काठमाडौं – सरकार र पार्टी एकताको विषयमा नेकपा एकीकृत समाजवादीभित्र तीन धार देखिएको छ ।
शनिबारदेखि सोमबारसम्म भएको स्थायी समिति र पोलिटब्युरो बैठकमा नेता तीन धारमा विभाजित भएका हुन् । एमाले, माओवादी, स्वतन्त्र पार्टी, जसपासहित सात दलको समीकरण बनेपछि वामपन्थी दलहरूबीच एकता हुनुपर्ने, सरकारमा जानुपर्ने, गठबन्धन कसरी अघि बढ्छ, त्यसलाई पर्खिने र हेर्ने तीन प्रकारको धारणा रहेको वरिष्ठ नेता मुकुन्द न्यौपाने बताए ।
‘अहिले पार्टीभित्र तीन प्रकारको धारणा छ । अहिले सरकार वामपन्थीको हो, यसलाई समर्थन गर्नुपर्छ, सरकारमा जानुपर्छ र पार्टी एकता पनि गर्नुपर्छ भन्ने छ । एकथरी समर्थन गर्नुपर्छ र सरकार जानुपर्छ भन्ने छन्,’ न्यौपानेले भने, ‘यो सरकार लामो समय टिक्छ कि टिक्दैन वा मैले केही पाउँछु कि पाउँदिनँभन्ने पनि धारणा रहेको छ । सबै बैठकमा यसै प्रकारको धारणा बैठकमा आउने गरेका छन् । बाहिर जे भने पनि ।’
न्यौपानेले पछिल्लो राजनीतिक अवस्थालाई समीक्षा गरी सही निष्कर्षमा पुग्नु पर्ने बताए । ‘विगतमा जे भयो भयो त्यसलाई समीक्षा गर्ने र एकता भएर जाने हो उपलब्धिपूर्ण हुने, नभए समाप्त हुनेछ,’ उनको भनाइ छ । न्यौपानेले यसअघि नै एमाले, माओवादी केन्द्रसँग पार्टी मिल्नुपर्ने धारणा राख्दै आएका छन् । स्थानीय निर्वाचनभन्दा पनि कमजोर प्रदर्शन प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा भएपछि सो दलभित्र अन्य वामपन्थी दलसँग एकताको विषयमा जोडसाग उठ्न थालेको हो ।
गत भदौमा एकीकृत समाजवादीले माओवादीसँग एकताका लागि संयुक्त कार्यदल बनाए पनि त्यस विषयमा खासै प्रगति देखिएन । पछिल्लो समयमा एमालेसँग एकता गर्नुपर्ने धारणा प्रमुख रूपमा उठ्न थालेको छ । चुनावी समीक्षा र सरकारको विषयमा धारणा बनाउन एकीकृत समाजवादीका एकपछि अर्को बैठक भएका छन् । पार्टी एकता र सरकारमा सहभागिताको विषयमा फरक – फरक धारणा आएपछि एकीकृत समाजवादी निर्णयमा पुग्न सकेको छैन । यो विषयमा शनिबार र आइतबार स्थायी कमिटीमा पनि त्यस विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरे । वार्तामा नेपालले पार्टीको बैठकपछि निष्कर्षमा पुग्ने बताइसकेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबारको बैठकमा प्रस्तुत गरेको दस्ताबेज ‘देशको वर्तमान परिस्थिति र हाम्रो दृष्टिकोण’मा दलसँग एकतामा भन्दा पार्टी संगठनलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । उनले वैचारिक रुपमा सहमति नभएरसम्म अन्य दलसँग एकता गर्न नसक्ने बताएका छन् । खनालले चुनावी परिणामपछि पार्टी चल्न नसक्ने, एमाले वा माओवादीसँग मिल्नु पर्ने धारणा राख्ने ‘पलायनवादी’ र ‘विसर्जनवादी’ भएको बताएका छन् ।
‘यो पार्टी अघि बढ्न सक्दैन भन्ने चिन्तन यो पलायनवादी र विसर्जनवादी चिन्तन हो,’ खनालले भनेका छन् ‘दोस्रोखाले चिन्तन देखिन्छ अब अलग ढंगले पार्टी चल्न नसक्ने हुनाले हामीले कि एमालेमा फर्किनुपर्छ कि माओवादी पार्टीमा विलय हुनुपर्छ । यो पनि अन्तिम विश्लेषणमा पलायनवादी र विसर्जनवादी चिन्तन नै हो ।’
मंसिर ४ गते भएको निर्वाचनमा एकीकृत समाजवादीले ३ प्रतिशत पनि मत ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ । प्रत्यक्षतर्फ १० सिट जिते पनि भविष्यको विषयमा नेता तथा कार्यकर्ता तहमा चिन्ता व्यक्त हुँदै आएको छ । पार्टीले एकपछि अर्को गर्दै चुनावमा खासै आएको धक्काको कारण उत्पन्न भएको चिन्तालाई खनालले ‘निम्न पुँजीवादी हतासा’बाट उत्पन्न भएको चिन्ता भनी व्याख्या गरेका छन् ।
खनालले अहिले पार्टी यही अवस्थामा सञ्चालन भए पार्टी अझ बढी खुम्चिँदै जाने र अन्त्यमा चल्नै नसक्ने अवस्थामा पुग्ने बताएका छन् । ‘विगत डेढ वर्षको यात्राले त्यतैतिर संकेत गरेको छ,’ उनले भनेका छन् । २०७८ भदौ २ मा एमालेबाट विभाजित भएर एकीकृत समाजवादीको गठन भएको थियो । खनालको प्रतिवेदनमा संगठन निर्माण विषयलाई प्राथमिकतामा दिनुपर्ने धारणा छ । अहिले एकीकृत समाजवादीको त्यही धार मूल धार भएको दाबी प्रतिवेदनमा गरेका छन् ।
नेता न्यौपानेले वामपन्थी दलहरूबीच एकता हुने समयको माग भएकोले यसलाई बुझ्न नसक्ने दण्डित हुने बताए । ‘अहिलेको समयमा दिएको निर्देशन भनेको वामपन्थी दलहरूबीचको एकता नै हो । समयले दिएको यो निर्देशनलाई जसले पालना गर्दैन, त्यसलाई समयले नै दण्डित गर्छ,’ न्यौपानेले भने ।
सोमबारको पोलिटब्युरो बैठक सुरु गर्दै अध्यक्ष नेपालले सरकारमा सहभागी हुनेबारे सरकार र सात दलीय गठबन्धनको औपचारिक धारणा माग गरेका थिए । नयाँ गठबन्धन निर्माण गर्ने विषयमा दाहालले आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका अध्यक्ष नेपालले सरकारले समर्थन गर्ने विषयमा औपचारिक रूपमा प्रस्ताव आउनु पर्ने बताउन थालेका छन् । चुनावलगत्तै एमालेका विभिन्न नेताहरूले अध्यक्ष नेपालसँग भेट गर्दै एकताको विषयमा छलफल गरेको जानकारी सञ्चारमाध्यमलाई बताएका थिए ।
पार्टीका प्रवक्ता खतिवडाले पछिल्लो समयको बैठकमा सरकारमा सहभागिताको बारेमा भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा छलफल केन्द्रित रहेको बताएका छन् ।
‘सरकारमा जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,’ खतिवडाले भने, ‘औपचारिक प्रस्ताव आए त्यो त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।’ उनले प्रधानमन्त्री दाहालप्रति व्यक्तिगत रूपमा सद्भाव रहे पनि राजनीति रुपमा औपचारिक प्रस्ताव आउनुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar