काठमाडौं – राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको नाम दिन दिएको ७ दिनको समयसीमा सकिन अब तीन दिन मात्र बाँकी छ । तर, दलहरूमा यस विषयमा अहिले केही टुंगो लागेको स्थिपत छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् । ‘यही गठबन्धनको सरकार बन्छ,’ प्रचण्डले भने । अबको भावी प्रधानमन्त्री को बन्छ त ? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर दिए, ‘हामी सल्लाह गर्दै छौं ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा घर्किन लागिरहेको बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । आउँदो आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दाबी गर्न समय दिइएको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको सिंगो पार्टी कांग्रेसकै नेतृत्वमा सरकार बनाउने बताइरहेका छन् । कांग्रेसको एकल बहुमत नभएकाले उसले चाहेर मात्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था छैन । गठबन्धन गरेर चुनाव लडेका अन्य घटकमा पहिलो नेकपा (माओवादी केन्द) पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउन चाहन्छ । राष्ट्रिय पार्टी बन्न नसके पनि नेकपा (एकीकृत समाजवादी) आफूले पनि आलोपलोमा प्रधानमन्त्री पद पाउनु पर्ने दावी गरिरहेको छ ।
यसैबीच बिहीबारै साँझ प्रधानमन्त्री निवास बालुवाटारमा यी तीनै नेताले करिव डेढ घण्टा छलफल गरेका छन् । त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा रहेको बताइएको छ । ‘बिहीबार सरकार गठनबारे सामान्य छलफल भएको र शुक्रबार पुनः नेताहरू बस्ने गरी आजको छलफल सकिएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ । बिहीबारको छलफल सकारात्मक रहेको बालुवाटार स्रोतको भनाइ छ ।
स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपाललाई सँगै राखेर अव बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका छन् । यसअघि नै प्रचण्डले देउवालाई आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार पहिलो खेपको प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न भनिसकेका छन् ।
उता नेकपा (एमाले) को बिहीबारै सचिवालयको बैठक बसेको थियो । बैठकमा राजनीतिक घटनाक्रमको बारेमा अध्यक्ष ओलीले जानकारी गराउँदै गठबन्धन रहँदासम्म केही गर्न नसकिने बताएका थिए । प्रचण्डले गठबन्धन त्यागेर आए प्रधानमन्त्री दिन सकिने ओलीले संकेत गरेको एक नेताले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar