निकायद्वारा हचुवाका भरमा नीति परिवर्तन गर्ने प्रचलन नै सेयर बजारमा उच्च गिरावटको प्रमुख कारण भएको उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलले बताए । ‘राष्ट्र बैंकले कुनै समयमा सेयर कर्जामा ४/१२ करोडको सीमा तोक्यो । यसले बजारलाई नराम्ररी प्रभावित बनायो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त सीमा परिमार्जन गरेर १२ करोड मात्र बनाइयो । धितोपत्र बोर्डले पनि विभिन्न नीतिगत परिवर्तन गर्यो भने ५१ वटा कम्पनीको वित्तीय सूची नै प्रकाशित गर्यो,’ उनले भने, ‘नीतिमा एकरूप नहुनु (नीतिगत अस्थिरता) नै सेयर बजार धेरै अंकले घट्नुको प्रमुख कारण देखिन्छ ।’
यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चिति निरन्तर रूपमा घट्न थालेपछि ‘अब अर्थतन्त्र संकटमा जान्छ, श्रीलंका बन्छ’ लगायत हल्ला चले । यी हल्ला र राजनीतिक अस्थिरताले लगानीकर्ताको मनोबल घटाएकाले बजार प्रभावित भएको पौडेलको तर्क छ । ‘अब मुलुक श्रीलंका बन्छ, नेपालसँग औषधि किन्न सक्ने पैसा पनि हुँदैन, अर्थतन्त्र संकटको संघारमा छ जस्ता प्रचार धेरै गरियो,’ उनले थपे, ‘ती प्रचार सेयर बजारका लागि नकारात्मक टिप्पणी थिए ।’ यसअघिको उच्च बिन्दु १ हजार ८ सय ८१ बाट बढेर नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुग्दा करिब १ हजार ३ सय अंक बढिसकेको थियो । यसकारण बजारमा करेक्सन आवश्यक थियो । तर नीतिगत अस्थिरता र नियामक निकायका कदमले ‘करेक्सन’ आवश्यक क्षेत्रमा नभएर अरू नै क्षेत्रमा हुँदा बजारमा असर पार्यो । ‘पछिल्लो १० महिनामा मात्र नेप्से परिसूचक करिब ४४ प्रतिशत घटिसकेको छ । उक्त अवधिमा सेयर कर्जा पनि १ खर्ब ६ अर्ब रुपैयाँबाट घटेर ७८ अर्बमा झरिसकेको छ’ उनले भने, ‘लगानीकर्ताको मनोबल बढाउन सरकार र नियामक निकायले नीतिगत पहल गर्न सक्छ ।’
नेप्सेमा सूचीकृत कुल सेयरलाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ, जसलाई सेयर बजारको आकार भनिन्छ । सेयर मूल्य बढेको अवस्थामा कुल बजार पुँजीकरण पनि बढ्छ । घटेको अवस्थामा पुँजीकरण पनि घट्छ । हाल सेयर बजार घट्दो क्रममा रहेकाले कुल बजार पुँजीकरण पनि निरन्तर रूपमा घटिरहेको देखिन्छ ।
यो वर्ष स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सेयर बजार पनि बढ्ने अपेक्षा गरिएको थियो । निर्वाचनपछि थप पाँच वर्षका लागि स्थायी सरकार अपेक्षा गरिए पनि त्यो हुन सकेन । अहिले पनि राजनीतिक उथलपुथल कायमै छ । मुलुकमा आर्थिक गतिविधि सुस्ताएको छ भने पुँजीगत खर्च बढ्न सकेको छैन । राजस्व संकलन घटेको छ । केही वर्षदेखिको तरलता अभावको समस्या समाधान भएको भनिए पनि बैंकमा कर्जा माग बढ्न सकेको छैन । ब्याजदर अकासिएको छ । सरकारले मुलुकको आर्थिक समृद्धिलाई प्राथमिकता दिइएको भनिए पनि व्यवहारमा त्यो देखिएको छैन । यही कारण सेयर बजारमा अपेक्षाकृत तरंग आउन नसकेको जानकारहरू बताउँछन् । बजारले निरन्तर अपेक्षाविपरीत वियरिस (घट्दो) प्रवृत्ति देखाउन थालेको छ । सोमबारसम्म नेप्से परिसूचक २ हजार २३ बिन्दुमा बन्द भएको छ । यो हालसम्मको उच्च बिन्दु ३ हजार १ सय ९९ अंकको तुलनामा १ हजार १ सय ७६ अंकले कम हो ।
यतिबेला बैंक ब्याजदर उच्च छ । ब्याजदर वृद्धिको पहिलो र प्रत्यक्ष असर सेयर बजारमा पर्छ । सामान्यतया ब्याजदर वृद्धि र सेयर बजारबीच उल्टो सम्बन्ध रहन्छ । यसको अर्थ बैंक ब्याजदर बढ्दा नेप्से घट्छ र घट्दा बजार बढ्छ भन्ने हो । जोखिमका हिसाबले सेयर बजारको तुलनामा बैंक निक्षेप सुरक्षित मानिन्छ । यसकारण ब्याजदर बढेको अवस्थामा पैसा बैंकमा राख्दा जोखिमबिना राम्रो प्रतिफल पाइने भएकाले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने गरेको हो ।
बजार घट्दा सेयर धितोमा कर्जा लिएका लगानीकर्तालाई बैंकहरूले मार्जिन बुझाउन बोलाउने गरेको लगानीकर्ताहरू बताउँछन् । ‘बजार लगातार रूपमा घट्न थालेपछि बैंकहरूबाट आउने मार्जिन कल बढ्न थालेको छ । यसले बजारमा बिक्री चाप (पेनिक सेल) बढाएको छ,’ नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘लगानीकर्ता बाध्य भएर नोक्सान व्यहोरेरै भए पनि सेयर बिक्री गरिरहेका छन् ।’ दुई वर्षअघि ६/७ प्रतिशत ब्याजदरमा लिएको सेयर कर्जाको ब्याज अहिले १६/१७ प्रतिशत पुगेको उनले बताइन् । ‘एकातिर बजार बढ्न सकेको छ्रैन । अर्कोतिर उच्च ब्याजदरले लगानीकर्ताको कर्जा भुक्तानी क्षमतामा ह्रास ल्याएको छ,’ उनले भनिन् । यस्तो अवस्थामा सरकार र नियामक निकायको प्राथमिकतामा सेयर बजार नपर्दा लगानीकर्ता चिन्तित भएको उनले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar