काठमाडौं – विगत एक सातादेखि निरन्तर रूपमा भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका अधिकांश भागको जनजीवन अस्तव्यस्त बनाएको छ ।
ठूलो जनधनको क्षति गरेपछि केही प्रदेशमा वर्षा रोकिँदै गएको छ भने केही प्रदेशमा अझै पनि निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षासँगै आएको बाढी÷पहिरोले सबैभन्दा बढी कर्णाली प्रदेशलाई आक्रान्त बनाएको छ । कर्णाली प्रदेशमा बाढी÷पहिरोका कारण पछिल्लो २४ घण्टाको अवधिमा १६ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । बाढी-पहिरोले करोडौँको धनमालमा क्षति पुर्याएको छ भने सयौँ घर जोखिममा परेका छन् । निरन्तर रूपमा वर्षा भइरहेका कारण खोला छेउछाउ र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूमा त्रासको अवस्था सिर्जना भएको छ ।
यसैक्रममा एक सातादेखिको अविरल वर्षाका कारण मुगु जिल्लामा मानवीय तथा धनजनको ठूलो क्षति भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–११ तल्लो सालीम गाउँको माथिबाट पहिरो खस्दा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पहिरोका कारण २५ घर विस्थापित भएका छन् । बेपत्ताको स्थानीयले खोजी कार्य जारी राखेका छन् । आइतबार हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि हजारीका परिवारले घरभित्रको सबै सामान छिमेकी मानबहादुर भग्रीको घरमा सारेर दुबै घरपरिवार मानबहादुरको घरमा बसेका थिए ।
दुबै परिवार घरभित्र बसेका बेला माथिबाट एक्कासि पहिरो खसेको थियो । यसरी खसेको पहिरोले घर पुर्दा दुबै परिवारका गरी आठ जनाको मृत्यु भएको जानकारी छायाँनाथ रारा नगरपालिका–११ की वडाध्यक्ष कुन्जुमा कुमाइले दिइन् । पहिरोमा पुरिएर मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–११ कि ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय बीरबहादुर भग्री, १५ वर्षीय चक्रबिर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत र ६० वर्षीया हाजीरा भग्री रहेको जानकारी वडाध्यक्ष कुमाईले दिइन् ।
आइतबार दिउँसो ३ बजेतिर घटना भए पनि मोबाइल नेटवर्कको समस्याका कारण त्यसको जानकारी सोमबार बिहान १० बजे मात्र आउन सकेको थियो । घटनाको जानकारी ढिलो प्राप्त भए पनि गमगाड खोलामा आएको बाढीले पुल÷पुलेसा सबै भत्काएको हुँदा २५ जना सुरक्षाकर्मीको टोली सोमबार अबेरसम्म पनि घटनास्थल पुग्न नसकेको जानकारी जिल्ला प्रहरी कार्यालयका मुगुका प्रहरी नायब उपरीक्षक सुभाष हमालले दिए । पहिरोले अन्य घरहरूमा क्षति पुर्याउँदा २५ घरपरिवार विस्थापित भएका छन् । अन्य भौतिक तथा धनमालको कति क्षति भयो भन्ने अझै एकिन हुन सकेको छैन । विस्थापित परिवारलाई गाउँमै रहेको प्रभात माध्यमिक विद्यालयमा राखिएको छ । अहिलेसम्म सहयोग र उद्धारका लागि गाउँमा कोही नपुगेको वडा प्राविधिक जितेन्द्र कुमाईले बताए ।
एक सातायता जिल्लामा फोन, विद्युत्, इन्टरनेटलगायतका सबै सुविधा अवरुद्ध भएको छ । त्यसैले पनि वर्षाले जिल्लामा कहाँकहाँ के कति क्षति भयो भन्ने यथार्थ विवरण बाहिर आउन सकेको छैन । वर्षाले नगरपालिकाको गमगाडमा रहेका काठे साँघु, झोलुङे पुल सबै बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पु¥याउँदा विद्युत् अवरुद्ध भएको जानकारी प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दिए ।
अझै जिल्लाभर के कति भौतिक तथा मानवीय क्षति भएको भन्ने जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बिहान मात्र केही गाउँमा पुग्दा दर्जनौँ घर भत्किएका छन् । यातायात पूर्णरूपले अबरुद्ध छ । प्रजिअ महतका अनुसार, छायाँनाथ रारा नगरपालिका–११ मा भएको घटनाका पीडित र अन्य गाँउलेलाई तत्काल सुरक्षित स्थानमा राख्नका लागि वडाध्यक्षसँग समन्वय भइरहेको र सबै गाउँलेलाई प्रभात मावि रोवामा लगिएको छ । जिल्ला गैरसरकारी संस्थासँग समन्वय गरी तत्काल राहत वितरण गरिने तथा औषधि र डाक्टरको टोलीसहित आफूसमेत घटनास्थलमा पुग्ने पनि महतले बताए ।
घटनास्थलमा अहिले स्थानीयले पहिरोमा पुरिएकाहरूको खोजी गरिरहेका छन् । सुर्खेतबाट हेलिकोप्टर उद्धारका लागि मुगु जाने तयारी गरे पनि प्रतिकूल मौसमका कारण हालसम्म घटनास्थलमा आउन सकेको छैन । झ्यारीगाउँ, टोप्ला गाउँ, ढुम, भियालवाडा गाउँ र सदरमुकाम गमगढिको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षति पु¥याउँदा करिब पाँच सय परिवार विस्थापित भएको स्थानीयले बताएका छन् । तर, प्रतिकूल मौसम र खेलानालाको पुल बाढीले बगाएका कारण उद्धारका लागि सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिन भइरहेको प्रजिअ महतले बताए ।
नेपाल विद्युत् प्राधिकरणको गमगाढ वितरण केन्द्रको पावर हाउसलगायत संरचना सबै गमगाढ खोलामा आएको बाढीले बगाएको महतले बताए । वर्षाले खत्याड गाँउपालिका–९ नखर्जीगाउँको खोलीबाडा र सोही वडाको देनबाडाको पुरै बस्ति बिस्थापित भएपछि स्थानीय विद्यालयमा राखिएको छ । सोरु गाउँपालिका–८ तारापानीमा रुमखोलामा बाढी आउँदा १२ घरमा क्षति गरेको र दर्जनौँ घर पहिरोको उच्च जोखिममा रहेका शिक्षक वीरबहादुर बमले बताए । उनका अनुसार, बाढिपहिरोले खेतीयोग्य जमीन पनि बगाएको छ । तारापानीमा बन्दै गरेको १५ शय्याको अस्पताल पनि पहिरोले पुरिएको छ । छायाँनाथ रारा नगरपालिकाको भामबाडा, ढुमा, कार्कीबाडा पिना, तुमा, बालै घुईर, झयारी, टोप्ला, कोटीलालगायत एक दर्जन बस्तीका सयौँ घरपरिवार विस्थापित भएका छन् ।
यसैगरी निरन्तरको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण कालिकोटमा चार जनाको मृत्यु भएको छ । पहिरोमा परी १९ जना बेपत्ता भएका छन् । कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीका १३ जना बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । राचुलीमा आइतबार मलामी गएका १५ जना पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएका दुई जना सम्पर्कमा आए पनि १३ जना अझै बेपत्ता छन् । पहिरोमा परेका टेकराज शाही र अबराज शाही सुरक्षित अवस्थामा सम्पर्कमा आएका हुन् ।
उनीहरू हिलोमा लत्पतिएको अवस्थामा बाँच्न सफल भएको जानकारी स्थानीयले दिए । २२ वर्षीय युवक हेमराज शाहीको मृत्यु भएपछि मलामी गएकाहरू तिला नदीको किनारामा आएको पहिरोमा परी बेपत्ता भएका हुन् ।पहिरो आएर तिला नदीमा मलामीलाई बेपत्ता बनाएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । राचुली गाउँभन्दा तल बग्ने तिला नदीमा शव लिएर गएका मलामी नदीको किनारामा पुगेपछि माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।
पहिरोमा परी बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही, सोही वडाका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोलिलाल शाही, ५७ वर्षीय मानबहादुर शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजंग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही रहेका छन् । स्थानीय र प्रहरीले पहिरो वरपर खोजी गरे पनि बेपत्ता भएकाहरू भेटिएका छैनन् ।
यसैगरी जिल्लाको तिलागुफा नगरपालिका तल्लो बालीका एक जना, बालीघाटका पाँच जना र भैँसी गौडामा एक जना बेपत्ता भएका छन् । खाँडाचक्र नगरपालिका सेरावाडास्थित एक जना प्रहरी जवान पनि बेपत्ता भएका छन् । यसैगरी सान्नी त्रिवेणी गाउपालिकामा एक जना र पचालझरना गाउपालिकामा एक जना गरी २३ जना बेपत्ता भएकोमा चार जना मृत फेला परेका छन् । अहिले पनि १९ जना बेपत्ता रहेको जानकारी प्रहरी निरीक्षक सुवराज बमले दिए । बेपत्ताको खोजी कार्य जारी राखिएको उनले बताए ।
तिलागुफा–७ बालीगाउँको पहिरोमा घर पुरिँदा बेपत्ता भएका स्थानीय ध्रुवराज विष्टको पाँच जनाको परिवार बेपत्ता भएको थियो । आइतबार बिहान साढे १० बजे घरमाथिबाट आएको पहिरोले घर बगाउँदा विष्टसहित उनकी ३५ वर्षीया पत्नी ममता, १५ वर्षीय छोरा भरत, १३ वर्षीय छोरा कृपेश र ११ वर्षकी छोरी ज्यानी बेपत्ता भएका थिए । लगातारको वर्षाका कारण खसेको पहिरोले कर्णाली राजमार्ग पनि ठप्प भएको छ । सुर्खेत–जुम्ला सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरोका कारण सडक यातायात अवरुद्ध बनेको छ । राजमार्गस्थित सडक खण्डमा बग्ने खहरे खोलाहरू पनि उर्लिएका छन् ।यसैगरी लगातारको वर्षाका कारण पहिरो आउँदा हुम्लाको चंखेली–६ मासिधारको देनबाडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा एउटा घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । चंखेली गाउँपालिका–६ मासिधारा गाउँस्थित देनबाडामा माथिबाट आएको पहिरोले देउच्या विकको घर पुरिएको थियो ।
घर पुरिँदा देउच्या विककी श्रीमती, एक छोरा र दुई छोरीको मृत्यु भएको जानकारी स्थानीय ध्रुवकुमार शाहीले दिए । आइतबार साँझ ७ बजे घरमाथिबाट आएको पहिरोमा परी ६५ वर्षीया आमा होइजाली विक, नौ वर्षीया छोरी तुलसी विक, सात वर्षीया छोरी सुस्मिता विक र पाँच वर्षीय छोरा वसन्त विकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । लगातार वर्षा भइरहेको हुँदा घटनास्थल नजिकै रहेको प्रहरी चौकीसँग सम्पर्क हुन नसकेकाले क्षतिको विस्तृत विवरण आइनसकेको हुम्ला प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद ओझाले बताए । उनले प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी प्राप्त भएको बताए । लगातार परेको पानीले घर माथिको ढिस्को गलेर आएको पहिरोले पुरै घर पुरिएको थियो । पहिरो खस्दा घरभित्रै रहेका देउच्या विकसहित परिवारका तीन जना सदस्य भने गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेलछाम स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी डिएसपी ओझाले दिए ।
पहिरोमा घर पुरिएपछि विक परिवारका लागि गास, बास र लत्ताकपडाको समस्या भएको छ । पहिरोमा परेर घाइते भएका विकको परिवारका सदस्यहरूलाई थप उपचार गर्न समस्या भएको स्थानीय ध्रुवकुमार शाहीले बताए ।शाहीका अनुसार, विकको परिवारलाई अहिलेदेखि नै कहाँ बसेर कसरी छाक टार्ने भन्ने समस्या भएपछि गाउँलेको सहयोगमा केही खाद्यन्न उठाइएको छ । विकको घर मात्र नभएर पहिरोले गाउँका अन्य घरहरू पनि जोखिममा परेका छन् । यसैबीच, झिमरुकमा बेमौसमी वर्षाले अवरुद्ध भएका आन्तरिक सडक खुलाउने काम सुरु भएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र प्राविधिक सहितको टोलीले पालिकाभित्र रहेका आन्तरिक सडकको क्षतिको अनुगमन गरेसँगै पहिरोले क्षतिग्रस्त सडकहरूको पहिरो पन्छाउने काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।
पहिलो चरणमा पालिकाको मुख्य सडकहरू मच्छी चौतामरे गुल्मी अर्घाखाँची सडक, बाग्दुला मच्छी गौमुखी सडकको बतासेडाडा मच्छी सडक, मच्छी तुषारा सडक, मच्छी टिमुरचौर दिहाल्ना सडक, मच्छी ढाडा ओखरकोट सडक, ढाडा बादिकोट सडक, झिमरुक रिङरोड, मजुवा दहखोला गोयलछेडी सडक लगाएत आन्तरिक सडकहरूको मर्मत गरि खुलाउने काम थालिएको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताए । अत्यधिक वर्षा भएकोले ग्रामीण सडकमा दर्जनौँ ठाउँमा पहिरो खस्दा निकै क्षति भएकोले केही समय लाग्ने उनले बताए । पालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठक बसी त्यस्ता विपत्मा परेका घरपरिवारलाई आवश्यक राहत प्याकेज लैजाने अध्यक्ष क्षेत्रीले बताए ।
दशैको लागि मर्मत गरिएका सडकहरू अविरल वर्षाको कारण ठाउँ ठाउँमा जीर्ण भएकोले धेरै खर्च लाग्ने अनुमान पालिकाले गरेको छ । सोमबारसम्म पनि वर्षा नरोकिएकोले सडक मर्मत गर्न समस्या भएको अध्यक्ष क्षेत्रीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar