काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई आग्रह गरेका छन् ।
आगामी निर्वाचनका सन्दर्भमा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उनले भने, ‘मैले त भन्दै आएको छु । १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनु भयो नेताज्यू ?’ उनले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न पनि आग्रह गरे । कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. भोजराज पोखरेल, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा सम्पन्न गराउने सन्दर्भमा नागरिक संवाद गरिएको थियो ।
यसैबीच, निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले आगामि निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आइतबार जनकपुरधाममा आयोजित ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । ‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन,’ उनले भने, ‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो जरुरी छ ।’
उनले निर्वाचन आचारसंहिता पालन गर्न सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । ‘निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन,’ आयुक्त जबराले भने, ‘तर निर्वाचन आचारसंहिता उल्लङ्घन भइरह्यो भने आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवाना पनि गर्न सुर गरिसकेका छौँ ।’ विगतको निर्वाचनहरूभन्दा अहिलेको निर्वाचनमा आचारसंहिता उल्लंघनमा कमी आएकोप्रति आयोग सन्तुष्ट रहेको उल्लेख गर्दै उनले आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन समितिहरू बनाएर निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको बताए । निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उम्मेदवारहरूको खर्च सीमा तोकेको स्पष्ट पार्दै आयुक्त जबराले चुनाव लड्ने, खर्च गर्ने तर आयोगमा खर्च विवरण नबुझाउनेहरूमाथि आयोगले कारबाही गरेको बताए ।
कार्यक्रममा धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मुलुक निर्वाचनमय भएका बेला सबैले भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने वातावरण बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । कार्यक्रममा निर्वाचन आचारसंहिता र त्यसको कार्यान्वयनको अनुगमन विषयक प्रस्तुति गर्दै पूर्वसचिव वेगेन्द्रराज शर्मा पौडेलले निर्वाचन आचारसंहितालाई सबैले ख्याल गर्नुपर्ने बताए । निर्वाचन आयोग नेपालका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगले तोकेको खर्च सीमामै रहेर उम्मेदवारहरूले खर्च गर्नुपर्ने बताए । निर्वाचन खर्च र प्रचारप्रसार शीर्षकमा सहजीकरण गर्नुहुँदै सहसचिव भट्टराईले निर्वाचन आचारसंहिता विपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारहरू, कानुन व्यवसायी, सञ्चारकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यसैबीच, आगामी मंिसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल बनाउन देशब्यापी रुपमा नमूना मतदान कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाद्वारा प्रथम पटक मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा आइतबार नमूना मतदान गरेको जनाएको छ । मतपत्र बदर हुन नदिने उद्देश्यले आयोजना गरिएको नमूना मतदानबाट मतदातालाई कति ठाउँमा मतदान दिने र कसरी मतदान गर्ने भनेर जागरुक बनाउन कार्यक्रम गरिएको कार्यालयका कार्यालय प्रमुख लुम्वनाथ पोखरेलले जानकरी दिए । त्यहाँ नमूना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी रहेका थिए । नमूना मतदानका क्रममा प्रतिनीधिसभा प्रत्यक्षको मात्र मतगणना गरिएको थियो । जसमा खसेको ५३ मतमा ५२ वटा मत सदर भएको थियो भने एक मत बदर भएको प्रमुख पोखरेलले बताए । यसपछि मकवानपुरको वकैया गाउँपालिकालगायत विभिन्न स्थानमा नमूना मतदान हुने सो कार्यालयले जनाएको छ ।
यसैगरी बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार, जिल्लाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । हरेक पालिकाले स्थानीयस्तरमा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएका उनले बताए ।समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रमको अनुगमनसमेत पालिकाले नै गर्नेछ । निर्वाचनलाई दृष्टिगत गर्दै सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम मंसिर १ गते सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मतदाता शिक्षाले मतबदरको संख्या घटाउने फुँयालको दाबी रहेको छ ।
यसैगरी जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिइन लागिएको जनाइएको छ । नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनु पर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एक÷एक गरेर चार मतपत्रमा छाप लगाउनुपर्नेछ । आयोगले आगामी मंसिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने जनाएको छ । बैतडीमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको छ । यहाँ १लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।
यसैबीच, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए । उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले १ सय ६५ निर्वाचन क्षेत्रमा ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिनुभयो । कार्यकारी निर्देशक गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यसपटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar