काठमाडौं – चौधरी ग्रुपद्धारा उत्पादित् वाइवाइ चाउचाउले पछिल्लो समय सर्वसाधारण उपभोक्तामाथी खुल्लेआम ठगी गर्दै आएको खुलाशा भएको छ ।
वाइवाइ चाउचाउले पछिल्लो दुई महिनामा मात्र दुई पटक मूल्य बढाएर सर्वसाधारण उपभोक्तामाथी खुल्लेआम ठगी गरेको उपभोक्ताको गुनाशो छ । पछिल्लो समय वाइवाइले मूल्य मात्रै बढाएको छैन, चाउचाउको तौल समेत घटाएर बजारमा पठाउने गरेको छ । वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको र एकै पटक १० ग्राम तौल घटाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
सार्वजनिक रुपमा भने वाइवाइले मूल्य बढाएको जानकारी दिएको छैन । तर, प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएकाले धेरै ग्राहकले आश्चर्य प्रकट गरेका छन् । ‘बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ थियो,’ खुद्रा व्यापार संघका एक सदस्यले बताए । ‘अहिले उक्त चाउचाउको मूल्य २३ रुपैयाँ पुगेको छ भने तौल कहिले ६५ ग्राममा झरेको छ ।’
त्यस्तै ‘वाइवाइ’ले प्रती प्याकेटमा तौल ६० ग्राम मात्र तोकेको छ । स्ट्यान्डर्ड नाप र तौल नियमावली २०७६ चाउचाउको प्याकेजिङ ७५ ग्रामबाट घटाउने हो भने ६० ग्राम कायम गर्नुपर्छ । तर, वाइवाइले चतुरतापूर्वक ५ ग्रामलाई ‘फ्रि’ ट्याग हालेको छ । अर्थात् अब वाइवाइले सित्तैमा दिइरहेको ५ ग्राम पनि जुनसुकै बेला घट्न सक्नेछ ।
वाइवाइले २० जेठपछि वाइवाइ चिकेन र भेजको मूल्य क्रमशः २० बाट २२ र १५ बाट २० रुपैयाँ पुर्याएको थियो । तर, साउन लागेपछि चिकेन स्वादको मूल्य पुनः २२ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्याएको हो । प्याकेटमा बढेको मूल्यसँगै वाइवाइले कार्टुनको पनि मूल्य बढाएको छ । खुद्रा व्यापार संघकाअनुसार यसअघि एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ थियो । अहिले यस्तो चाउचाउको मूल्य प्रति कार्टुनको ५९५ रुपैयाँ पुर्याएको छ । अहिले वाइवाइले चिकेन पिज्जा र क्विक्सलाई २० रुपैयाँ र वाइवाइ जम्बोलाई २५ रुपैयाँ प्रतिगोटामा विक्री गरिरहेको छ ।
चौधरी ग्रुपका प्रवक्ता तथा महाप्रबन्धक मधुसुदन पौडेलले मूल्य बढेको र तौल घटेको विषयमा जानकारी नभएको बताएका छन् । उनले आफु एक हप्तादेखि बिदामा मुलुकबाहिर रहेको र यसबारे अनभिज्ञ रहेको उनले बताए । यसवारे मलाई जानकारी छैन फर्किएपछि बुझ्ने प्रयास गर्छु,’ पौडेलले भने ।
उता वाणिज्य विभागले पनि कुनै कम्पनीले मूल्य बढाएको र तौल घटाएको विषयमा जानकारी नभएको बताएका छन् । विभागका महानिर्देशक लिलाप्रसाद शर्माका अनुसार बिस्कुट उद्योगीले भने महँगीअनुसार मूल्य बढाउन नपाए तौल घटाउने घुर्की लगाएका थिए । त्यसबाहेक अन्य कुनै सूचना विभागमा नभएको शर्माले बताए ।
मूल्य बढाउने र तौल घटाउनेबारे अनुमति लिनुपर्ने र यसबारे जानकारी दिनुपर्ने व्यवस्था नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागहरुले जनाएका छन् । प्याकेटमा लेखिएको मूल्य र तौल फरक परेमा भने कारवाही हुन सक्ने विभागीय अधिकारीहरुको भनाइ छ ।
‘वाइवाइले नै मूल्य बढाएर तौल घटायो भनेपछि अब बजारमा यो ट्रेन्ड नै मौलाउँछ,’ नापतौल विभागका एक अधिकारी भन्छन्,’चुनाव लागेको छ, दलहरुलाई दिने चन्दा जोहो गर्ने सजिलो बाटो यही हो ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar