काठमाडौं – नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई सर्वोच्च अदालतको आदेशपछि रिहा गरेर स्वदेश फिर्ता गर्ने तयारी भएको छ ।
सर्वोच्चको आदेशपछि उनलाई आज शुक्रवार बिहान अध्यागमनमा बुझाउने तयारी भइरहेको केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए। “सर्वोच्च अदालतको आदेश अनुसार हामीले अध्यागमनलाई बुझाउने तयारी गरेका छौँ। हिजो अदालतबाट कागजात प्राप्त हुँदा समय लागेको कारणले आजै अध्यागमनलाई बुझाउछौँ,” पाण्डेले भने। “अध्यागमन विभागले बुझिसकेपछि पठाउने व्यवस्था हुन्छ।” उनले भने ।
उनले स्वदेश फर्काउन आवश्यक कागजात र परिवार वा उनलाई पुर्याउने व्यक्तिको व्यवस्था मिलाउने जानकारी दिए। अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले सोभराजलाई स्वदेश फर्काउनुअघि नियन्त्रणमै राख्ने वा निगरानीमा मात्रै राख्नेबारे टुङ्गो लाग्न बाँकी रहेको बताए। “हामी छिटोभन्दा छिटो उहाँलाई जुन देशको पासपोर्ट छ त्यो देशमा पठाउँछौँ। त्यस अवधिमा नियन्त्रणमै राख्ने वा नियन्त्रणमा राख्ने भन्ने निर्णय भइसकेको छैन,” उनले भने।
शोभराज सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए । सन् १९७५ मा दुई विदेशी पर्यटकको हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। त्यस्तै सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो।
न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवारै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो । “आफूलाई थुनामा राखिनु गैरकानुनी भएको” भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएपछि बन्दीप्रत्यक्षीकरणको आदेश अदालतले दिएको प्रवक्ता विमल पौडेलले बताए।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन्। सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।
अदालतले रिहा गर्नुअघि उनले सजाय भुक्तान गर्नुपर्ने अन्य कसुर रहे वा नरहेको यकिन गर्न भनेको थियो। भक्तपुर र काठमाण्डू जिल्ला अदालतबाट अभिलेख भिडाएर थप कैद बस्नुपर्ने नदेखिएपछि थुना मुक्त गर्ने निर्णय गरिएको जेलर पाण्डेले जानकारि दिए।
चार दशकअघि नेपालमा अमेरिका र क्यानडाका एक/एक महिलाको हत्या गरेको अभियोग उनीमाथि थियो। ती मुद्दामा उनी दोषी ठहर भए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar