काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । मतदान सम्पन्न भएको चौथो दिन बुधबार अबेरसम्म प्रतिनिधिसभातर्फ ४४ र प्रदेशसभातर्फ ९८ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी २१ सिटमा जित हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेका सात जना उम्मेदवार विजयी भएका छन् । केही समयअघि स्थापना भएर पहिलो पटक चुनावी राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चार स्थानमा जित हासिल गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले तीन र नेकपा एकीकृति समाजवादी पार्टीले दुई निर्वाचन क्षेत्रमा सफलता हात पारेका छन् । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले पनि एक÷एक स्थानमा जित हासिल गरेका छन् ।
देशको संघीय राजधानीसमेत रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । घण्टी चुनाव चिन्ह लिएर पहिलो पटक चुनावी राजनीतिमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा आफ्नो बलियो उपस्थिति दर्ता गराएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम मतदाताले देखाएको सदभाव मतपत्रमार्फत उजागर भएको छ । स्वतन्त्र पार्टीले पाएको अप्रत्यासित मतका कारण ठुला भनिएका दलहरुको चुनावी अंकगणितसमेत नराम्ररी बिथोलिन पुगेको छ ।काठमाडौंका १० मध्ये चार निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ बाट बुधबार स्वतन्त्र पार्टीकी युवा उम्मेदवार सोविता गौतम विजयी भइन् । गौतमले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ हजार ६ सय ७४ मतले पछाडि पारिन् ।
गौतमले १५ हजार २ सय २९ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५ सय ५५ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा रहेकी राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती ९ हजार ४ सय ४९ मतसहित चौथो भइन् ।निर्वाचित भएपछि गौतमले देशमा परिवर्तनको सुरुआत भइसकेको धारणा ब्यक्त गरिन् ।
उनले परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपाली नागरिक आत्तिनु नपर्ने बताइन् । ‘अब युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्छ । अबको पाँच वर्षमा देशमा परिवर्तनको ढोका खुल्छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन् ।उनले प्रदेशको अहिलेको संरचनालाई सुधार गर्नुपर्ने आवश्यक्ता रहेको धारणा पनि ब्यक्त गरिन् । उनले जिम्मेवारी बहन गर्न आफु सक्षम रहेको बताउँदै देशले गर्व गर्नलायक काम गरेर देखाउने प्रतिबद्धता पनि ब्यक्त गरिन् ।
सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले पनि निर्वाचित गौतमलाई बधाई दिएकी छन् । पूर्वसभामुखसमेत रहेकी घर्तीले आगामी दिनमा पनि आफु यही क्षेत्रबाट राजनीतिमा सक्रिय रहने बताइन् । ‘मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएँ कि काठमाण्डौं क्षेत्र नम्बर–२ मेरो कर्मथलो भइसक्यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेकी छन्, ‘आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहो¥याउन चाहन्छु ।’ आवधिक निर्वाचनमा एकपटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने उनले बताएकी छन् ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भए । उनले १४ हजार २ सय ४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरे । खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् । कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत ल्याए ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित शिशिर ‘टिच फर नेपाल’का सहसंस्थापकसमेत हुन् । खनालले अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए । केही समय उनले तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक सल्लाहकारका रूपमा समेत काम गरेका थिए । अहिले उनी डेलिभरी र लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको ‘पिक एन्ड ड्रप्स’का सञ्चालक पनि हुन् ।
‘टिच फर नेपाल’ले देशका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयका करिब ५० हजार विद्यार्थीलाई पढाएको छ । ‘टिच फर नेपाल’मार्फत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरूलाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिइँदै आएको छ । छनोट भएका युवाहरूले दुई वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन् ।
काठमाडौं क्षेत्र नम्बर ६ मा यसअघि ०७४ सालमा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए । उनले एमाले–माओवादी गठबन्धनका झक्कुप्रसाद सुवेदीलाई हराएका थिए । ०७० सालको निर्वाचनमा पनि उक्त क्षेत्रबाट प्रधान नै विजयी भएका थिए । यस पटक उक्त निर्वाचन क्षेत्रमा ३८ हजार ३ सय ८० मत खसेको थियो ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट पनि स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली विजयी भए । उनले ८ हजार ७ सय ४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले भने ६ हजार ८ सय मत मात्र ल्याउन सके । सो निर्वाचन क्षेत्रबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि उम्मेदवार बनेकी थिइन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनले ६ हजार ६३ मत प्राप्त गरिन् । जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठले २ हजार ४ सय ६१ मत ल्याए ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ८ बाट पनि स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए । उनले १० हजार १ सय ५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले ६ हजार १ सय ७४ मत ल्याए । सो निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजबादीबाट उम्मेद्वार बनेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ भने ४ हजार २ सय ६६ मत ल्याउँदै तेस्रो स्थानमा खुम्चिन बाध्य भए ।
काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रमा भने कांग्रेसका उम्मेदवार विजयी भए । क्षेत्र नम्बर १० बाट कांग्रेसका राजेन्द्रकुमार केसी, क्षेत्र नम्बर ५ बाट कांग्रेसका प्रदीप पौडेल, क्षेत्र नम्बर ४ बाट कांग्रेसका गगनकुमार थापा, क्षेत्र नम्बर ३ बाट कांग्रेसका सन्तोष चालिसे र क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी भए ।
क्षेत्र नम्बर ५ मा पौडेलले एमालेका प्रभावशाली नेता ईश्वर पोखरेललाई हराएका हुन् । क्षेत्र नम्बर १० मा भने केसी यसअघिका दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० सालको संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हराएका थिए । एमाले भने काठमाडौंको एउटा निर्वाचन क्षेत्रमा मात्र विजयी भयो । क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भए ।
यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भए । एमाले सचिवसमेत रहेका विष्टले नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरे । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।बिष्टले यसअघि ०७० र ०७४ सालको चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पुरा गरेका छन् । झाँक्रीले भने आफ्नो हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छन् । उनले मतदाताप्रति आभार पनि ब्यक्त गरेकी छन् ।
‘ज्ञानको हिसावले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएकी छु । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैं ऋणी हुनेछु ।’
उनले निर्वाचनमा विजयी भएका एमाले उम्मेदवार बिष्टलाई बधाई पनि दिएकी छिन् । बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले भनेकी छन्, ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’ पछिल्लो साढे दुई दशकमा नेपाली समाजमा भएको अराजनीतीकरण लोकतन्त्रको लागि गम्भीर र डरलाग्दो रहेको उनले बताएकी छन् ।यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् । माओवादी केन्द्रका दाहालले २७ हजार ५ सय १७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले भने २१ हजार ६ सय ८७ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १ हजार ५ सय ५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १ हार ३ सय ४० मत प्राप्त गरे ।
यसैगरी रुकुम पूर्वबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कैलाशकुमार मल्लालाई ७ हजार ५१ मतले पछि पारेका हुन् । यसअघि लुम्बिनी प्रदेशका सभामुख रहेका घर्तीले १२ हजार २ सय ६२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मल्लले ५ हजार २ सय ११ मत ल्याए ।
यसैगरी बाग्लुङ निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालकी मञ्जु शर्मालाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । पौडेलले २४ हजार ७ सय ७९ मत पाए । एमालेकी शर्माले भने २० हजार १ सय ८० मत पाइन् ।
यसैगरी अछाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन् । कुँवरको जितसँगै एकीकृत समाजवादीले प्रतिनिधिसभामा खाता खोलेको छ । श्रममन्त्री समेत रहेका कुँवर सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।
कुँवर १९ हजार ५ सय ३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याए । यसअघि एमालेका नेता भीम रावल सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । यस पटकको निर्वाचनका लागि समेत रावलको नाम सर्वसम्मत रुपमा सिफारिस भए पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् ।
यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको साझा उम्मेदवार श्रेष्ठ २९ हजार ५ सय ५ मतसहित विजयी भएका हुन् ।श्रेष्ठले एमाले–जसपा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४ सय ३९ मत पाएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।
यसैगरी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । देउवा २५ हजार ५ सय ३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट संसदमा निर्वाचित भएका हुन् । एउटै निर्वाचन क्षेत्रबाट लगातार सात वटा निर्वाच जित्ने देउवा एक मात्र नेता पनि हुन् ।देउवाका निकटतम निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए । ढकाल चार महिनाअघि मात्र देउवासँग चुनाव लडन डडेल्धुरा पुगेका थिए । बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले भने ७ हजार ५ सय ३५ मत प्राप्त गरे ।
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
ओली छैटौं पटक संसदीय निर्वाचनमा विजयी भएका हुन् । ओलीले ५२ हजार ३ सय १५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४१ मत मात्र प्राप्त गरे । पूर्वप्रधानमन्त्री ओलीले ०७४ सालको निर्वाचनमा पनि अधिकारीलाई नै हराएका थिए ।
झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो । ओली ०६४ सालको पहिलो संविधानसभा चुनावबाहेक ०४८ सालयताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । ओली ०६४ सालको संविधानसभा निर्वाचनमा भने झापा क्षेत्र नम्बर ७ बाट पराजित भएका थिए । त्यतिबेला उनलाई माओवादीका विश्वदीप लिङ्देनले हराएका थिए ।
यसैगरी अघिल्ला दुई निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो प्रयासमा प्रतिनिधिसभा सदस्य बनेका छन् । यस पटक भने एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतले हराउँदै उनी प्रतिनिधिसभा सदस्य बनेका हुन् । एमालेको प्रभाव क्षेत्र मानिने झापा क्षेत्र नम्बर १ मा कांग्रेसले २३ वर्षपछि जित निकालेको हो । उक्त निर्वाचन क्षेत्रबाट यसअघि ०५६ सालको मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जित हासिल गरेका थिए ।
यस पटकको निर्वाचनमा शर्माले ३९ हजार ६ सय २४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी खरेलले भने २५ ३ सय ४९ मत मात्र प्राप्त गर्न सके । शर्मा ०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र ०७४ सालको निर्वाचनमा गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।
यसैगरी नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थानी ३४ हजार ६ सय २५ मतसहित प्रतिनिधिसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गरे । थानी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।उनी शेखर कोइरालापक्षीय नेता मानिन्छन् । सुर्खेत क्षेत्र नम्बर २ मा यस पटक ७६ हजार ३ सय ५२ मत खसेको थियो । थानी यसअघि ०५६ र ०७० सालमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनी विगतमा सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भइसकेका छन् । ०७४ सालको निर्वाचनमा एमालेका नवराज रावतसँग पराजित भएका थानीले यो पटक गठबन्धनको बलमा एमालेसँग बदला लिएका हुन् ।
यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रिजाल ३१ हजार १ सय ४२ मतसहित प्रतिनिधिसभामा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जालिम मियाँले २५ हजार ६ सय १९ मत प्राप्त गरे ।
यसैगरी कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भण्डारी ३० हजार ६ सय ४ मतसहित प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १ सय ३० मतमा चित्त बुझाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय जोशीले ५ हजार ३ सय ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरेन्द्रप्रताप महतले १ हजार ४ सय २१ मत प्राप्त गरे ।
यसैगरी दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बडु २८ हजार ५ सय १५ मत ल्याउँदै विजयी भएका हुन् । उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । एमालेका ठगुन्नाले २६ हजार ३ सय ८१ मत पाए । ठगुन्ना ०७० र ०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५ सय ७७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका नेता राईले भने २३ हजार ५ सय २० मत मात्र ल्याउन सके । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुदीपनरसिंह राणाले भने ४ हजार ४ सय ३ मत मात्र प्राप्त गरे ।
यसैगरी ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई विजयी भएका छन् । उनी दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गरे । भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गरे । बुढाक्षेत्रीले भने २१ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए ।
यसैगरी सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत निकै फराकिलो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मताको फराकिलो अन्तरले हराएका हुन् ।
पहिलो पटक संसदीय राजनीतिमा होमिएका राउतले ३५ हजार ४२ मत प्राप्त गरे । यादवले भने १६ हजार ९ सय ७९ मत पाए । जसपाका अध्यक्ष यादब यसअघि सप्तरीको सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
बेलायतको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गरेका राउत ०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत ०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
उनले शान्तिपूर्ण राजनीतिमा आएपछि ‘जनमत पार्टी’ का रूपमा नयाँ राजनीतिक दल गठन गरेका थिए । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि उनको पार्टीले भाग लिएको थियो । स्थानीय निर्वाचनमा उनको पार्टीले सप्तरीमा दुई वटा स्थानीय तहमा जित हासिल गरेको थियो ।
यसैगरी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले पराजित गरेका हुन् । केसीले २१ हजार ४ सय ५१ मत ल्याए । एमालेका पाठकले भने १८ हजार ८ सय २५ मत पाए ।
यसैगरी बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्म्दवार लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरे । चौधरीले २६ हजार ५ सय २० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी पन्थले भने २६ हजार ३ सय ८४ मत ल्याए ।यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दोषी ठह¥याएपछि कारागारमा रहेका पूर्वसांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर, वर्तमान कानुनबमोजिम उनको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि नागरिक उन्मुक्ति पार्टीले पहिले नै लालवीरको उम्मेदवारी दर्ता गराएको थियो । लालवीर रेशमका पिता हुन् ।
यसैगरी नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट १२ हजार ७५ मतान्तरसहित निर्वाचित भएका हुन् । उनले एमालेकी निरुदेवी पाललाई पराजित गरे । लेखकले ३० हजार ५ सय २३ मत पाए । पालले १८ हजार ४ सय ४८ मात्र मत पाइन् । ०७४ सालको निर्वाचनमा एमालेका दिपकप्रकाश भट्टसँग झिनो मतअन्तरले पराजित भएका लेखकलाई यसपटक भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएका थिए । कांग्रेसका केन्द्रीय सदस्य रहेका लेखक यसअघि ०५६ र ०७० सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसैगरी रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार २ सय ९६ मतले पछि पारे । शुक्लले २८ हजार मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरे । जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याए ।
यसैगरी कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापतिसमेत रहेका बलायर एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
बलायर २६ हजार १ सय ७१ मत प्राप्त गर्दै विजयी भएका हुन् । भट्टले भने २२ हजार ५ सय ८७ मत पाए । उनीहरु बीचको मतान्तर ३ हजार ५ सय ८४ रहेको छ । डोटीका बलायर सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि कैलाली झरेर चुनाव लडेका थिए । ०७४ सालको निर्वाचनमा बलायर डोटीमा प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar