काठमाडौं – पटक पटक ताकेता गर्दा पनि ईन्टरनेट सेवा प्रदायकले पोलभाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले तारहरु काट्ने तयारी गरेको छ ।
विद्युत प्राधिकरणबाट अनुमती नै नलिई जवरजस्त विद्युत पोलमा तारहरु झुण्डाई सेवा दिएका ईन्टरनेट सेवा प्रदायक संस्थाहरुले प्राधिकरणलाईसमेत व्यवास्ता गरेपछी प्राधिकरणले तारहरु काट्ने तयारी गरेको हो । सेवा प्रदायकले ईन्टरनेटका तारहरु पोलमा राखेर सेवा विस्तार गरेर पैसा कमाउने तर लागेको भाडा नतिर्ने गरेका कारण तारहरु काट्नुपरेको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख श्रीराम पाण्डेयले बताए ।
उनले भने, ‘ईन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणका पोलहरु प्रयोग गरेर सेवा विस्तार गर्दै पैसा उठाउछन् । तर, लागेको पोल भाडा तिर्न आनाकानी गरेका कारण तारहरु नै काट्नुपर्ने अवस्था आएको छ ।’ पाण्डेयका अनुसार प्राधिकरणले पहिलो चरणमा त्रिपुरेश्वरदेखि बुढानिलकण्ठसम्मका तारहरु काट्ने तयारी गरेको छ । त्यसपछि देशका अन्य स्थानमा पनि काट्दै जाने तयारी छ । गत बुधबार मात्र पर्यटन विकास परिषद् र नेपाल विद्युत प्राधिकरणको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरु हटाएको थियो ।
ईन्टरनेट सेवा प्रदायकहरुले तारहरु विस्तार गर्ने र प्रयोगविहीन भएपछि तारहरु नहटाउने गरेकाले तारहरु व्यवस्थापन गर्न नै समस्या हुने गरेको उनको भनाइ छ । पाण्डेयले भने, ‘आफूहरुले सेवा विस्तार गर्दा तारहरु पोलमा विछ्याउने तर प्रयोगविहीन भएपछि ती तारहरुलाई व्यवस्थापन गर्न नसक्ने इन्टरनेट सेवा प्रदायकको बेइमानी छ । जे गरे पनि हुन्छ भन्ने उनीहरुको सोचाइमा प्राधिकरण टुलुटुलु हेरेर बस्दैन ।’
गत साल पनि सीजी, वेभ सर्भर नेपाल, मर्कन्टाइल, डिस्क, स्मार्ट टेलेव, सुविसुलगायतका इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणसँग सहमति गरेर एक महिनाभित्र बक्यौता रकम तिर्ने सहमति गरेका थिए । तर, केही बाहेक धेरै कम्पनीहरुले रकम नतिरेर असहमति मात्र प्रकट गर्ने गरेको उनको भनाइ छ ।
प्राधिकरणले वितरण विनियमावलीको आधारमा नै भाडा उठाउँदै आए पनि ती कम्पनीहरुले मूल्य बढी भयो भन्नु बहानाबाजी मात्र भएको पाण्डेयको भनाइ छ । ‘प्राधिकरणले पोल भाडा सरकारले बनाएको विनियमावलीको आधारमा नै लिएको छ । तर कम्पनीहरुले बढी भाडा तोकियो भन्दै पन्छिन खोज्नु बहानाबाजी मात्र हो’, उनले भने । प्राधिकरणको भौतिक सम्पत्ती इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विना कुनै शुल्क उपभोग गर्न पाउने आधार नभएको पाण्डेयको भनाइ छ । यता इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का प्रमुख कार्यकारी अधिकृत सुवास खड्कालेभने विद्युत प्रधिकरणले तारहरु काटे देशभर नै सेवा प्रवाह बन्द हुने बताएका छन् ।
प्राधिकरणले यसअघि पनि चितवनमा तार काट्दा तीन घण्टा नै सेवा प्रवाह बन्द भएको र वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्नुपरेकाले अब पनि काटिए देशभरकै सेवा बन्द हुने उनको भनाइ छ । , ‘पहिले पनि चितवन र काँकडभिट्टा प्राधिकरणले पुराना तारहरु काट्ने क्रममा फाइवर तार नै काटकाले तीन घण्टा सेवा अवरुद्द भएको थियो, वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्नुपरेको थियो । अब पनि यही अवस्था आए देशभरकै सेवा अवरुद्द गर्नेछौँ ।’ सेवा प्रदायकले नियमित विद्युत महशुल भुक्तानी गर्दागर्दै पनि देशका विभिन्न ठाउँमा ईन्टरनेटका तारहरु काट्नु राम्रो नभएको उनको तर्क छ ।
विद्युत प्रधिकरणले दूरसञ्चार क्षेत्रको नियामक सँस्था नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय नगरी आफूखुशी ७०० प्रतिशतसम्म वृद्धि गरेको उनले आरोप लगाए । ‘विद्युत प्रधिकरणले आफूखशी ७०० प्रतिशतसम्म पोलभाडा वृद्धि गरेको छ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय नगरी मूल्य बढाउदा हामी तिर्न सक्दैनौँ ।’ उनले भने ।
आफूहरुले २०७५ पछिको परिवर्तित भाडाअनुसार महसुल बुझाउन तयार रहेको तर प्राधिकरणले २०७५ साल अघिकै भाडादर अनुसार तिर्नुपर्छ भनेकाले सहमति नभएको खड्काको भनाइ छ । खड्काले भने , ‘हामीले लागेको भाडा तिर्दैनौँ भनेको होइन । २०७५ साल अघिको सबै भाडा तिरेका छौँ । त्यसपछिको बक्यौता परिवर्तित भाडादर अनुसार तिर्न तयार छौँ । तर, प्राधिकरणले २०७५ अघिकै अनुसार तिर्नुपर्छ भनेको छ । हामी त्यो मान्दैनौँ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar