काठमाडौं – राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षा र सवारी चालकका रूपमा खटिँदै आएका २ सय २१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।
गृह मन्त्रालयले कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न मंगलबार नेपाल र सशस्त्र प्रहरी मुख्यालयलाई निर्देशन दिएपछि नेपाल प्रहरीका १ सय ३ र सशस्त्र प्रहरीका १ सय १८ जना फर्किएका हुन् । पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ, पूर्वउपप्रधान तथा गृहमन्त्रीहरू विजयकुमार गच्छदार र वामदेव गौतम, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र कृष्णप्रसाद सिटौला, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वऊर्जामन्त्री प्रकाशशरण महतलगायतको निवास तथा व्यक्तिगत सुरक्षा र चालकका रूपमा खटिएका जनशक्ति फिर्ता भएका छन् ।
त्यस्तै गृह मन्त्रालय, विभिन्न मन्त्रालयका सचिव तथा पूर्वप्रशासकको सवारी चालकका रूपमा खटिएका २९ जना सशस्त्र प्रहरी पनि मुख्यालय फिर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयले पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापा, पूर्वउपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री प्रकाशमान सिंह, पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसी, पूर्वअर्थमन्त्री रामशरण महत र निवर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलको सुरक्षा तथा सवारी चालकमा खटिएका प्रहरी पनि फिर्ता गरेको छ । पूर्वसांसद कृष्णभक्त पोखरेल, पूर्वमन्त्री प्रेमबहादुर आले, मातृका यादव, प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायतको सुरक्षामा खटिएका प्रहरी पनि फिर्ता भएका छन् ।
प्रहरी प्रधान कार्यालयले पूर्वविशिष्टको सुरक्षा र सवारी चालकमा खटिएका ६६, गृह मन्त्रालयका कर्मचारीको सवारी चालकमा खटिएका ३१ र पूर्वप्रहरी अधिकृतको अंगरक्षकमा खटिएका ७ जना सुरक्षाकर्मी फिर्ता भएका जनाएको छ ।
सुरक्षाकर्मी फिर्ता गरिएकामा केही पूर्वमन्त्रीले असन्तुष्टि जनाएका छन् । केही पूर्वमन्त्रीले भने अर्को चालकको व्यवस्था नभएसम्म फिर्ता नगर्न आग्रह गरेका थिए । तर दुवै सुरक्षा निकायले मन्त्रालयको निर्देशन भन्दै सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।
‘कार्यविधिलाई कडाइका साथ लागू गर्न मन्त्रालय लागिपरेको छ,’ गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘कार्यविधिविपरीत परिचालित सुरक्षाकर्मी कहाँ कति छन्, अद्यावधिक अभिलेख पेस गर्न दुवै निकायलाई भनिसकेका छौं ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar