काठमाडौं – गएको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर चुनावमा होमिएका सबै दलले गठबन्धनप्रति एकले अर्कालाई गतिलो विश्वास गर्न सकेनन् । गठबन्धन उनीहरूको बाध्यता भए पनि त्यसलाई व्यवहारमा उतार्न भने कठिन हुँदै गएको छ ।
सबै पार्टीभित्र आकांक्षीहरूको भिड लाग्नु र तालमेल गर्ने कुरा एकआपसमा बाझिनेजस्ता यथार्थ बनेका छन् । यसै कारण पछिल्लो समय जटिल बन्दै छ, गठबन्धन । गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि त्यसप्रति चित्त बुझाएको पाइँदैन । स्थानीय तहमा गठबन्धनकै कारण पहिलो बन्न सकेको कांग्रेसले अरू दलले गठबन्धन राम्ररी लागू नगरेको गुनासो गर्न पुग्यो । परिणामपछि थाहा भयो, गठबन्धन नगरेको भए स्थानीय तह चुनावमा नेपाली कांग्रेस पहिलो हुने थिएन ।
त्यै पनि कांग्रेसले गठबन्धनका दलहरू पूर्णरूपमा इमानदार नबनेको आरोप लगायो । गठबन्धनमा सहभागी दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र चुनावी परिणामबाट भित्रभित्रै खुसी भए पनि उसले पनि बाहिर भने इमानदारीपूर्वक कार्यान्वयन नभएको गुनासो गर्यो । माओवादी केन्द्रले भने कांग्रेसलाई भन्दा गठबन्धनको अर्को ठूलो दल एकीकृत समाजवादीप्रति बढी नै गुनासो गर्यो । एकीकृत समाजवादीकोे त पार्टीभित्रसमेत गठबन्धनमा कांग्रेस र माओवादीले ठूलो धोका दिएको भन्दै नेतृत्वप्रति तीव्र आलोचना नै भयो । सो पार्टीका शीर्ष नेताहरूले त सार्वजनिकरूपमै कांग्रेस र माओवादीको आलोचना गरे ।
सबै गठबन्धनका पार्टीले एकअर्काप्रति आलोचना र आक्रोश पोखेको भए पनि आन्तरिक रूपमा उनीहरूको एउटै निष्कर्ष छ, आउँदो संघ तथा प्रदेशको चुनावमा यसलाई कायम गर्नुपर्छ । तर, गठबन्धनका दलभित्र समेत एक्लै चुनावमा जान नेतृत्वलाई दबाब परिरहेको छ । तर, शीर्ष नेतृत्व भने आफ्नै सिटसमेत अन्यौलमा परेका कारण जसरी पनि गठबन्धनको मानसिकतामा रहेको छ । गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले अन्य दललाई सम्मानजनक स्थान नदिने संकेत गरेपछि त्यसमा सहभागी बामदलहरू विकल्पको खोजीमा लागेका छन् । यसको नेतृत्व माओवादीले गरे पनि उसको खेल अर्को रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । अन्य दललाई कांग्रेस बाहेकको गठबन्धनमा रहेर आफ्नो तेस्रो स्थान सुरक्षित राख्ने दाउमा माओवादी रहेको सूत्र बताउँछ ।
अहिलेको राजनीतिक अवस्था कायम रहे नेपालमा फेरि हङपार्लियमेन्ट बन्ने सम्भावना छ । यस्तो अवस्थामा सबैभन्दा बढी राजनीतिक फाइदा लिने पार्टी भनेको नै माओवादी केन्द्र हुने अनुमान गरिएको छ । नेपाली कांग्रेस र एमाले मुख्य पार्टी भएपछि उनीहरू मिलेर चुनाव लड्ने र सरकार बनाउने कुरा कल्पनाभन्दा बाहिरको विषय हो । त्यसैले एमालेतिर वा कांग्रेसतिर कता हुन्छ टाँसिएर सरकार बनाउने ‘खेतीपातीमा’ माओवादी केन्द्र लागेको बताइन्छ । नेपाली कांग्रेसले पनि गठबन्धन दलको नियती राम्ररी नै बुझेको छ । गठबन्धनमा सहभागी दललाई छोड्दामा दलको अवस्था त कमजोर हुन्छ नै उनीहरू पनि विलखबन्दमा पर्नेछन् ।
क्षेत्रगत आधारमा १ सय ६५ सिटमध्ये सय सिट कांग्रेस आफैँले लिन सो पार्टीभित्र र बाहिर दबाब छ । कांग्रेसका नेताहरूले पनि सार्वजनिक रूपमा नै यो विषयमा विचार सार्वजनिक गरेका छन् । यदि कांग्रेसले सय सिट आफूलाई राख्ने हो भने बाँकी ६५ सिट माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाबीच भाग लगाउनुपर्ने हुन्छ । जनमोर्चालाई दुई सिट छोड्ने हो भने ६३ सिटमा दुई पार्टीले चित्त बुझाउनुपर्ने हुन्छ । यो सबै कारण बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कहिले नयाँ गठबन्धन र कहिले समाजवादी गठबन्धनको कुरा गरेर कांग्रेससँग थप सिटका लागि बार्गेनिङ गरेको बताइएको छ ।
गठबन्धनको बाध्यता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र भरखरै जसपा छाडेका डा.बाबुराम भट्टराईबाहेक अधिकांश नेताहरूले चुनावैपिच्छे निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । यसकारण कुन नेताका क्षेत्रका मतदाताको मनोविज्ञान कस्तो छ भनेर बुझ्न कठिन छ । विगतको निर्वाचनमा अधिकांश शीर्ष नेताको जितान्तर एकदम कम छ । यसैले पनि गठबन्धन नेताहरूको समेत अनिवार्य बाध्यता बनेको छ । नेपालमा बहुदल आएपछि एकपटक पनि डडेल्धुराबाट चुनाव नहारेका कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाका लागि चुनौती थपिँदै गएको छ ।
सुुरुमा आफ्ना प्रतिप्रस्र्धीभन्दा ५० हजार मत बढी ल्याएर जित्ने उनका लागि पछिल्लो निर्वाचनमा यो खुम्चिएर ६ हजार अन्तरमा झरेको छ । प्रतिनिधिसभा ०७४ सालको निर्वाचनमा देउवाले २८ हजार ४४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्टले २१ हजार मत ल्याएका थिए । यो मतान्तर उनीमाथि बढ्दै गएको चुनौती हो । झापा क्षेत्र नम्बर ५ बाट ५८ हजार १ सय ३९ मत ल्याएका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पनि चुनौती थपिँदै गएको छ भन्ने कुरा गएको स्थानीय चुनावले प्रमाणित गरेको छ । ०७४ सालमा राप्रपासँग गठबन्धन गरेका ओलीको आफ्नै गृहनगर दमक नगरपालिकासमेत यसपटक राप्रपाले उछिट्याएको छ । ०७४ सालको निर्वाचनमा ओलीका प्रतिस्पर्धी कांग्रेसका खगराज अधिकारीले २८ हजार २ सय ९ मत प्राप्त गरेका थिए ।
पटकपटक निर्वाचन क्षेत्र फेरिरहने नेतामध्ये एक हुन्, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । उनी ०७० सालको संविधानसभाको निर्वाचनमा रौतहट र काठमाडौं दुबै स्थानबाट विजयी भएका थिए । उनले त्यो बेला काठमाडौं २ छोडेका थिए । तर, उनको राम्रो पकड मानिएको काठमाडाैं २ मा भएको उपचुनावमा एमालेले करिव सात हजार मतान्तरले चुनाव हारेको थियो । ०७४ सालमा पनि बाम गठबन्धनका उम्मेदवार बनेका नेपालले काठमाडौं २ बाट २७ हजार ३ सय ६६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी रहेका कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । सो क्षेत्रमा विवेकशील साझा पार्टीले समेत ७ हजार ४ सय ३६ मत प्राप्त गरेको थियो । तर, यसपटक नेपालले कुन क्षेत्र रोज्ने हुन अहिलेसम्म अन्यौल छ । गएको स्थानीय निर्वाचनमा काठमाडौं २ भन्दा रौतहटको परिणाम राम्रो रहेकोले उनले रौतहट रोज्ने अनुमान छ ।
जसपाबाट भरखरै अलग भएका डा.बाबुुराम भट्टराईको चुनाव क्षेत्र गोरखा पनि उनका लागि त्यति सहज देखिँदैन । ०७४ सालको निर्वाचनमा भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका थिए । आउँदो निर्वाचनमा सबैभन्दा असुरक्षित क्षेत्र नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भएको छ । ०७४ सालमा एमालेसहित वाम गठबन्धनका साझा उम्मेदवार रहेका उनले ४८ हजार ७ सय २६ मत ल्याउँदा राप्रपाका बिक्रम पाण्डेले ३८ हजार ९ सय ५३ मत ल्याएका थिए । निर्वाचन फेर्ने अर्का नेता हुन जसपाका उपेन्द्र यादव । सधैँ सुनसरी – ५ बाट निर्वाचन लड्ने उनी ०७४ सालमा सप्तरी – २ पुगेका थिए । उनले सो क्षेत्रबाट २१ हजार ६ सय मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादीका उमेश यादवले ११ हजार ५ सय मत प्राप्त गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar