काठमाडौं – नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मा पहिलो ‘को’ प्रधानमन्त्री हुने भन्ने विषयमा कुरा नमिल्दा पुरानो गठबन्धन भत्किएर कांग्रेस बाहेको नयाँ गठबन्धन बनेको छ ।
प्रतिनिधिसभामाको सिट संख्यामा पहिलो पार्टी बने पनि सरकार वाहिर बस्नु पर्दाको पीडा सडकमा छताछुल्ल भइरहेको छ । कांग्रेसमा माओवादीकोसँगको गठबन्धन भत्किनुमा एकले अर्कालाई दोष लगाउनेको बाढी नै आएको छ । सस्थापन इतर (शेखर कोइराला) पक्षले खुलेरै सभापति शेरबहादुर देउवालाई दोष लगाइरहेका छन् भने संस्थापन पक्षका नेताहरू यसको दोष सिंगो पार्टीले लिनु पर्ने बताइरहेका छन् ।
यस्तैमा कांग्रेसले केन्द्रीय समितिको बैठक २२ पुसका लागि बोलाएको छ । यो बैठकमा इतर पक्ष सामुहिकरूपमै सभापति देउवाविरुद्ध प्रस्तुत हुने रणनीति बनाइरहेको छ । यसका लागि २२ गते अघि नै इतर पक्षको भेला बोलाउने तयारी भएको छ । देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन भनेर सभापतिले जवाफ दिनुपर्ने इतर पक्षका नेता शेखर कोइरालाले त विज्ञप्ति नैजारी गरेर बताएका छन् । गठबन्धन भत्किएकोे विषयमा पुस २२ मा बस्ने केन्द्रीय समिति बैठकमा राम्रै समीक्षा हुने कोइरालाले बताउँदै आएका छन् । महामन्त्री गगन थापाले गठबन्धनमा के भएको हो भनेर सभापतिकै मुखबाट सुन्ने बताउने गरेका छन् । ‘के भएको हो भन्ने कुरा हामी पहिला सभापतिको मुखबाट पार्टीको बैठकमा सुन्न चाहन्छौं । बैठकमा त गठबन्धन गर्ने भनेको बेलादेखिको कुरा छलफल गर्नुपर्छ,’ उनी भन्छन् ।
गठबन्धन नगरे पार्टी सकिन्छ भन्ने प्रवृत्तिविरुद्ध कडै गरी समीक्षा हुने गगन बताउँछन् । उनी भन्छन्, ‘गठबन्धनविरूद्ध बोल्लास्, खबरदार भन्दै हप्की खाएको सम्झिन्छु अहिले । अब ती व्यक्ति, प्रवृत्ति र घटनाबारे मात्र होइन, कांग्रेसले किन र कसरी यस्तो सोच्यो भन्ने विषयमा बैठकभित्र र बाहिर पनि निर्मम समीक्षा हुन्छ ।’ १५ वर्ष चल्छ भनेको गठबन्धन १८ महिना नवित्दै कसरी भत्कियो भन्ने कुराको जवाफ सभापतिले दिनु पर्ने उनी बताउँछन् ।सहमहामन्त्री बद्री पाण्डेले भने सभापतिले राजनीनामा नै दिनु पर्ने बताउँछन् । ‘पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठक निर्णयमा पग्नुपर्छ,’ उनले भने ।
सभापति देउवाका विशेष निकट मानिने नेता प्रकासशरण महत भने गठबन्धन भत्किएको दोष सभापतिलाई मात्र दिएर कोही उम्कन नपाउने बतादै आएका छन् । दोष केन्द्रीय पदाधिकारीले सामूहिकरूपमा लिनु पर्ने उनको तर्क छ । पार्टी कार्यसम्पादन समिति र पदाधिकारी सबैले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनका लागि सस्थागत निर्णय गर्ने अनि दोष सभापतिलाई मात्र लगाउने कुरा कसरी हुन्छ ? उनी प्रतिप्रश्न गर्छन् ।
केन्द्रीय सदस्य अजय चौरसिया भने गठबन्धन भत्किनुमा देउवा वा कांग्रेसमा कसैको दोष नभएर माओवादीको दोष देख्छन् । उनकाअनुसार माओवादी अध्यक्ष प्रचण्ड अस्थिर स्वभावका मान्छे हुन् । आफूलाई गाह्रो पर्दा गठबन्धन बनाउन उकास्ने लिसो टाँसिए झै टाँसिने अनि सहज अवस्था आउँदा वा अर्कोतिरबाट राम्रो अफर आउँदा चटक्कै छोड्ने प्रवृतिले गठबन्धन भत्किएको हो । उनी भन्छन् ‘दोष सभापतिलाई दिएर हुदैन । एमाले र माओवादीका दोश्रो तहका नेताबीच पहिल्यै सहमति भएको हो ।’
शनिबार मात्र निवर्तन गृहमन्त्री तथा देउवाका विश्वास पात्र मानिएका अर्का नेता बालकृष्ण खाँडले गठबन्धन भत्किनुमा वाह्य शक्तिको समेत हात रहेको बताएका छन् । को वाह्य शक्ति ? भनेर उनले नखुलाए पनि उनको इशारा चीनतर्फ भएको प्रष्ट बुझिन्थ्योे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar