काठमाडौं – आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ ।
आइतबार उम्मेदवारी दर्ता गर्दा नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यस्तै कतिपय क्षेत्रमा एमाले र जसपाको तालमेलमा पनि विद्रोह भएको छ भने छिटफुट रुपमा सत्ता गठबन्धनको चुनावी तालमेलमा पनि समस्या आएको छ ।
त्यस्तै एमालेमा टिकट नपाएपछि प्रभावशाली नेताहरुले नै विद्रोह गरेका छन् । रुपन्देही क्षेत्र नं.१ मा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । एमाले परित्यागका गरेको घोषणा गरेका नेता भुसालले आइतबार स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।
त्यस्तै टिकट नपाएपछि निवर्तमान सांसद रामवीर मानन्धरले पनि काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । एमालेले काठमाडौं – ७ मा श्याम घिमिरेलाई टिकट दिएको छ । उता स्याङ्जा – २ मा एमाले सचिव पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन् ।
त्यस्तै एमाले – जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेका मानबहादुर खड्काले बागी उम्मेदवारी हालेका छन् । दैलेख – १ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले रवीन्द्रराज शर्मालाई आधिकारिक उम्मेदवार बनाएपछि नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै एमालेकी नेतृ गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमालेले दाङ १ मा शान्ता चौधरीलाई टिकट दिएपछि उनले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।
यस्तै एमाले धादिङका पूर्व अध्यक्ष तथा पुराना कम्युनिस्ट नेता नेत्रराज पौडेलले धादिङ १ को (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीका पुर्व स्वकीय सचिव रमेशकुमार आचार्यलाई टिकट दिएपछि पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
रुपन्देही ५ मा पनि एमालेमा दुई जनाको उम्मेदवारी परेको छ । नेता खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख वासुदेव घिमिरेले बागी उम्मेदवारी दिएका छन् । सुरुमा घिमिरेलाई दिएको टिकट खोसेर भट्टराईलाई दिएपछि घिमिरे समर्थक आक्रोशितसमेत बनेका छन् ।
मनोनयनको केही समय अघि मात्रै वासुदेव घिमिरेको टिकट खोसिएको भए पनि घिमिरेले मनोनयन गरेका छन् । एमालेका जगन्नाथ बास्तोलाले कास्की ३ मा पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले प्रतिनिधिसभा कास्की ३ मा दामोदर वैरागीलाई उम्मेदवार बनाएको छ । वैरागीविरुद्ध बास्तोलाले उम्मेदवारी दर्ता गराएका थिए ।
नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले उक्त निर्वाचन क्षेत्रबाट यसअघिका संघीय सांसद लालबहादुर थापालाई टिकट दिएको छ । सर्लाही १ मा एमालेमा मानबहादुर खड्काको बागी उम्मेदवारी परेको छ ।
सुर्खेत निर्वाचन – १ को प्रदेश सभा (ख) मा एमालेका डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् । खत्रीले आइतबार मेहेलकुनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्मा विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar