काठमाडौं – उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताए। थप स्थानका नमुना परीक्षण भए पनि रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए। डा. दासका अनुसार आइतबार लिइएका आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको थियो। ती नमुना डिल्लीबजार, बागबजार र सानेपाका थिए। रिपोर्टअनुसार सबैजसो नमुनामा हैजा र झाडापखाला फैलाउने खालका जीवाणु भेटिएका थिए। नैकाप, थानकोट र बल्खुको नमुना परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ। ‘काठमाडौं उपत्यकाका १५ प्रतिशत जारको पानी प्रदूषित भएको पाइएको छ,’ प्रमुख दासले भने, ‘बुढानिलकण्ठ नगरपालिकाले संकलन गरेको पानीका नमुनामध्ये ७२ प्रतिशतमा प्रदूषण देखिएको छ।’
राजधानीमा परीक्षण गरिएका नमुनामध्ये धेरैमा इकोलाई भेटिएकाले पानीका स्रोत नै दूषित भएको बताइएको छ। त्यसकारण उपत्यकामा हैजा फैलिने प्रबल सम्भावना रहेको डा. दासले बताए। आइतबारसम्म १२ जनामा हैजा प्रमाणित भइसकेको छ। तीमध्ये आठजनाको उपचार भइसकेको छ भने चारजना उपचाररत छन्। वर्षाका कारण सतहको दूषित पानी जमिनमुनिको स्रोतमा पुग्ने हुनाले इनार तथा बोरिङको पानीसमेत असुरक्षित रहेको बताइएको छ। उपत्यकाका कतिपय स्थानमा ढलका पुराना पाइप फुटेर दिसा मिसिएर पनि जमिनमुनिको पानी प्रदूषित हुने गरेको पाइएको छ। पानी दूषित हुने क्रम आगामी भदौसम्म जारी रहने भएकाले उपत्यकावासीलाई सचेतता अपनाउन र शुद्धीकरणको उपाय अपनाएर मात्र पानी पिउन डा. दासले सुझाव दिए।
गुणस्तरहीन पानी उत्पादनको सम्भावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खाद्य तथा गुण नियन्त्रण विभागलगायतले उद्योग तथा कम्पनीको अनुगमन र परीक्षणलाई तीव्रता दिइरहेका छन्। उपत्यकाका खानेपानी लिमिटेडले पानीको ट्यांकरमा क्लोरिन राखेर मात्र वितरण गर्ने प्रबन्ध मिलाएको छ। लिमिटेडले घरघरमा वितरण गर्ने पानीको स्रोतमा क्लोरिन राख्ने व्यवस्था गरेको डा. दासले जानकारी दिए। कतिपयका घर परिसरकै इनार तथा बोरिङको पानीसमेत दूषित बनेकाले निकालिएको पानी उपभोक्ता आफैंले क्लोरिन राखेर प्रयोग गर्न र उमालेर मात्र पिउन उनले सुझाव दिए। ‘तीन महिनाका लागि सबैले उमालेकै पानी पिउनु उचित देखिन्छ, उपत्यकाका सबैजसो ठाउँको पानी असुरक्षित देखिन्छ,’ उनले भने। नागरिक दैनिकबाट ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar