काठमाडौं – कृषि विकास बैंकका लागि आवश्यक सुरक्षाकर्मी आपूर्ति गर्ने सेक्युरिटी कम्पनी छनौट प्रक्रियामा मिलेमतो आशंका भएको छ ।
सार्वजनिक खरिद प्रक्रियामै राखिएका कतिपय प्रावधानमा सोझै केही सुरक्षा कम्पनीलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेर प्रतिस्पर्धा गराएको पाइएको हो । कृषि विकास बैंकले केही समयअघि बैंकका लागि आवश्यक सुरक्षाकर्मी आपूर्तिका लागि सेक्युरिटी कम्पनी छनौटमा सार्वजनिक खरिद ऐनभन्दा फरक प्रक्रिया अपनाइएको छ ।
कृषि विकास बैंकले राखेका प्रावधान :
– सुरक्षाकर्मीलाई न्यूनतम २१ हजार ३ सय १३ रुपैयाँ ८२ पैसाँ मासिक तलब ।
– पछिल्लो तीन वर्षमा सबैभन्दा बढी सुरक्षाकर्मी आपूर्ति गरेको कम्पनी हुनुपर्ने ।
यदि कुनै एकभन्दा बढी कम्पनीले तीन वर्षयता बराबर संख्यामा सुरक्षाकर्मी आपूर्ति गरेको अवस्थामा पछिल्लो आर्थिक वर्ष २ हजार ७७/७८ मा कम्पनीले गरेको आर्थिक कारोबारलाई आधार मान्ने मापदण्ड राखियो ।
बैंकको मापदण्ड हेर्दा कुनै एक सेक्युरिटी कम्पनीका लागि फाइदा हुने गरी मिलोमतो देखिन्छ । बैंकले गरेको खरिद प्रक्रियामा १५ वटा सुरक्षा कम्पनीले आवेदन दिएका थिए । जसमा गरुड सेक्युरिटी प्रा.लि, कान्तिपुर र नेपाल एक्स – टु सेक्युरिटी सर्विस प्रा.लिलाई छनौट गरिएको छ । छ वटा प्याकेजमा बोलपत्र आव्हान गरिएकोमा तीन वटा प्याकेज गरुडले पाएको छ भने दुई वटा प्याकेज कान्तिपुर र अर्कोमा नेपाल एक्स टु सेक्युरिटी कम्पनी छनौट भएको कृषि विकास बैंकले जनाएको छ ।
बढीमा तीन वटा र न्यूनतम दुई वटा प्याकेजका लागि बोलपत्र आव्हान गरिएको थियो । जसमा गरुडले तीन वटै प्याकेज प्राप्त गर्न सफल भएको छ । नेपालमा सबैभन्दा बढी वार्षिक कारोबार गर्ने कम्पनीमध्ये गरुड पहिलो नम्बरमै पर्ने भएकाले स्वतः सुरक्षकर्मी आपूर्तिका लागि छनौट भएको छ भने कान्तिपुर र नेपाल एक्स टु पनि बढी सुरक्षाकर्मी आपूर्ति गर्ने र वार्षिक कारोबार गर्ने शीर्ष कम्पनीमध्ये पर्छन् । बैंकले गरुड, कान्तिपुर र नेपाल एक्स टु कम्पनीलाई नै छनौट गर्ने गरी मापदण्ड तयार पारेर बोलपत्र निकालेको देखिन्छ । तर बैंक गल्ती स्वीकार्न तयार छैन ।
कम्पनी छनौट गर्नुअघि प्रि–बिड बैंठकमा समेत सबैभन्दा बढी कारोबार गर्ने कम्पनी छनौट गर्ने प्रावधानलाई लिएर प्रश्न उठेको थियो । तर उक्त प्रश्नको समेत सम्बोधन नगरी प्रक्रिया अघि बढाएपछि सार्वजनिक खरिद कार्यालयमा समेत गुनासो परेको थियो ।
सार्वजनिक खरिद कार्यालयले बैंकलाई प्रचलित कानूनमा रहेर खरिद प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो । तर बैंकले पूर्ववत् निर्णयमा कुनै संशोधन नगरी सेक्युरिटी कम्पनी छनौट गरेको हो । गत वैशाख २९ गते दुई वर्षका लागि आवश्यक सुरक्षाकर्मीको सेवा खरिदका लागि बोलपत्र आव्हान गरेको थियो ।
अहिले सबै प्रक्रिया पूरा गरेर बोलपत्र स्वीकृतिका लागि एक हप्ताको समय दिएर आशयपत्रको सूचना प्रकाशित गरेको छ । अब असार मसान्तसम्ममा छनौट भएका कम्पनीसँग सम्झौता हुने बैंकले जानकारी दिएको छ ।
बैंकले दुई वर्षमा १ हजार ५ सुरक्षाकर्मी खटाउने कम्पनीलाई तलबवापत मासिक ५५ करोड रुपैयाँ प्रदान गर्ने छ । करोडौं रुपैयाँको बोलपत्र भएको र छनौट प्रक्रियामा राखिएका प्रावधानका कारण ले आर्थिक लेनदेनका आधारमा कम्पनी छनौट गरिएको आशंका गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar