काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपामा आफूविरुद्ध उभिएका पाँच जना नेतामाथि देशद्रोही भएको आरोप लगाएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा बोल्दै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई जनविरोधी र देशद्रोहीको आरोप लगाएका हुन् । उनले देशद्रोहीको गम्भीर आरोप लगाएकामध्ये दाहाल, नेपाल र खनाल पूर्वप्रधानमन्त्री हुन् भने गौतम र श्रेष्ठ पूर्वउपप्रधानमन्त्री हुन् । उनीहरूले तात्कालीन नेकपाको सचिवालय सदस्य पनि थिए ।
उक्त कार्यक्रममा ओलीले हाल सत्तारूढ गठबन्धनबाहिर रहेका वामपन्थी दललाई एकतामा आउन आग्रह पनि गरे । अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको कम्युनिस्ट पार्टीहरूका लागि पनि एकताको ढोका खुला रहेको बताए । तर, उनले सत्ता गठबन्धनमा आबद्ध वामपन्थी दलले भने आत्मालोचना गरेर आउनुपर्ने सर्त अगाडि सारे । आत्मालोचना गरेर आएमा एकताको विषयमा सोच्न सकिने सम्भावना रहेको उनले बताए । ‘गठबन्धन छोडेर आए, गठबन्धन बेठीक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला,’ ओलीले भने ।
एमाले अध्यक्ष ओलीले सरकारमा रहेका पार्टीका र विगतमा नेकपा हुँदा सचिवालयमा रहेका नेताहरू मिलेर ‘समाजवादी केन्द्र’ गठन गर्न भएको भेटको प्रसंग कोट्याउँदै पाँच जना नेताहरूलाई देशद्रोहीको संज्ञा दिएका हुन् । ‘गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन्, जो नेकपामा हुँदा दुःख दिनेहरू थिए नि । पाँच भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् । अनि के पो बनाउने भने, समाजवादी केन्द्र बनाउने । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ?,’ उनले भने, ‘यी जनविरोधी, देशद्रोही, यी एमसिसी, यी एसपिपी, यिनीहरू समाजवादी ? यिनीहरू न समाजवादी हुन्, न केही हुन् ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar