काठमाडौं – पार्टी सभापति शेरबहादुर देउवाले चिचिपनी पापापनि खोजेपछी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबथोक गुमाएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस प्रतिपक्षी बेञ्चमा रहन बाध्ये भएको हो । प्रचण्डसँगको सहमति पूरा नगरी प्रचण्डलाई छक्याउन खोज्दा कांग्रेसले संघीय सरकार र प्रदेश सरकार बनाउनै नसक्ने अवस्था आएको हो ।
सत्ता समीकरण फेरबदल भएसँगै कांग्रेसले अव राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतको सबै पद गुमाउने अवस्था बनेको छ । माओवादी र एमाले एक ठाउँमा हुने बित्तिकै सुदूरपश्चिम बाहेक सबै प्रदेशमा कांग्रेस प्रतिपक्षी बनेको छ । सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक भएकाले त्यहाँ कसको सरकार बन्छ भन्ने टुङ्गो छैन ।
कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पहिलो कार्यकालमा प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको थियो । तर, अन्तिम समयमा देउवाले प्रधानमन्त्री नछोड्ने भएपछि माओवादी एमालेसँग सहकार्य गर्न पुगेको हो । गठबन्धनको बैठकमा देउवाले बारम्बार ‘साथीहरूले प्रधानमन्त्री नछोड्न दबाब दिएका छन्’ भन्दै प्रधानमन्त्री दाबी गरिरहेका थिए । तर, कांग्रेसको परम्परा हेर्दा र देउवाको निर्णय गर्ने परिपाटी हेर्दा देउवा एक्लैले निर्णय गरेपछि त्यो निर्णय कांग्रेसको निर्णय हुने गरेको छ ।
यदि, देउवाले प्रधानमन्त्री छोडेर गठबन्धन जोगाउन निर्णय गरेको भए सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने थिएन । तर, देउवा अन्तिम अवस्थामा लोभिएका कारण कांग्रेसले सबथोक गुमाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar