काठमाडौं – मुलुकमा जीवन बिमाको पहुँच क्रमशः बढ्दै गएको छ।
बिमा कम्पनीको व्यवसाय बढेसँगै बिमा शुल्कबापत संकलित रकमको आकार पनि बढ्दै गएको छ। समग्रमा १९ जीवन बिमा कम्पनी २०७८/७९ मा बिमाबापत १ खर्ब ३८ अर्ब ६४ करोड बराबरको बिमा शुल्क आर्जन गर्न सफल भएका छन्। बिमा कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा १४.४६ प्रतिशतले बढी हो। २०७७/७८ भर जीवन बिमा कम्पनीले १ खर्ब २१ अर्ब १२ करोड ८९ लाख बिमा शुल्क संकलन गरेका थिए। २०७६/७७ मा १९ जीवन बिमा कम्पनीले ९४ अर्ब ३८ करोड बिमा शुल्क संकलन गरेका थिए।
नयाँ बिमा गरेरभन्दा पनि बिमितले नवीकरण गरेबापत धेरै आर्जन गरेको तथ्यांकले देखाएको छ। यसकारण कुल बिमाशुल्कमा नवीकरणको अंश बढी छ। यसर्थ, सो आवभरि कम्पनीले ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका छन्। यो कुल बिमाशुल्कको २९.९० प्रतिशत हो। यस्तै, कम्पनीले नवीकरणमार्फत ९७ अर्ब १९ करोड ३४ लाख, वैदेशिक रोजगारमा गएकाको बिमालेखबापत २२ अर्ब ७४ करोड ४६ लाख कमाएका छन्। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले बिमाबापत शुल्क आर्जन गरेको छ। गत आवमा नेपाल लाइफले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीले प्रथम बिमा शुल्क संकलनमा फड्को मार्दै सबैभन्दा धेरै प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको छ। कुल बिमाशुल्कमध्ये पनि ७ अर्ब ३७ करोड २४ लाख रुपैयाँँ प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको छ। यसबाहेक २८ अर्ब १ करोड ११ लाख नवीकरणबाट आर्जन गरेको हो।
अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा अब्बल सावित भएको छ। दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एनएलआईसी) छ। यसले १८ अर्ब २२ करोड रुपैयाँँ बिमा शुल्क संकलन गरेको छ। दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स छ। यसले १४ अर्ब ३३ करोड ९६ लाख बराबरको व्यवसाय गरेको छ। यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले ८ अर्ब ४७ करोड, युनियन लाइफले ७ अर्ब ९२ करोड, एसियन लाइफले ६ अर्ब ८७ करोड, सिटिजन लाइफले ५ अर्ब ४३ करोड, मेट लाइफले ५ अर्ब २३ करोड आर्जन गरेका छन्। सूर्या लाइफले ४ अर्ब ९९ करोड र प्राइम लाइफले ४ अर्ब ६० करोड रुपैयाँँ बिमा शुल्क आर्जन गरेका छन्। यसबाहेकका गुराँस, आईएमई लाइफ, ज्योति लाइफ, सन नेपाल, रिलायन्स, रिलायवल, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आवमा ४ लाखभन्दा तल बिमाबापत रकम संकलन गरेका छन्। बिमा व्यवसायमा अघिल्लो वर्ष कोभिडले असर पारे पनि गत आवमा भने सुधार गर्न सफल भएको युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण बताउँछन्।
‘बिमा व्यवसायको प्रगति उल्लेखनीय छ। कोभिडको प्रभावले व्यवसाय वृद्धि गर्न गाह्रो भयो। बैंकबाट कर्जा नपाएपछि ठूलो बिमा गर्न समस्या परेको थियो,’ उनले भने, ‘अहिले युनियनले ३० प्रतिशत वृद्धि गर्न सफल भएको छ।’ यद्यपि पछिल्लो समय आफूहरू मर्जर प्रक्रिया र अहिले डीडीए (ड्यु डेलिजेन्स अडिट) मा लागेको उनले बताए। सबै प्रक्रिया सकेर एकीकृत कारोबार थालेपछि व्यवसाय आक्रामक रूपमा लैजाने योजना उनको छ। बिमा समितिले चुक्ता पुँजी बढाउन दबाब दिएपछि नौ वटा बिमा कम्पनी एकआपसमा गाभिने प्रक्रियामा छन्। युनियन, गुराँस र प्राइम अहिले डीडीए प्रक्रियामा छन्। यसैगरी, सूर्या लाइफ र ज्योति, सानिमा लाइफ र रिलायन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरको प्रक्रियामा छन्। बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो। चैत्रसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब बनाउन निर्देशन दिइसकेको छ। सोहीअनुसारको चुक्ता पुँजी बढाउन बिमा कम्पनी मर्जरमा जुटेका हुन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar