काठमाडौं – सेवाग्राहीको करोडौं हिनामिना गर्ने माछापुच्छ्रे बैंकले आफ्नो गल्ति स्वीकार गरेको छ ।
आज आइतबार बैंकले एक सूचना प्रकाशित गर्दै रुपन्देहीको समरीमाई गाउँपालिका – ५ स्थित रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका – २ मुजहानामा सञ्चालित शाखारहित ग्राहक सेवा केन्द्रका व्यावसायिक प्रतिनिधिले सर्वसाधारणबाट निक्षेप लिएर हिनामिना गरेको स्वीकार गरेको हो ।
उक्त विषयमा बैंकको तर्फबाट गम्भिर गल्ति भएको भन्दै उक्त स्थानको दुई शाखारहित ग्राहक सेवा केन्द्रका व्यावसायिक प्रतिनिधिविरुद्ध प्रहरीमा उजुरी दिएको बताएको छ । साथै त्यसका पीडित ग्राहकलाई पनि सम्बन्धीत् प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ । बैंकका व्यावसायिक प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाए मासेको लिखित रुपमा नै स्वीकार गरिसकेकोले उक्त कार्यबाट पीडित भएकाहरुलाई बैंकले सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रक्रियामा सहभागी हुन आह्वान गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘व्यावसायिक प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने र सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको छ । उक्त कार्यबाट पीडित हुनु भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागी हुन समेत अवगत गराउँदछौं’ बैंकले भनेको छ । उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाइममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाइन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफैं अपचलन गरेको स्वीकार गरेको बैंकले जनाएको छ ।
त्यस्तै बैंकको शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका अनुसार रोइनिहवा र मुजहानामा शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले निरन्जन पाठक र सिकन्द्र ठाकुरलाई व्यवसायिक प्रतिनिधी नियुक्त गरिएको थियो । उक्त ग्राहक सेवा केन्द्रबाट दिइने सेवा हाललाई बन्द गरिएको पनि विज्ञप्तीमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar