काठमाडौं –अहिले फेसबुकले निकै कहाली लाग्दो अवस्थाको सामना गरिरहेको छ ।फेसबुकको भन्दा बढि माग टिकटक को रहेको छ।
पछिल्लाे १० महिनामा फेसबुकको भ्यालु ६२ प्रतिशतले घटेको विभिन्न तथ्याङ्कले देखाएका छन् । यसको अर्थ कम्पनीको कुल भ्यालु जति छ, त्यसको आधाभन्दा बढी सम्पत्ति गुमिसकेको छ ।कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको सम्पत्ति पनि दिनानुदिन घट्दो क्रममा छ । कुनै समय १३४.५ अर्ब डलर सम्पत्ति रहेर तेस्रो स्थानमा रहेका जुकरबर्ग अहिले कुल ४८.३ अर्ब डलरका साथ २४औँ स्थानमा रहेका छन् । यसको अर्थ जुकरबर्गले पछिल्लो १० महिनामा ४९ अर्ब डलर गुमाएका छन्, जुन नेपालको कुल ग्राहस्थ उत्पादनभन्दा डेढ गुणा बढी हो ।
विभिन्न कार्यक्रममा फेसबुकले नयाँ नीति ल्याएको वा नयाँ फिचर ल्याएर चर्चामा आइरहे पनि पछिल्ला केही वर्षदेखि भित्रभित्रै यसले निकै संघर्षपूर्ण अवस्थाको सामना गरिरहेको छ । फेसबुकको यो अवस्था आउनुका पछाडि विशेषगरी तीन प्रमुख कारण छन् ।यसो त मार्क जुकरबर्गले आफ्नो प्रमुख कम्पनीको नाम फेसबुक ईन्कबाट मेटा राखेपछि यो अवस्था आइरहेको छ । तर, यो केबल संयोग हो भन्दा पनि हुन्छ । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर भन्दा पनि अन्य विविध कारणले घाटा व्यहोरिरहेको छ ।
जुकरबर्ग आफैंले पनि मेटा सञ्चालनमा आएको पाँच वर्षसम्म कम्पनी घाटामा जाने बताएका थिए । तर, उनले कम्पनीको वृद्धि जुन कारणले सुस्त हुन्छ भन्ने अपेक्षा गरेका थिए, त्यसभन्दा फरक तरिकाले वा भनौँ फरक कारणले कम्पनी ओरालो लागिरहेको छ ।
अब चर्चा गरौँ, तीन विशेष कारणको । फेसबुकको यो अवस्था आउनुपछाडिका कारण हुन् टिकटक, एप्पल र प्रयोगकर्ता अभाव ।
प्रयोगकर्ताको अभाव
हुन त झट्ट प्रयोगकर्ताको अभाव कहाँ छ भन्ने लाग्न सक्छ । यसो हिसाब गर्ने हो भने अहिले विश्वको जनसङ्ख्या करिब ८ अर्ब (७ अर्ब ९७ करोड) । यसमा २ अर्ब ९१ करोड फेसबुक प्रयोगकर्ता रहेका छन् । आठ अर्बमा २ अर्ब ९१ करोड घटाउँदा ५ अर्ब बढी हुन आउँछ ।
यसमा पनि चीन, रुस र इरानमा कुल १ अर्ब ७० करोड जनसङ्ख्या छ । यी तीन देशले फेसबुकमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन् । यसमा १ अर्ब ६० करोड घटाउँदा करिब ३ अर्ब ३० करोड जनसङ्ख्या बाँकी भए, जसमा ३ अर्ब जनसङ्ख्या त्यस्तो अवस्थामा छ, जोसँग इन्टरनेटको कुनै पहुँच नै छैन ।
उदाहरणका लागि केही विकासोन्मुख देशका नागरिकले कुनै किसिमको इन्टरनेटको सेवा पाएका छैनन् । अब बाँकी भए ३० करोड । यसबाट के हिसाब गरौँ भने १५ प्रतिशत यस्ता जनसङ्ख्या छन्, जसको उमेर १० वर्षभन्दा कम र ९० वर्षभन्दा बढी छ ।
यसको अर्थ यो उमेर समूहका मानिसहरूले विरलै फेसबुक प्रयोग गर्छन् । त्यस्तै फेसबुक बहिष्कार गरेर नगर्ने मानिसहरूको सङ्ख्या पनि उच्च छ । यी सबै वर्गको हिसाब गर्दा फेसबुकलाई नयाँ प्रयोगकर्ताको अभाव भइरहेको छ । यसबाट नयाँ ग्राहक नपाउँदा फेसबुकले पुरानै ग्राहकबाट काम चलाइरहेको छ ।
फेसबुकले ३ फेब्रुअरी २०२२ मा आफ्नो डेटा सार्वजनिक गरेको थियो । जहाँ फेसबुकको आम्दानी घटेको देख्न सकिन्छ । त्यस्तै उक्त डेटाबाट कुल प्रयोगकर्ता पनि कम भएको निष्कर्ष आयो । यसबाट फेसबुकका लगानीकर्तालाई ठूलो झट्का पर्यो, जसले गर्दा अप्रत्याशित रूपमा फेसबुकको शेयरमा गिरावट आउन सुरु भयो ।
त्यही दिन फेसबुकको भ्यालु २ खर्ब ३० अर्ब डलरले घटेको थियो । अहिले २०२२ अक्टोबर २० तारिखमा फेसबुकको भ्यालु ३ खर्ब ५८ अर्बमा सीमित छ । त्यस्तै फेसबुकका प्रयोगकर्ता घट्नुको अर्को कारण हो मृत्यु । फेसबुकमा कुल जति प्रयोगकर्ता छन् त्यसको १ प्रतिशत प्रयोगकर्ताको मृत्यु भइसकेको छ ।
मृत्यु भइसकेका प्रयोगकर्ताको अकाउन्ट डिलिट कसले गरोस्, जुन अकाउन्ट अहिले पनि निस्क्रिय अवस्थामा छन् । त्यस्तै औसत ८ हजार फेसबुक प्रयोगकर्ताकाे विभिन्न कारणले दैनिक रूपमा निधन भइरहेकाे छ । यसबाट पनि फेसबुकको प्रयोगकर्ता घटिरहेका छन् । फेसबुकका प्रयोगकर्ता यसरी घट्दा फेसबुकलाई कुनै फरक पर्दैन । फरक त त्यो कुराले परेको छ, जसले गर्दा अहिलेका युवा पुस्ता फेसबुकबाट टाढा गइरहेका छन् ।
२०१४ मा अमेरिकाका किशोर किशोरीमा गरिएको सर्वेक्षणमा करिब ७१ प्रतिशतले फेसबुक प्रयोग गर्ने गरेको पाइएको थियो । अहिले २०२२ मा जम्मा ३२ प्रतिशतले मात्र फेसबुक प्रयोग गर्छन् । यसको अर्थ फेसबुकबाट युवा पुस्ता टाढा गइरहेका छन् ।
फेसबुकमा युवा पुस्ता विस्तारै घट्दै गइरहेका छन् भने वृद्धा अवस्थाका प्रयोगकर्ताको सङ्ख्या बढिरहेको छ । तपाईँले घरमा पनि याद गर्नु भएको होला, अहिले बुढा मानिसहरू फेसबुकमा सक्रिय हुन थालेका छन् । समय बिताउन र आफ्ना पुराना साथीसँग गफ गर्न पाउने भएपछि धेरै वृद्ध मानिसहरूको दैनिकी यसैमा बित्न थालेको छ ।
युवाहरू नयाँ नयाँ प्रविधि वा माध्यममा आकर्षित भइरहेका छन् भने पुरानो पुस्ताका मानिस फेसबुकलाई आत्मसात् गर्न थालेका छन् । त्यसैले पनि कतिपयले यसलाई ‘अवकाशीहरूको सामाजिक सञ्जाल’ नाम दिएका छन् ।
टिकटक
फेसबुक स्थापना भएको सुरुवाती समयमा निकै नै लोकप्रिय थियो । धेरै मानिसहरू यस माध्यममा नयाँ र इन्टरनेटको आगमन सँगसँगै भएकाले प्रयोगकर्ताको सङ्ख्या तीव गतिले बढेको थियो । त्यस्तै त्यस समयमा फेसबुकका जति पनि प्रतिस्पर्धी आए, सबैलाई पछ्याउँदै फेसबुक अगाडि बढिरह्यो । अहिले जताततै फेसबुकका प्रतिस्पर्धी छन् ।
जब सुरुवाती दिनमा फेसबुक सार्वजनिक भएको थियो, त्यसबेला मानिसहरू आफ्ना विभिन्न प्रयोजनका लागि यसलाई प्रयोग गर्ने गर्थे । अझ सामान्य अर्थमा भन्नुपर्दा फेसबुकलाई मानिसहरूले अल-इन-वान का रूपले प्रयोग गरेका थिए । फोटो राख्न, भिडिओ राख्न, आफ्ना साथीहरूसँग कुरा गर्न आदिका लागि मानिसहरूले फेसबुकको प्रयोग गर्थे ।
जब विस्तारै अन्य प्लेटफर्म आउन हुन थाले, त्यसपछि फेसबुकको वृद्धिमा कमी हुन थाल्यो । यदि प्रयोगकर्तालाई लामो भिडिओ वा भनौँ फिल्म हेर्नुपर्यो भने युट्युब थियाे । त्यस्तै छोटा भिडिओ हेर्नका लागि मानिसहरूले टिकटकलाई आफ्नो विकल्प बनाए । फोटो राख्नुपर्यो वा आफू घुम्न गएका ठाउँ देखाउन पर्यो भने मानिसहरू इन्स्टाग्रामको प्रयोग गर्न थाले ।
त्यस्तै फोटो पठाएर रमाइलो गर्नका लागि मानिसहरू स्न्यापच्याटको प्रयोग गर्न थाले । च्याट गर्नका लागि पनि विभिन्न मेसेजिङ एप आइसकेका छन् ।
हरेक फिचरका लागि विशेष प्लेटफर्म उपलब्ध भए । यी सबै फिचर पहिले फेसबुकबाट प्रयोग भइरहेका थिए । जसरी फेसबुकले सबै कुरा समेटेर मध्यम स्तरको सुविधा दियो, त्यसलाई पछि पार्दै अन्य प्लेटफर्मले विशेष फिचर विशेष तरिकाले उपलब्ध गराउन थाले ।
प्रयोगकर्ताले विशेष फिचरका लागि विशेष प्लेटफर्म रोज्न थाले । त्यसपछि पेसबुकको लोकप्रियता घट्न थाल्यो । युवा पुस्तालाई नयाँ नयाँ कुरा अनुभव गर्ने रहर हुन्छ । त्यसैले पनि युवा पुस्ताले फेसबुकको विकल्पमा नयाँ प्लेटफर्म खोजिरहेका थिए ।
युवा आफ्नो प्लेटफर्मबाट बाहिर जान थालेपछि किन गए भन्ने प्रश्न आयो । जसलाई समाधान गर्न फेसबुकले टिकटकको जस्तो छोटा भिडिओ (रिल) राख्न मिल्ने फिचर ल्यायो । अब जो प्रयोगकर्ता टिकटकमा अभ्यस्त भइसकेका छन् उनीहरूलाई फेसबुकको रिलमा आउन मन छैन ।
त्यस्तै यही फिचर इन्स्टाग्राममा ल्याउन खोज्दा इन्स्टाग्रामका केही प्रयोगकर्ता पनि रुष्ट छन् । अहिलेका प्रयोगकर्ता अधिकतम समय टिकटकमा बिताउने गर्छन् । यसैगरी टिकटकका कुल प्रयोगकर्ताले दैनिक १९७.८ मिलियन घण्टा समय बिताउने गर्छन् भने इन्स्टाग्रामका प्रयोगकर्ताले रिल हेर्न दैनिक १७.६ मिलियन घण्टा बिताउने गर्छन्, जुन टिकटकको तुलनामा १ ० गुणा कम हो ।
इन्स्टा तथा फेसबुकमा प्रयोगकर्ता आकर्षित गर्न खोज्दा फेसबुकलाई कपीको ट्याग लागिरहेको छ, जसले गर्दा बढ्नुपर्ने प्रयोगकर्ता दिनानुदिन घटिरहेका छन् ।
एप्पल
फेसबुक ओरालो लाग्नुको अर्को प्रमुख कारण हो, एप्पल । फेसबुकले आम्दानी गर्ने भनेको विज्ञापनबाट हो । उदाहरणका लागि हामीलाई केही कुरा आवश्यक परेको छ । हामीले त्यो कुरा कतै पनि सर्च गर्यौँ भने त्यसको केही समयपछि हाम्रो फेसबुक फिडमा उक्त वस्तुको विज्ञापन आइपुग्छ ।
हामीले खोजेको कुरा फेसबुकलाई कसरी थाहा हुन्छ त भन्ने लाग्नसक्छ । हाम्रा जति पनि डेटा छन् सबै फेसबुकसँग रहेका हुन्छन् । ग्यालरीमा भएका फोटो, कन्ट्याक्टमा भएका फोन नम्बर यी सबै कुरामा फेसबुकको पहुँच पुग्छ । वा भनौँ हामीले नै यी सबै कुरामा फेसबुकलाई पहुँच दिएका हुन्छौं ।
यही डेटा प्रयोग गरी फेसबुकले विज्ञापनमार्फत आम्दानी गरिरहेको हुन्छ । अब कुरा गरौँ एप्पलको । एप्पलले भन्यो- यदि फेसबुकलाई उसका प्रयोगकर्ताको डेटा लिनुपर्यो भने पर्मिसन (अनुमति) लिनुपर्छ । जसरी फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताको डेटा ट्रयाक गर्छ, त्यसरी एप्पल डिभाइसका प्रयोगकर्ताको गर्न सक्दैन ।
डेटा ट्रयाक गर्नुअघि फेसबुकले प्रयोगकर्ताबाट अनुमति मागेको हुनुपर्छ । अब प्रायः एप्पल प्रयोगकर्ता डेटा तथा व्यक्तिगत विवरणका बारेमा जानकार नै हुन्छन् । उनीहरूलाई डेटा ट्रयाक गर्छु भन्दा पक्कै पर्मिसन दिँदैनन् ।
आईओएस १४.५ अपडेटपछि फेसबुकले आईफोन प्रयोगकर्ताको डेटा ट्रयाक गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ । प्रायः आईफोन प्रयोगकर्ता नै धेरै खर्च गर्ने गर्छन् । उनीहरूलाई उपयुक्त विज्ञापन पठाउन नसक्दा फेसबुकमार्फत विज्ञापन गर्न चाहनेको सङ्ख्या घटिरहेको छ, जसले गर्दा फेसबुकको विज्ञापन नीति असफल भइरहेको छ ।
यही एक कारणले गर्दा यस वर्ष फेसबुकलाई १० अर्ब डलर घाटा लागेको छ । यो पनि दिनानुदिन बढिरहेको छ ।
यी तीन कारणले गर्दा नै फेसबुक ओरालो लागिरहेको छ । भन्नेहरूले मार्क जुकरबर्गलाई केही कदम अगाडि रहेको बताउँछन् । यही भाव भएका व्यक्तिले मार्कजुकरबर्गको मेटाभर्सको परिकल्पना सफल हुने अपेक्षा गरेका छन् ।
सुरुवाती चरणमा मेटाभर्सको भर्चुअल रियालिटीले पनि राम्रो प्रशंसा बटुल्न सकेको छैन । जुकरबर्ग नयाँ नयाँ काम गर्नसक्ने व्यक्तिका रूपमा परिचित छन्, जसले गर्दा उनले फेसबुकलाई आगामी दिनमा अगाडि बढाएर कम्पनीलाई पुरानै अवस्थामा फिर्ता ल्याउनसक्ने अपेक्षा गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar