धादिङ – प्रतिनिधिसभाका लागि दुुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा नेकपा एमालेबाट उम्मेदवार बन्ने आकांक्षीहरुको ओइरो लागेको छ । विषेशगरी धादिङको प्रतिनिधिसभा क्षेत्र नं. १ एमालेको पकेट क्षेत्रको रुपमा मानिन्छ । आगामी मंसिर ४ गते हुने चुनावको मिति नजिकिएसँगै अहिले जिल्लामा अब को उम्मेदवार बन्ने चर्चाले बजार तातेको छ । जहाँतहीँ चुनावकै चर्चा सुनिन्छ । देश निर्वाचनमा होमियसंगै विगतमा निर्वाचन जितेका र अन्य केही नयाँ अनुहारहरु अहिले चुनावी प्रतिस्पर्धामा उत्रने उद्घोष तयारी गरिरहेका छन् । पछिल्लो केहि समयदेखी आगामी निर्वाचनमा टिकट लिनका लागि नेताहरु शक्ति केन्द्र धाउने क्रम बाक्लिएको छ । निर्वाचनमा टिकट आफुले पाउनुपर्ने दावी गर्दै जिल्लाका प्रायःजसो नेताहरु अहिले राजधानी केन्द्रित भएका छन् ।
धादिङ जिल्ला कम्युनिष्टहरुको किल्ला भनेर चिनिन्छ । त्यस्तै यो क्षेत्रपनि विगतदेखीको निर्वाचन हेर्दा अहिलेसम्म कम्युनिष्ट पार्टीले नै धेरैजसो चुनाव जितेका छन् । विगतदेखीको निर्वाचनको इतिहास हेर्दा धादिङमा कांग्रेसभन्दा कम्युनिष्ट पार्टीका उमेदवारहरुले नै चुनाव जितेको देखिन्छ । नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने नेताहरु मध्येका एक प्रख्यात व्यक्ति राजेन्द्रप्रसाद पाण्डेपनि धादिङकै हुन् । पाण्डेकै कारण धादिङ कम्युनिस्टहरुको लालकिल्ला बनेको स्थानियहरु बताउँछन् । यद्धपी हाल पाण्डे भने एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा आवद्ध भएका छन् भने उनले पार्टीमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् । त्यस्तै उनी हाल पाँच दलिय गठबन्धनको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री पनि हुन् ।
०४८ सालको आम निर्वाचन, ०५१ को मध्यावधि निर्वाचन र ०५६ मा तात्कालिन एमालेबाट नेता राजेन्द्रप्रसाद पाण्डेले जितेका हुन् । त्यसपछि ०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो । त्यसबेला धादिङको दुवै क्षेत्र (तात्कालिन् तिनओटै क्षेत्र) माओवादीले जितेको थियो । त्यसबेला हालको क्षेत्र नम्बर १ (त्यतिवेलाको क्षेत्र नं.३) मा एमालेबाट नेता राजेन्द्रप्रसाद पाण्डे र माओवादी नेता शालिकराम जम्कट्टेलबीच कडा प्रतिस्पर्धा भएको थियो । यद्धपी उक्त निर्वाचन जम्कट्टेलले जितेका थिए । माओवादीको विरासत त्यसपछि भएको ०७० को दोस्रो संविधानसभामा आएर ढलेको थियो । त्यसबेला धादिङका तिनओटैै क्षेत्र एमालेले जित्यो । क्षेत्र नम्बर १ मा धनबहादुर घले, क्षेत्र नम्बर २ मा गुरुप्रसाद बुर्लाकोटी र क्षेत्र नं. ३ मा राजेन्द्रप्रसाद पाण्डेले चुनाव जिते । त्यसपछी बीचमा भएको ०७४ सालको निर्वाचनमा पनि बाम गठबन्धन र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा भयो भने प्रतिनिधीसभाको दुवै क्षेत्र एमालेले जित्यो ।
उता प्रदेशसभाको चारओटै क्षेत्रपनि दुईओटा एमाले र अर्को दुईओटा क्षेत्र माओवादीले जित्यो । त्यसबेला कांग्रेस बिरुद्ध वाम गठबन्धनको तर्फबाट क्षेत्र नं. १ मा भुमिप्रसाद त्रिपाठी र क्षेत्र नं. २ मा खेमप्रसाद लोहनीले चुनाव जितेका थिए । उक्त निर्वाचनमा क्षेत्र नं. १ बाट (तत्कालीन एमाले र माओवादी केन्द्र बीचको गठबन्धनबाट) एमालेका भूमिप्रसाद त्रिपाठीले जितेका थिए । एमाले धादिङका अध्यक्ष रहेका त्रिपाठीले २७ हजार १५३ मतले काँग्रेसका उम्मेदवार विश्वप्रसाद अर्याललाई पराजित गरेका थिए । त्रिपाठीले ४९ हजार १२१ मत पाउँदा अर्यालले २१ हजार ९६५ मत पाएका थिए । ०७४ सालको उक्त निर्वाचनमा भने वाम गठबन्धन एक थिए । तर अहिले एमालेबाहेकका अरु सबै शक्ति एक हुने देखिन्छ भने पाँच दलीय गठबन्धन र एमालेबीचमै चुनावी प्रतिस्पर्धा हुने उच्च सम्भावना रहेको छ ।
उता आगामी निर्वाचनमा एमालेबाटै करिव आधा दर्जन नेताहरु प्रतिनिधिसभा सदस्यमा उमेदवारको आकांक्षी देखिएका छन् । अहिले धादिङ १ मा एमालेले पुनः त्रिपाठीलाई नै उम्मेदवार बनाउने की नयाँ अनुहारलाई अघी सार्ने भन्ने निर्क्यौल गर्न नसकेको एमाले निकट श्रोत बताँउछ ।
यी हुन् एमालेबाट सम्भावित उम्मेदवार !
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव भिड्न तयार रहेको एमाले धादिङमा टिकटको लागी आन्तरिक कलह चर्किएको छ । प्रतिनिधिसभा सदस्यमा हालसम्म करिव आधा दर्जन एमाले नेताहरु प्रतिनिधिसभा सदस्यमा उमेदवारको आकांक्षी देखिएका छन् । एमाले निकट श्रोतका अनुसार प्रतिनिधिसभा सदस्यमा हालका सांसद भूमिप्रसाद त्रिपाठी, पुष्पराज कँडेल, मिनराज कँडेल, लक्ष्मणप्रसाद शर्मा, रमेशप्रसाद आचार्य, नेत्रप्रसाद पौडेल लगायतका नेताहरु आकांक्षी देखिएका छन् ।
आकांक्षीहरुमध्ये सवैभन्दा बलिया उमेदवारको रुपमा पुष्पराज कँडेल रहेको एमालेनिकट श्रोत बताँउछ । एमाले धादिङका एक जिल्ला कमिटी सदस्यका अनुसार कँडेललाई एमालेले क्षेत्र नं. १ बाट उमेदवार बनाउन सक्ने सम्भावना प्रवल रहेको छ । उनी एमाले स्थायी कमिटीमा रहेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको अति निकटतम् समेत रहेकाले यसपटकको निर्वाचनमा कँडेलले टिकट पाउने प्रवल सम्भावना रहेको उनले बताए । त्यस्तै कँडेलले प्रत्यक्षतर्फ टिकट नलियर समानुपातिकतर्फ बस्न चाहेको खण्डमा भने रमेश आचार्यले टिकट पाउने उनी बताँउछन् ।
पाँचदलिय गठबन्धनसंग प्रतिस्पर्धा गर्दा रमेश आचार्यले टिकट पाय जित्ने सम्भावना रहेको पनि उनले बताए । धादिङमा युवाहरुको जमात आचार्यसंग रहेको र उनले टिकट पाए पाँचदलिय गठबन्धनका युवा शक्तिहरुसमेत उनैलाई जिताउन लाग्ने सम्भावना देखियको उनी बताँउछन् । त्यसपछी भने मिनराज कडेल, लक्ष्मण शर्मा र नेत्र पौडेलको सम्भावना रहेको उनी बताँउछन् । उता मिनराज कँडेलको पनि केहि सम्भावना रहेको उनले बताए । तर यसपटकको निर्वाचनमा भने हालका सांसद त्रिपाठी बाहेककाले टिकट पाउने एमालेनिकट श्रोत बताँउछ । त्रिपाठीमाथी जनभावना अनुसार काम नै गर्न नसकेको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar