हेटौंडा – विद्यालय पुग्नै घण्टौं लाग्छ । सबै विद्यालयमा आवासीय सुविधा छैन । यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् । एक जनाले एकै कोठामा राखेर ३ वटासम्म कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता छ । भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन, शैक्षिक सामग्री पनि छैनन् ।
राक्सिराङ – ९ सल्लेनीस्थित देवीथान आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । १ सय २० जना विद्यार्थी पढ्ने गरे पनि भवन अभावमा कक्षा १ र २ तथा कक्षा ३ र ४ का विद्यार्थी एउटै कोठामा पढ्छन् । नियमित विद्यालय आउने विद्यार्थी ८५ जनाको हाराहारीमा मात्रै रहेको प्रधानाध्यापक जीतबहादुर घलानले बताए ।
‘भर्ना हुने विद्यार्थी संख्या धेरै छ तर न कक्षाकोठाको प्रबन्ध गर्न सकिएको छ, न शिक्षक छन् । ५ कक्षासम्म पढाइ हुने भए पनि शिक्षकको दरबन्दी एक मात्र छ,’ उनले बाध्यता सुनाए, ‘शिक्षक दरबन्दी नभएकाले कक्षाकोठा अभाव रहेकामा पनि ठीकै मान्नुपरेको छ । धेरै कोठा भएको भए एक जनालाई पढाउन गाह्रो हुने थियो ।’ गाउँपालिकाले थप एक शिक्षकको व्यवस्था गरिदिएकाले अहिले केही सहजता थपिएको उनको भनाइ छ ।
यो विद्यालयमा पढ्ने विद्यार्थीमध्ये ९८ प्रतिशतभन्दा बढी चेपाङ समुदायका छन् । उनीहरूमध्ये पनि धेरैजसो दिवा खाजा खान पाउने आसले पढ्न आउने गरेको स्थानीय सूर्यमान चेपाङले बताए । सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यालय व्यवस्थापन समितिले विद्यालयमै खाजा तयार गरी खुवाउने गरेको छ । सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमा अपुग हुने रकम स्थानीय गैरसरकारी संस्था दिगो विकास एकता नेपालले सहयोग गर्दै आएको छ । यहाँ ४५ मिनेट पैदल यात्रा गरेर पनि विद्यार्थी पढ्न आउँछन् ।
राक्सिराङ – ४ काम्लेस्थित टिकेढुंगा आधारभूत विद्यालयमा पनि एक जना मात्रै शिक्षक छन् । पढाइ ३ कक्षासम्म हुने गर्छ । पर्याप्त कोठा नहुँदा २ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ । राक्सिराङ – ५ ताङराङस्थित जनजीवन प्राविको अवस्था पनि उस्तै छ । शिक्षक संख्या एक मात्रै छ । उनी एक्लैले ३ कक्षासम्ममा विद्यार्थी पढाउँदै आएका छन् । ६० जना विद्यार्थीलाई एकसाथ धान्न उनलाई हम्मे पर्छ ।
राक्सिराङभित्र ५२ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये ५ वटा माध्यमिक, ४७ वटा आधारभूत विद्यालय छन् । शिक्षक दरबन्दी मावि तहमा १, आधारभूत तहमा ५ र प्रावि तहमा ८८ जनाको मात्र छ । ‘शिक्षककै अभावमा विद्यार्थीहरूको सिकाइ अत्यन्त कमजोर छ,’ पालिकाका शिक्षा शाखा प्रमुख पासाङ बल लामाले भने, ‘पालिकाले आफ्नै खर्चमा राखेका शिक्षकको संख्या अपुग छ । अग्रेजी, विज्ञान र गणित पढाउने नै छैनन् ।’
पालिकाले शिक्षामा जोड दिएर शिक्षकको व्यवस्थापन गरे पनि शिक्षाको गुणस्तर बढ्न नसकेको पालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । ‘दुर्गमका विद्यालयमा क्षमता भएका शिक्षकहरू नै जान मान्दैनन्, जसले गर्दा विद्यार्थीको क्षमता र ज्ञानको दायरा विस्तार हुन सकेको छैन,’ उनले भने ।
जिल्लाकै अर्को विकट गाउँपालिका कैलाशमा रहेका विद्यालयको अवस्था पनि त्यस्तै छ । यो पालिकामा ६ वटा माध्यमिक विद्यालय छन् तर शिक्षकको दरबन्दी ६ जनाको मात्र छ । पालिका अध्यक्ष लोकबहादुर मोक्तानले भने, ‘यस्तो अवस्थामा पढेर पिछडिएको वर्ग कसरी माथि उठ्न सक्छ ? राज्यले यस्तो समुदायलाई माथि उठाउन थप कदम चाल्नुपर्छ ।’
समाजलाई सकारात्मक परिवर्तनको प्रत्याभूति दिलाउने मुख्य अंग शिक्षा अवस्था नै नाजुक रहेको यही क्षेत्रको विद्यालयमा लामो समय अध्यापन गराएका शिक्षक तुल्सी थापा बताउँछन् । ‘संघीयताले दुर्गम एवं विकट क्षेत्रमा बसोबास गर्ने आदिवासी र जनजाति समुदायलाई छुन सकेको छैन,’ उनले भने ।
शिक्षा समन्वय कार्यालय मकवानपुरका प्रमुख दिनानाथ गौतम माथिल्लो तहबाट विद्यार्थीअनुसार दरबन्दी उपलब्ध नगराइएकाले शिक्षक अभाव देखिएको बताउँछन् । ‘सहर बजारका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी धेरै छ, जसलाई कटौती गरेर दुर्गममा पठाउन सकिएको छैन,’ उनले स्विकारे । कान्तिपुर दैनिक बाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar