काठमाडौं – राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगिरहेका बेला नेपाली काँग्रेसले भने पुनः पाँच दलीय गठबन्धन ब्यूँताउने प्रयास गरिरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले गत पुस १० गते पाँचदलीय गठबन्धन टुटेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बनेको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर ओली नेतृत्वको यो गठबन्धन दुई महिनामै भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।
राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँताउने प्रयास भइरहेको छ । नेताहरुका अनुसार आज बिहीबार साँझसम्म मैठोस आकार आउनसक्ने छ ।
उता अझै पनि सत्ता गठबन्धन जोगाउन प्रयास भइरहेको एमाले नेताहरु बताउँछन् । बुधबार विहान प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा पनि एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले आपसी विश्वास कायम राख्न पनि १० पुसमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यो दिन प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । तर आफूले ‘खल्तीको मान्छे’ ल्याउँछ भनेर प्रचार गरिएको भन्दै ओलीले ‘तपाईँले रोजेकै मान्छे ल्याऊँ न त’ भन्दै माधव नेपालको नाम लिएका थिए । तर प्रचण्डले जसपा लगायतका दलहरुसँग छलफल गर्छु भनेपछि ओलीले कांग्रेससँगै जाने निर्णय भए ठीकै छ समेत भनेका थिए ।
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भेट्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेर यही प्रस्ताव राखेका थिए । देश संकटमा जान लागेकाले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने उनको प्रस्ताव थियो । त्यसो गर्दा संसदको सबभन्दा ठूलो दल बन्ने र सबै प्राप्त गर्न सकिने भन्दै उनले अध्यक्ष नेपाललाई राष्ट्रपति पनि बनाउन सकिने संकेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar