काठमाडौं – आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । तर, ०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय रहेका केही राजनीतिक दलका चर्चित अनुहार भने यसपटकको चुनावी दौडमा सहभागी भएका छैनन् ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरूमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाउन सकेनन् भने कोही स्वेच्छाले नै सक्रिय राजनीतिबाट बाहिरिएका हुन् । निर्वाचन आयोगले आइतबार प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । उक्त अवधिमा देशभरबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र रूपमा समेत हजारौँले उम्मेदवारी दर्ता गराएका छन् । तर, त्यसमा कतिपय चर्चित अनुहार भने देखिएका छैनन् ।
नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा. अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत उम्मेदवारका रूपमा देखिएनन् । पार्टीले टिकट नदिएपछि अमेश सिंहले सर्लाहीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी नेकपा एमालेका नेता डा.भीमबहादुर रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि उम्मेदवारका रूपमा अगाडि आएका छैनन् । मुख्यमन्त्री भइसकेका नेकपा एमालेका डोरमणि पौडेलले पनि टिकट पाएनन् । एमालेले रामवीर मानन्धर, गंगा चौधरी र घनश्याम भुषाललाई पनि टिकट दिएन । पार्टीले टिकट नदिएपछि भुषाल र चौधरीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, नेता हरिबोल गजुरेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पनि उम्मेदवारी परेन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि यसपटक निर्वाचनमा उम्मेदवार बनेका छैनन् ।यसैबीच, निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म प्रतिनिधिसभा र प्रदेशसभा गरी कुल ६ हजार ४ जनाको उम्मेदवार्री न्ट्री भएको छ । दुवैतर्फ जम्मा ५ हजार ४ सय ६९ जना पुरुषको उम्मेदवारी परेको छ । प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ जम्मा ५ सय ३२ जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।
लैंगिक अल्पसंख्यक समुदायबाट एक जनाको मात्रै उम्मेदवारी परेको छ । उक्त समुदायबाट सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो । आयोगका अनुसार, प्रतिनिधिसभातर्फ जम्मा २ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २ हजार २ सय ९१ जना पुरुष र २ सय ३५ जना महिलाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभातर्फ ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ हजार १ सय ७८ जना पुरुष र २ सय ९७ जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
आगामी निर्वाचनका लागि मतदाता नामावलीमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता संख्या छ । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८ सय ६, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि आयोगले असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १ सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar