वीरेन्द्रनगर – यातायात व्यवस्था कार्यालय सुर्खेतमा बिचौलियाको बिगबिगी बढेको छ ।
बिचौलियाले गर्दा कार्यालयको कार्यसम्पादनमा असर परेको छ भने सेवाग्राही अनावश्यक सास्ती भोग्न बाध्य छन् । कार्यालयमा अहिले ३ किसिमका बिचौलियाको प्रभाव देखिने गरेको छ । कार्यालयका निमित्त प्रमुख आनन्द चपाईका अनुसार बिचौलियामध्ये पहिलोमा यातायात प्रालिहरूका प्रतिनिधि भनेर आउनेहरू छन् । त्यस्तै, दोस्रोमा मोटरसाइकल तथा गाडीको सोरुमका प्रतिनिधि बताउनेहरू र तेस्रोमा शुद्ध दलाली गर्नेहरू छन् । उनीहरूले सहयोग गरिदिने बहानामा सेवाग्राहीबाट मनपरी रकम असुल्ने गरेको उनले बताए । ‘बिचौलियाले सेवाग्राहीलाई झुक्याएर रकम असुल्छन् अनि कर्मचारीलाई समेत त्यसमै मुछ्ने गरेका छन्,’ उनले भने, ‘उनीहरूलाई कार्यालयबाट हटाउनै समस्या भयो, हामीसमेत आजित छौं ।’
बिचौलियाले सेवाग्राहीलाई काम गरिदिन्छौं भन्ने बाहनामा २ सय देखि १ हजारसम्म रकम असुल्ने गरेका छन् । ‘कर्मचारीहरूलाई पैसा नदिएसम्म काम हुँदैन भनेर पनि उनीहरूले गलत फाइदा उठाउन खोज्ने गरेका छन्,’ निमित्त प्रमुख चपाईले भने, ‘कर्मचारीहरूलाई पनि उनीहरूले प्रलोभन देखाउँछन् ।’ उनका अनुसार बिचौलिया हटाउन धेरै प्रयास गरिए पनि सफल हुन सकिएको छैन । जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पनि यो विषयको धेरै पटक जानकारी गराएको उनले बताए । उनका अनुसार उनीहरू अहिले कार्यालय परिसरमा भने आउँदैनन् । कार्यालयको चौर नजिकै बसेर सेवाग्राहीलाई तानातान गर्ने उनले बताए । बिचौलियाहरूले कार्यालय बाहिर बसेर सेवाग्राहीलाई दुःख दिन नछोडेको उनको भनाइ छ ।
बिचौलियाबाट आजीत भएको कार्यालयले कर्मचारीको अभाव पनि झेलिरहेको छ । सेवाग्राहीको धेरै भिडभाड हुने कार्यालयमा १५ जनाको दरबन्दी भएकोमा ८ जना मात्र कार्यरत छन् । कर्मचारी अपूग हुँदा कार्यालयको कामकाजमा असहज भएको उनले गुनासो गरे । ‘सबै शाखामा कर्मचारी छैनन्, एउटैले २/३ वटा शाखाको काम गर्नुपरेको छ,’ उनले भने, ‘कार्यालयमा अनलाइन दर्ता प्रणालीको सर्वर छ, बेला बेलामा नचल्दा काममा ढिलाइ हुन्छ, त्यसैले पनि सेवाग्राहीले बिचौलियाको कुरा पत्याउनुपर्ने बाध्यता छ ।’
कार्यालयमा दरबन्दीमा भएका उपसचिव र दुई जना अधिकृतको दरबन्दी खाली छ । मेकानिकल सुपरभाइजर र इन्जिनियर र कार्यालय सहयोगीको दरबन्दी पनि पदपूर्ति हुन सकेको छैन । ‘तपाईहरू सोझै गए आज काम हुँदैन, हामी छिटो गरिदिन्छौं भन्दै रकम उठाउँछन्,’ बुधबार यातायात कार्यालय पुगेका वीरेन्द्रनगर–७ का सेवाग्राही जयबहादुर केसीले भने, ‘कार्यालय पस्नुभन्दा १ सय मिटर आसपासमा बिचौलियाको लाइन हुन्छ, तर प्रहरी–प्रशासन मौन छ ।’ मोटरसाइकलको बिलबुक नवीकरण गर्न आएका उनले ७ घण्टामा मात्र आफ्नो काम भएको बताए । मोटरसाइकल दर्ताका लागि बुधबार नै कार्यालय पुगेका तेजकुमार ओलीले बिचौलियालाई राजस्व रकमबाहेक ५ सय रुपैयाँ दिएर आफ्नो काम गराएको गुनासो गरे ।
यातायात व्यवस्था कार्यालयले २०७६ माघदेखि सुर्खेतबाटै लाइसेन्स वितरणको काम सुरु गरेको थियो । लाइसेन्स वितरण गर्न थालेको झन्डै तीन वर्ष पुग्नै लाग्दा पनि कार्यालयको ट्रायल सेन्टर छैन । लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन निजी कम्पनीको ट्रायल सेन्टर भाडामा लिने गरिएको छ । कार्यालयले लिखित परीक्षा सञ्चालन गर्ने हलसमेत भाडामा लिने गरेको छ । निजी कम्पनीले सम्झौताअनुसार प्रतिस्कुटर तथा मोटरसाइकलको दुई सय र गाडीको पाँच सय इन्ट्री शुल्क लिँदै आएको छ ।
ट्रायल सेन्टरको लागि ठेक्कापट्टा भएर काम सुरु भइरहेको कार्यालयले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–७ को गणेशचोक नजिकै मालपोत कार्यालयको स्वामित्व भएको जग्गामा ट्रायल सेन्टर निमार्णको काम अघि बढेको निमित्त प्रमुख चपाईले बताए । कान्तिपुरबाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar